
बुटवल । लुम्बिनी प्रदेशसभामा भोलि हुने सभामुख र उपसभामुख निर्वाचनमा सत्ता गठबन्धनले उमेदवार तयार गरे पनि प्रतिपक्षको तर्फबाट कुनै टुंगो लाग्न सकेको छैन । लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको छ । उनीहरू दुवैले आफ्नो उमेदवाहरु तय गरेका छन् ।
सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई उठाउने निर्णय गरेको माओवादी केन्द्रका ससदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए । उनले भने “सभामुख हामीलाई परेको छ। हामीले तुलाराम घर्तीलाई सभामुख बनाउने निर्णय गरेका छौँ ।”
उपसभामुख पाएको राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उमेदवार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए ।
प्रतिपक्षी कांग्रेसबाट छैन टुंगो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उमेदवारको टुंगो लगाउन सकेको छैन । नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले अन्तिम समयसम्म पनि दलहरुबीच सहमतिको प्रयास भइरहेको बताए । उनले सभामुखमा दाबी रहे पनि उपसभामुख पाए पनि सहमति हुन सक्ने बताए । उनले सहमति नभएमा सभामुख उपसभामुखमा उमेदवारी दिने बताए । उमेदवारको बारेमा टुंगो नलागेको उनले जानकारी दिए ।
कांग्रेसको यो प्रस्तावका विषयमा सत्तारुढ दलले कुनै निर्णय भने गरेका छैनन् । आज छलफलका लागि उनीहरू बैठक बस्ने तयारीमा छन् ।
सत्ता गठबन्धनको स्पष्ट बहुमत
८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत, लोसपाका ३/३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।
प्रदेशसभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् ।