
काठमाडौं । सार्वजनिक रूपमा एकअर्काप्रति 'विष वमन' गरेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एकाएक सहमति बन्यो । पाँच दलीय गठबन्धन तोडेर नयाँ समीकरणमार्फत प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री चुनिए ।
गएको आइतबार केही घण्टाको अवधिमै नेपालको राजनीति नयाँ मोड लियो । दिउँसोसम्म बालुवाटारमा प्रधानमन्त्रीमा दाबी गरिरहेका प्रचण्ड शेरबहादुर देउवासँग कुरा नमिलेपछि बालकोट मात्र पुगेनन् ओलीसँग सहमति गरेर प्रधानमन्त्रीमा नियुक्त नै भए । अर्थात् '१५ वर्षसम्म कायम रहने' भनिएको पाँच दलीय गठबन्धन भत्कियो । नयाँ गठबन्धन बन्यो । ओली–प्रचण्ड फेरि एक ठाउँमा आए ।
अध्यक्ष ओलीले आधा–आधा कार्यकाल प्रधानमन्त्री बनाउने सहमति तोडेको भन्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा झगडाको बिउ नै रोपियो । त्यही विवादले अन्ततः नेकपा भत्कियो । नेकपामात्रै नभई एमाले नै विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म भयो ।
एमाले केन्द्रसहित प्रदेशमा प्रतिपक्षमा पुग्यो । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बने ।
अहिले देउवाले प्रधानमन्त्री आफूलाई छाड्ने सहमति कार्यान्वयन नगरेको भन्दै प्रचण्डले पाँच दलीय गठबन्धन छाडे । सत्ता राजनीतिले फेरि एकपटक एमाले र माओवादीलाई एउटै गठबन्धनमा पुर्याएको छ ।
प्रचण्ड बालुवाटारबाट ओली निवास बालकोट जाँदा एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने अलमलमा नै परे । आफूलाई प्रचण्डले खबर नै नगरेको भन्दै नेपालले चित्त दुखाएका छन् ।
प्रधानमन्त्री बन्दा खबर नगरेका प्रचण्डले आज बिहानै नेपाललाई भेटे । प्रचण्डले नेपाललाई सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । त्यसमा नेपाल सकारात्मक छन् ।
“प्रचण्ड कमरेडले प्रधानमन्त्री बन्नका लागि बालकोट जाँदा खबर गर्नुभएन । त्यसमा हाम्रो चित्त दुखाइ रह्यो,” प्रचण्ड– माधव भेटबारे एकीकृत समाजवादीका नेता मेटमणि चौधरी भन्छन्, “उहाँले पनि त्यो दिनको परिस्थितिले खबर गर्न सकिनँ भन्नुभयो । एक खालको संवाद सुरु भएको छ । यसले सकारात्मक सन्देश दिन्छ ।”
एकीकृत समाजवादीलाई एमालेमा नै एकता गराउने प्रयाससमेत सुरु भएको नेताहरूले बताएका छन् । एमाले अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराउने प्रयाससमेत भइहेको छ ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङ जनताले दलहरूलाई मिल्नुपर्ने सन्देश चुनावमार्फत दिएको बताउँछन् । जनताको मतको सन्देश बुझेर एकीकृत समाजवादीका नेताहरू एमालेमा नै फर्किनुपर्ने उनको मत छ ।
“उहाँहरू एमालेबाट २० प्रतिशत लिएर जानुभएको हो । अहिले जनताले निर्णय गर्दा ३ प्रतिशत मत पनि पुगेन । राष्ट्रिय पार्टी बन्नुभएन । त्यसको अर्थ के हो भने जनताले तिमीहरू फर्क भनेको हो ,” नेम्वाङले भने, “विभाजनको औचित्य भएन । राजनीतिक सन्देश बुझ्नुपर्छ र उहाँहरू घर फर्किनुपर्छ । हामीले पनि उहाँहरूलाई मिलाएर अघि बढनुपर्छ । त्यसका लागि छलफल, पहल भइरहेको छ ।”
