site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

फरार अभियुक्त लक्ष्मी कोइरी प्रतिनिधि सभामा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पनि पक्रन नसक्नु राज्यकै चरम लाचारी हो । यस्तै अवस्था रहिरहने हो भने नेपाल छिटै नै ‘असफल राष्ट्र’ बन्न पुग्नेछ । 

घाइते प्रहरीलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अभियुक्तलाई नेकपा (एमाले)ले प्रतिनिधि सभामा उमेदवार बनायो ।  विडम्बना, महोत्तरी- १ का जनताले तिनै अभियुक्तलाई मत दिएर जिताए । 

चुनाव जित्दैमा उच्च अदालतको आदेश निरस्त हुने त होइन ।  तर, सत्तारुढ दलका नेता हुनुको लाभ निजले पाए । प्रहरीले देखेको नदेख्यै गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन दियो । मत दिइसकेपछि पनि प्रहरीले समातेन । 

सञ्चार माध्यममा समाचार आएपछि गृहमन्त्रीले प्रहरीलाई निज फरार अभियुक्तलाई पक्रन निर्देशन दिएको प्रचारवाजी पनि गरियो । तर, सत्ताको चरित्र बुझेको नेपाल प्रहरिले अहिलेसम्म पक्रने आँट गरेको छैन । प्रहरीले कर्तव्य पालन नगर्दा राज्यकै साख भने गिरेको छ । 

प्रहरीका अनुसार निज फरार अभियुक्तलाई पक्रनका लागि संसद् सचिवालयमा सहयोगसमेत मागेर पत्राचार गरिएको छ । यस्तै, कुनै पनि बेला कानुनअनुसार पक्राउ गरिने दाबी पनि प्रहरीले गरेको छ । तर, अहिलेसम्मको अभ्यास हेर्दा प्रहरीको भनाइ पत्याउने आधार भने देखिँदैन ।  

संसद् भवनमै आवतजावत गर्ने व्यक्तिलाई चाहेको भए नेपाल प्रहरीले पक्रनै नसक्ने त पक्कै थिएन । साथै, घाइते सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको आरोप लागेको अभियुक्तप्रति प्रहरीको सहानुभूति हुनुपर्ने पनि कुनै कारण छैन । 

एमाले स्वयंले आफ्ना नेतालाई अदालत पठाएर विधिको शासनको सम्मान गर्नुपर्ने थियो । एमालेले सहयोगै नगरे पनि कम्तीमा यसका कुनै नेताले फरार अभियुक्तको संरक्षण गर्नु हुँदैन थियो । एमालेका नेताले संरक्षण गरेको थाहा पाएपछि नेपाल प्रहरीले पनि फरार अभियुक्त पक्रन तदारुकता देखाउनुपर्थ्यो । 

फरार अभियुक्तलाई पक्रने प्रतिबद्धता प्रकट गर्नुको साँटो गृहमन्त्रीले भने  ‘विधि र पद्धति’बाहिर नजाने उत्तर दिएका छन् । उच्च अदालतले थुनामा राखेर पुर्पक्ष गर्ने आदेश दिएको फरार अभियुक्तलाई प्रहरीले नपक्रने कुन ‘विधि र पद्धति’ रहेछ ? विधिको शासनमा त यस्तो नहुनुपर्ने हो ।

राजनीतिक संरक्षणकै कारण फरार अभियुक्त संसद् जाँदाआउँदासमेत पक्राउ नपरेको हो भन्ने बुझ्न कठिन हुँदैन । यस्ता घटनामा राज्यकै छवि बिग्रने मूल कारण पनि यही राजनीतिक संलग्नता हो । राज्यको साख जोगाउन पनि फरार अभियुक्तलाई तत्काल पक्रनुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro