काठमाडौं । २०७८ साल मंसिरमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उमेदवार शेरबहादुर देउवाको मुद्दा थियो– ओली युगको अन्त्य गर्ने ।
उद्घाटन सत्रमा उपस्थित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाप्रति सदभाव प्रकट गर्दै युवा हुँ भन्दैमा नेतृत्व सम्हाल्न नसकिने संकेत गरेका थिए ।
भन्नलाई उनले राजेन्द्र लिङ्देनलाई जवाफ दिनेक्रममा ‘बाच्छोले दाइँ नहुने’ बताएका थिए ।
तर, बोलीमा ‘एक तीर दो सिकार’ गर्न खप्पिस ओलीले कांग्रेसमा पनि नयाँ पुस्ता वा पुस्तान्तरणले परिपक्व नेतृत्व नआउने संकेत गरिदिएका थिए ।
साँझ अध्यारो भएपछि मात्र देउवाको बोल्ने पालो आयो । उनले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भनेका थिए– मैले ओली शासन खोसेर जनतामा रहेको निराशालाई शान्त पार्ने प्रयास गरेको छु । म कांग्रेसको सभापति भइन भने ओली शासन फेरि पनि फर्कन सक्छ । त्यसैले ओली शासनको अन्य गर्ने र देशभरका कांग्रेसलाई शिर उँचो गरेर हिँड्न मैले सभापति जित्नुपर्छ ।”
उनले त्यतिमात्र होइन ओली शासन आउन दिन्न, चुनाव जित्छु, जित्छु जित्छु भन्दै भाषण गरेका थिए ।
त्यो महाधिवेशनमा देउवाले दिएको मुद्दा यति मात्र थियो ।
०७२को महाधिवेशनबाटै सभापति निर्वाचित भएका देउवाले त्यसको ५ वर्ष नौ महिनामा मात्र महाधिवेशन गराएका थिए ।
अघिल्लो वर्षको फागुनदेखि भदौ, असोज हुँदै मंसिरमा बाध्यात्मक महाधिवेशन गराएका देउवाले महाधिवेशनको एक वर्षभित्र विधान महाधिवेशन गर्ने कुरा तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्मामार्फत सार्वजनिक गरेका थिए ।
उनै प्रवक्ता शर्मा कांग्रेसको महामन्त्री जस्तो कार्यकारी पदमा छन् ।
अनि देउवा सभापति भएको पनि एकवर्ष नाघिसकेको छ । तर– उनले महाधिवेशनको मैदानमा नीति र विचारका विषयमा छलफल नै नहुने गरी महाधिवेशनमा रोकेको विधिको छलफल गराउने ‘विधान महाधिवेशन’ अहिलेसम्म डाँकेका छैनन् ।
पार्टी विधान सच्याएर दुई महिनामा गर्नुपर्ने काम ६ महिना भित्र गर्ने व्यवस्था बनाए पनि उनले एक वर्षमा पनि ती काम गरेका छैनन् ।
पार्टीका विभाग र समितिहरु बनाएका छैनन् अनि भ्रातृ संस्थाका अधिवेशनको संकेतसमेत उनले दिएका छैनन् ।
यही बीचमा उनले स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गराएका छन् । नेपाली कांग्रेसको विगतमा भन्दा भोट घटे पनि गठबन्धनमार्फत् पार्टीलाई दुवै चुनावमा पहिलो बनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको परिणामपछि उनी संसदीय दलको नेतामा पुनः प्रतिस्पर्धा गरे ।
देउवाले प्रतिस्पर्धा गर्दा पार्टीलाई कस्तो बनाउने भनेर एजेन्डा दिन सकेनन् । देउवाले त कुनै अभिव्यक्ति नै दिएनन् ।
देउवाका विश्वास पात्र उपसभापति पूर्णबहादुर खड्काले देउवामा गठबन्धन संस्कृतिलाई अघि बढाउने विशेष क्षमतालाई उनको योग्यताका रुपमा प्रस्तुत गरे ।
“गठबन्धन अहिलेको आवश्यकता हो । साझेदार दलहरुलाई सँगै हिँडाउने शासकीय क्षमता र अनुभव उहाँसँग छ,” खड्काले भनेका थिए, “यी सबै कामका लागि शेरबहादुर देउवाज्यूको नेतृत्व आवश्यक छ ।”
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि खड्काले जस्तै देउवाको ‘तारिफ’ गरेका थिए ।
अरु दललाई पनि लिएर हिँड्नका लागि देउवाको नेतृत्व आवश्यक भएको भन्दै देउवाको उमेदवारीमा समर्थन जनाएका थिए ।
१४औं महाधिवेशन देखि यही पुस ६ गतेसम्म गठबन्धनलाई लिएर हिँड्नु नै योग्यता भएका देउवाको त्यो योग्यता सोमबारदेखि सकिएको छ ।
कांग्रेसमा एउटा भनाइ स्थापित छ –०७८ साल मंसिरमा देउवा प्रधानमन्त्री नभएका भए सभापति जित्ने सम्भावना थिएन अनि अब पनि प्रधानमन्त्रीमा दोहोरिन्छन् भन्ने नभएको भए संसदीय दलको नेता पनि जित्ने थिएनन् ।”