आजै दिउँसो एमालेका नेता महेश बस्नेत माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सरकारमा सहभागी गराउने र एमालेमा नै एकीकरण गर्ने अभियान सुरु भएको बस्नेत बताउँछन् ।
“सबै वाम पार्टी एकैठाउँ हुनुपर्छ भनेर अभियान चलाइएको हो । आज मैले माधव नेपालसँग पनि कुराकानी गरेँ । पहिलेभन्दा केही सकारात्मक हुनुहुन्छ । केपी ओलीसँगको सम्बन्ध पनि पहिलाजस्तो आक्रोशपूर्ण देखिएन । तिक्तता कम भएको पाएँ,” बस्नेतले भने, “बरु उहाँको गुनासो ओलीसँग भन्दा बढी प्रचण्डसँग थियो । त्यो पनि आज भेट भएपछि कम हुनुपर्छ । सरकारमा आउने कुरा र एमालेसँको एकता सकारात्मक ढंगले नै अघि बढ्छ ।”
ओली र नेपालको छलफलको वातावरण बनिरहेको भन्दै सरकारमा जाने कुरामा 'पर्ख र हेर'को नीतिमा रहेको चौधरी बताउँछन् ।
“हामी पर्ख र हेरको नीतिमा छौँ । हामी भेटघाटका लागि तयार नै छौँ । छिट्टै भेटघाटको सम्भावाना छ,” उनले भने, “भेटघाटले छलफल सुरु गरेको छ । देश अस्थिर हुन्छ । राजनीतिक दलहरूले अस्थिरताको अन्त्यको सन्देश दिनुपर्छ ।”
प्राध्यापक तथा राजनीतिक विश्लेषक राजेन्द्र चापागाईं एमाले र एकीकृत समाजवादीको राजनीतिक बाटो एउटै भएकाले मिल्ने सम्भावना देख्छन् । सैद्धान्तिक र वैचारिक दृष्टिकोणले भन्दा पनि व्यक्तिगत 'इगो'का कारण विभाजन भएकाले एकता गर्नु नै राम्रो हुने उनको तर्क छ ।
“एमाले र एकीकृत समाजवादीको फुट भनेको व्यतिगत इगोका कारण भएको फुट हो । कुनै सैद्धान्तिक र वैचारिक दृष्टिकोणले भएको होइन,” उनी भन्छन्, “पद व्यवस्थापन नमिलेर भएको हो । साना कुरामा नमिलेर आत्मकेन्द्रित राजनीतिमा केन्द्रित भएकाले हो । यिनीहरू दुवैको बाटो र गन्तव्य एकै हो ।”
इतिहासमा पनि कम्युनिस्ट पार्टीहरूको फुट–जुट भइरहेको भन्दै उनी एकताका लागि समय नलाग्ने बताउँछन् । चापागाईंको बुझाइमा तत्कालीन नेकपा नै ब्युँताउने प्रयास भइरहेको छ ।
“पहिलेको नेकपा नै सिर्जना गर्न खोजको जस्तो त देखिन्छ । कम्युनिस्टहरू जुट्न र फुट्न बेर लाग्दैन । इतिहासमा धेरैपटक फुटेका र जुटेका छन् । राजनीतिमा स्थायी शत्रु र र स्थायी मित्र पनि हुँदैन भनिन्छ । सजातीयहरू मिल्न सक्छन्,” उनले बाह्रखरीसँग भने, “यिनीहरूको पुग्ने गन्तव्य एउटै हो । एमाले र माओवादीको बाटो फरक होला पुग्ने गन्तव्य एउटै हो । एमाले र एकीकृत समाजवादीको फरक छैन ।”
नीति कार्यक्रम फरक नभएका तर पदका लागि मात्रै विभाजन भएकाहरू एक हुनु राम्रो हुने चापागाइ बताउँछन ।
अर्का राजनीतिक विश्लेषक नारायण ढकाल पनि एमाले र एकीकृत समाजवादीको एकताका लागि एमाले नेताहरू लागिरहेको बताउँछन । तत्कालीन नेकपा ब्युँताए पनि दलहरूले कार्यसूची भने परिवर्तन गनुपर्ने उनी औँल्याउँछन् ।
“माधवजीलाई ल्याउन एमालेभित्रै प्रयासरत देखिन्छ । पोलिटिकल्ली मिल्दा रामै हो । परिवर्तनको कार्यसूची नसमात्ने तर सत्ताकै निमित्त मिल्ने हो भने अर्को संकट त आइहाल्छ,” ढकालको विश्लेषण छ, “त्यसमा ध्यान नदिए विखण्डन हुन्छ । पहिले पनि चुनावमाबाहेक किन मिलेको र किन फुटेको भन्नेमा शक्ति अभ्यासको बाहेक देखिएन ।”