site stats
देश
सप्तरीमा महिलामाथि समाजको ‘दुर्व्यवहार’ : सांसदको फोनपछि बल्ल अनुसन्धान 

सप्तरी । गएको मंसिर १२ गते विवाहपञ्चमीको दिन बिहान ५ बजेदेखि आफ्नो खेतमा पराल बाँध्दै थिइन्, कञ्चनरूप नगरपालिका–३, बरमझिया बस्ने सरितादेवी दास । १६ वर्षीया छोरी मनीषाले पराल बाँध्न उनलाई सघाउँदै थिइन् ।

उनको खेतनजिकै रहेको बाटोबाट जाँदै गरेका एक व्यक्तिले सरितादेवीलाई सोधे– यो बाटो कञ्चनपुर जान्छ ?

ती व्यक्तिसँग कुरा गरिरहेको देखेर मोटरसाइकलमा आएका उनकै टोलका चारजनाले सरितादेवीमाथि खेतमै गालीगलौज गरे । अनैतिक सम्बन्ध भएको आशंकामा कुटपिट समेत गरेको उनी बताउँछिन् । त्यस घटनामा वडा सदस्यलगायत व्यक्तिको संलग्नता रहेको उनको आरोप छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

“कञ्चनरूप नगरपालिका वडा नम्बर–३ कै वडा सदस्य इन्द्रजीत दासको नेतृत्वमा आएका सन्तलाल दास, सकलदेव दास, वीरेन्द्र दासले खेतमै कुटपिट गरेर टाउको मात्रै फुटाएनन्, लुगा पनि च्यातियो,” सरितादेवी भन्छिन् ।

उनका अनुसार घटना भएको भोलिपल्ट (मंसिर १३ गते) वडा सदस्य इन्द्रजीत दास, वीरेन्द्र दास, सन्तलाल दास, डोमनीदेवी दास र धनमन्ती दाससहितको समूह आएर सरितादेवीको घरको ढोका फुटायो । घरबाट निकालेर उनलाई लछारपछार गर्दै कुटपिट गरियो । हातखुट्टा बाँधेर मरणासन्न हुने गरी कुटपिट र कपाल मुण्डन समेत गरिएको उनी बताउँछिन् ।

Global bank

“म घरमा थिएँ, एक्कासि मेरो घरको ढोका फुटाएर मरणासन्न हुने गरी कुटपिट गरेर अर्धनग्न बनाउँदै टोलमा लगी कपाल मुण्डन गरिदिएको भए पनि मलाई बचाइदिने कोही पनि भएन,” सरितादेवी भन्छिन् ।

सरितादेवीका अनुसार कुटपिटपश्चात् वडा सदस्य दास समेतको संलग्नतामा उनलाई अर्धनग्न बनाइएको थियो । पछि उनलाई लुगा लगाउन भनियो । तर, समाजमा बेइज्जत गरिएको भन्दै लुगा लगाउन मानिनन् ।

त्यसपछि सोही समूहका एकजनाले इलाका प्रहरी कार्यालयमा फोन गरेर प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि सरितादेवीले आफ्नोे घरको ढोका फुटाएको, कुटपिटलगायत घटनाबारे बताइन् । प्रहरीलाई घर हेर्न जान आग्रह गरिन् । तर, प्रहरी आफ्नो घर जान नमानेको उनी बताउँछिन् ।

प्रहरीको आग्रहपछि उनले लुगा लगाएकी थिइन् । “टोलबाट प्रहरी फर्केपछि मलाई गाउँमा बस्न नदिएर निकाला गरेपछि अहिले शरणमा बसिरहेको छु,” सरितादेवी भन्छिन्, “त्यो दिन मेरो श्रीमान् श्रवण दास घरमा थिएन, उनी काठमाडौंमा रोजगार गर्छन् । घटना सुनेर घर आएको छ ।”

सरितादेवीले आरोप लगाएका मध्ये वडा सदस्य दास उनले झुटो बोलेको जिकिर गर्छन् । छलफलका लागि समाजका महिला–पुरुष सबै एकै ठाउँमा बसेको बेला सरितादेवी आफैँले लुगा च्यातेको उनको भनाइ छ ।

“म एउटा जनप्रतिनिधि हुँ, कुनै पनि घटनास्थलमा गएर माहोल शान्त बनाउनु मेरो दायित्व हो,” उनले भने, “महिलाले आफैँ लुगा च्यातेपछि प्रहरीलाई खबर गरेर बोलाइएको हो ।”

सरितादेवीको मुण्डन गरिएको बारे आफूलाई जानकारी नभएको उनले बताए । “यो महिलाले समाजमा पटक–पटक यस्ता घटना गर्दै आएको छ । जुनसुकै व्यक्तिमाथि आरोप लगाएर फसाउने उनको पुरानै चलन हो । आफ्नै जेठाजुलाई आरोप लगाएर ६ वर्ष जेल कटाएको छ र कार्यालय सहयोगीमा जागिर गर्दै आएका रामदेव दासको जागिर पनि खाइदिएको छ,” वडा सदस्य दासले भने ।

कञ्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता घटनास्थलमा आफू नपुगेको बताउँछन् । घटना भने भएको उनको जिकिर छ । “कुटपिटको घटना भएको छ,” उनले भने ।

प्रहरी मूकदर्शक
इलाका प्रहरी कार्यालय कञ्चनपुरले चासो नलिएको सरितादेवी बताउँछिन् । त्यसपछि उनले मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटनाबारे ‘ठाडो’ उजुरी दिएकी थिइन् ।

सरितादेवीका अनुसार उक्त निवेदनपछि दुवै पक्षबीच मेलमिलापका लागि प्रयास गरिएको थियो । तर, मिलापत्र भएन । “गाउँमा पनि जनप्रतिनिधिहरूले सबैलाई धम्काएको छ, न्यायका लागि मेरो पक्षमा बोलिदिने कोही छैन । अनि, म कसरी न्याय पाउँछु ?,” उनले प्रश्न गरिन् ।

यसरी बाहिरियो घटना
घटना भएको एक महिना बितिसकेको छ । तर, न्यायका लागि प्रहरी कार्यालयमा धाइरहे पनि सहयोग नपाएको उनी दुःखेसो पोख्छिन् ।

सरितादेवीमाथि दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीले कुनै पनि प्रकारको कानुनी कारबाही अगाडि नबढाएको बारे सप्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त (सीके) राउतले थाहा पाए । उनले घटनाबारे थाहा पाएपछि आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फोनमार्फत जानकारी गराए ।

त्यसपछि सोमबार मुद्दा दर्ता भएर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

सप्तरीका प्रहरी उपरीक्षक अविनाराण काफ्लेले मुद्दा दर्ता गरेर घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताए । “आरोपित व्यक्तिहरू अहिले सम्पर्कमा आउन सकेको छैन, उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरेका छौँ,” काफ्लेले भने ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय