काठमाडौं । अस्थिर छवि बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अडिग तथा जब्बर पहिचानका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच समय–समयमा सहकार्य हुँदै आएको छ । दुई नेताबीच समय–समयमा तिक्कतपूर्ण सम्बन्ध भए पनि सहकार्य पनि हुँदै आएको छ ।
विश्लेषकहरू उनीहरूबीचको सम्बन्ध स्वार्थमा आधारित भएको भन्दै दुवै नेतामा नैतिकता नभएकाले उनीहरुबीचको सहकार्य र तिक्तताको खास अर्थ नभएको बताउँछन् । प्राध्यापक डाक्टर लोकराज बराल देउवा–प्रचण्डबीच स्वार्थबाहेक सम्बन्धको अर्को आधार नभएको भन्दै स्वार्थ पूरा नभएपछि सम्बन्ध टुट्नु स्वभाविक भएको बताउँछन् ।
“प्रचण्ड प्रधानमन्त्री नपाएरै ओलीबाट देउवासँग पुगेका हुन् । अहिले प्रधानमन्त्री नपाएरै देउवाबाट ओलीसम्म पुगे,” प्रा. डा. बरालले बाह्रखरीसँग भने, “देउवाले पनि उनलाई प्रधानमन्त्री बनाउँछु भनेर आस्वासन दिएको जस्तो बुझिन्छ । तर, पार्टी पहिलो बन्यो । देउवाले आफूलाई पार्टीबाट दबाब आयो दोस्रो चरणमा प्रधानमन्त्री बन्देउ भन्दा प्रचण्डले उनको साथ छोडेका हुन् ।” उनले पद र स्वार्थका लागि बनेको सम्बन्ध त्यही स्वार्थबाटै टुट्ने बताए ।
एमाले अध्यक्ष ओलीले सहमति अनुसार पद हस्तान्तरण नगरेपछि ०७३ सालमा प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै देउवाको समर्थनमा आफू प्रधानमन्त्री बनेका थिए । सहमति अनुसार प्रधानमन्त्री पद देउवालाई हस्तान्तरण गरेर इमान्दारिता देखाएका प्रचण्ड आफूले पद हस्तान्तरण गरेको दुई महिनामै एमालेसँग गठबन्धन गर्न पुगेका थिए ।
स्थानीय तह निर्वाचनमा कांग्रेस बलियो रहेको भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेनु दाहाललाई पहिलो मेयर बनाएका प्रचण्ड प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा एमालेसँग सहकार्य गर्न पुगेका थिए । देउवाको सरकारमा गृहमन्त्रालयसहित लिएर सहभागी हुँदाहुँदै गृहमन्त्री जनार्दन शर्मालाई बाम गठबन्धनका योजनाकारका रुपमा प्रस्तुत गर्दै एमालेसँग गठबन्धन गरेका प्रचण्डले ०७५ जेठ ३ मा एमालेसँगै पार्टी एकता गरेका थिए । सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा समेत दिन रोकेर उनले सरकारमा पनि आफैं विपक्षमा पनि आफैं रहने अवस्था सिर्जना गरेका थिए । ०७४ को निर्वाचनमा विना विभागीय बनाइसक्दा समेत माओवादी केन्द्रका मन्त्रीहरू बहाल थिए । त्यसरी सहकार्य तोडेका उनै प्रचण्डको प्रस्तावमा ०७८ असार २८मा देउवा प्रधानमन्त्री बनेका थिए । प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेससँग प्रतिनिधिसभामा ६३ सिट मात्र थियो । तर, प्रचण्ड र माधव नेपालको प्रस्तावमा एमालेकै १४ सांसदको मत लिएर देउवा प्रधानमन्त्री बनेका थिए ।
विश्लेषक डा. विष्णु दाहाल प्रचण्डमा अस्थिर चरित्र र अरुको प्रभावमा पर्ने विशेषता रहेको भन्दै आफूलाई समस्या पर्दा जोसँग पनि गएर टाँसिन सक्ने क्षमता रहेको बताउँछन् । नैतिकता नभएका प्रचण्ड आफ्नो क्षमतामा विश्वास नगर्ने र बाह्य शक्तिहरूबाट प्रभावित हुने नेताका रुपमा पहिचान बनाएको उनको भनाइ छ । शेरबहादुर देउवा भने बाह्य प्रभावमा कम पर्ने, पार्टीकै सुझावलाई पनि लत्याउने हैसियत राख्ने नेता भए पनि नैतिकताको जगमा भने प्रचण्डजस्तै कमजोर रहेको उनको बुझाइ छ ।
“नैतिकताको कसीमा दुवै नेता सागले छोपेर मासु खानेहरू भेजिटेरियन जस्तै हुन् । भेज हुँ भन्दै कसैले चिकेन खालान् कसैले बिफ खालान् । तर, दुवै नेता नैतिकतामा यस्तै कमजोर हुन्,” डा. दाहालले बाह्रखरीसँग भने, “उनीहरू स्वार्थ मिल्यो भने जुनसुकै निर्णय गर्न पछि पर्दैनन् ।”
देउवा–प्रचण्ड सम्बन्धको उतारचढाव पहिले देखिकै हो । ०५१ सालमा देउवा प्रधानमन्त्री भएकै बेला तात्कालीन संयुक्त जनमोर्चाले देउवासामु ४० बुँदे माग राखेको थियो । त्यसलाई संबोधन गरेका भए देशमा दश वर्षे सशस्त्र युद्ध नै हुने थिएन भनेर स्वयं माओवादी नेताहरूले नै भन्ने गरेका छन् । त्यसवेला देउवाको तहबाट संबोधन हुन नसक्ने माग राखे पनि माओवादीले देउवालाई दोष भने दिने गरेको थियो ।
०५८ सालमा माओवादी केन्द्रले उनै देउवा सरकारसँग वार्ता गरेका थियो । तर, वार्ता सफल हुन सकेन । ०५९ सालमा देउवाले माओवादी सशस्त्र युद्ध नियन्त्रण गर्ने भन्दै संकटकाल घोषणा गरे । संकटकाल पछि देउवा सरकारले नै माओवादी नेताहरूको टाउकाको मूल्य तोकेको थियो । देउवा सरकारले प्रचण्डको टाउकोको मूल्य ५० लाख तोकेर जिवित वा मृत बुझाउनेलाई ५० लाख इनाम दिने सरकारले घोषणा गरेको थियो ।
१२ बुँदे सहमति भइसकेपछि पश्चिम नेपालको यात्रामा निस्किएका देउवालाई लक्षित गरेर माओवादीले बम आक्रमणसमेत गरेको थियो । यसरी उतारचढामवमा रहेको देउवा–प्रचण्ड सम्बन्ध ‘अव १५ वर्ष गठबन्धन गर्ने’ भन्ने घोषणासम्म पुगेको थियो ।
तर, ०७९ सालको सुरुआत अर्थात वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनदेखि मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धन गरेर चुनावमा गएका देउवा–प्रचण्ड सम्बन्ध सरकार बनाउने बेलासम्म पानीको फोका झंै फुटेको छ । देउवा प्रचण्डले सम्बन्ध टुटेसँगै एकले अर्कालाई धोका दिएको आरोप लगाइरहेका छन् ।
विश्लेषक दाहालका अनुसार देउवा भने प्रचण्डसँगको सम्बन्ध व्यवस्थापन झन्झटिलो र दिकदारीपूर्ण भएकाले अन्यसँग सहकार्य गर्ने तयारीमै थिए । “देउवाले एमाले अध्यक्ष ओलीसँग वार्ता पनि गरेका थिए । एउटा तहको समझदारी निर्माण पनि भएको थियो । त्यसैले प्रचण्ड या त ०७६ (३)को सरकारमा नाकका चालले आउँछन् नआए जाउन् भन्ने मनस्थितिमा थिए,” डा. दाहालले भने, “ओली पनि कांग्रेससँगै सहकार्यको मनस्थितिमा पुगेका हुन् । तर, ओलीले कांग्रेससँग भन्दा माओवादीसँगको सहकार्यमा धेरै पद आउने देखेर समर्थन गरे । र, सत्ताका खेलाडी देउवा असफल भएका हुन् ।”
उनी ओलीले देउवाभन्दा राम्रोसँग प्रचण्डलाई बुझेको भन्दै उनीहरूको गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बुझाइमा छन् । प्रचण्डले विश्वासको मत लिन हतार गर्नुको कारण पनि त्यही भएको उनको भनाइ छ ।
“प्रधानमन्त्रीका लागि १६९ सांसदको समर्थन छ । प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिन हतार नगर्नु पर्ने हो । तर, देउवाले विश्वासको मत लिएकै जस्तो प्रचण्ड हतारिनुमा उनी ढुक्क हुन सकेका छैनन् भन्ने देखिन्छ,” डा. दाहालले भने, “उनको चिन्ता गरेजस्तो अवस्था जहिले पनि आउन सक्छ । त्यस्तो अवस्थामा या त देश मध्यावधि चुनावमा जान्छ अथवा कांग्रेस र एमाले गठबन्धन चुनावसम्म जान्छ ।”