कांग्रेसमा रहेको यो आम बुझाइलाई आधार मान्ने हो भने स्वार्थको सम्बोधन अनि आस र त्रासका आधारमा उनले सभापति र संसदीय दलको नेता जितेका थिए ।
उनले प्रधानमन्त्री पदको मोह नछोड्दा राष्ट्रपति, सभामुख, मन्त्री, संवैधानिक आयोगका नियुक्ति, संस्थान र विभिन्न निकायमा हुने नियुक्तिदेखि प्रदेशका कम्तिमा चार मुख्यमन्त्री र मन्त्रीहरुसहित प्रदेशमा हुने सबै नियुक्ति र कांग्रेस नेताहरुको सत्तामा गएर आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै लोकप्रियता हासिल गर्ने सबै बाटो बन्द गरिदिएको एक नेताको टिप्पणी छ ।
रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका शब्दमा देउवाले प्रचण्डलाई दिएको आश्वासनमा धोका दिएका छन् ।
अनि आफ्नो सत्ता स्वार्थले पार्टीका लागि आएका सबै अवसर गुमाएका छन् । सोमबारसम्म प्रधानमन्त्रीसहित सत्ता गठबन्धनको नेताको भूमिकामा रहेका देउवा एकाएक प्रतिपक्षी दलको नेतामा सीमित भएका छन् ।
ज्योतिषको भविष्यवाणिमा विश्वास गर्ने देउवाले सातपटक प्रधानमन्त्री बन्ने उद्घोष ०७४को निर्वाचनकै क्रममा गरेका थिए ।
प्रचण्डसँग गरेको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’मा तोडेको आरोप देउवालाई पार्टीभित्रैबाट छ ।
देउवाले पार्टीभित्रैबाट दबाब भएका कारण प्रधानमन्त्री पद दिन नसकिने माओवादीलाई जवाफ दिए पनि नेता पौडेलले कुनै दबाब नभएको बताएका छन् ।
यसअघि प्रतिनिधिसभामा १२१ सिटसहित पहिलो पार्टी भएको एमाले ४१ महिना सरकार चलाएपछि प्रतिपक्षमा पुगेका थियो ।
यसपटक ८९ सिट सहित पहिलोपार्टी बनेको कांग्रेस सुरुवाति देखि नै प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ ।
कसरी सत्ता बाहिर पुगे देउवा ?
कांग्रेस स्रोतका अनुसार प्रचण्डलाई धोका दिएर ओलीसँग सेटिङ गर्दा देउवा चिप्लिएका हुन् ।
स्रोतका अनुसार देउवाले ओलीसँग भेट्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विमलेन्द्र निधिलाई पठाएका थिए । ओलीले सत्तामा कांग्रेस र एमालेकै साझेदारी गर्न प्रतिनिधिहरुमार्फत् देउवालाई सुझाव पठाएका थिए ।
त्यसका लागि उनले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुइभन्दा बढी दलले बहुमत जुटाएर सरकार बनाउने कसरत टार्न सुझाव दिएका थिए ।
त्यसपछि सबैभन्दा ठूलो दलको सरकार बन्ने र त्यसलाई विश्वासको मत दिएर एमालेले सहकार्य र शक्ति बाँडफाँटमा भाग लिने योजना सुनाएका दिए ।
ओलीले देउवाका दूतमार्फत् पठाएको सूचना प्रचण्डले पाइसकेका थिए । त्यही सूचनाका आधारमा देउवामाथि दबाब बढाएका प्रचण्डले सोमबार १ बजेसम्म देउवालाई नै गलाउने प्रयास गरेका थिए ।
तर चार घण्टा बाँकी रहँदासम्म पनि देउवा गल्ने संकेत नदेखिएपछि ‘प्लान बी’ तयार पारेर बसेका प्रचण्ड ओली निवासमा गएर समर्थक दलहरु त्यतै बोलाए ।
त्यहीँ हस्ताक्षर संकलन गरेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रस्ताव लिएर गए ।
केही घण्टामै राष्गट्रपतिले उनलाई नियुक्त गरिन् । केही घण्टाअघिसम्म प्रचण्डलाई दोस्रो चरणमा प्रधानमन्त्री दिने तर पहिला आफैंले नेतृत्व गर्ने भनिरहेका देउवा अब कसैलाई पद बाँड्न नसक्ने अवस्थामा खुम्चिएका छन् ।
विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल देउवा र उनको टिमको ‘मिस क्याल्कुलेसन’ले कांग्रेस प्रतिपक्षमा पुगेको बताउँछन् ।
उनी पार्टीसँग धेरै सिट भएको र प्रधानमन्त्री छोड्नुहुँदैन भन्ने गलत बुझाइले कांंग्रेस धेरै पद पाउने अवस्थाबाट प्रतिपक्षको भूमिकामा पुगेको बताउँछन् ।
“कांग्रेसले प्रधानमन्त्री पद छोड्न तयार भएको भए राष्ट्रपति, सभामुख, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुदेखि नियुक्ति र सिफारिसको डाडु पन्यु लिएर बस्ने हैसियतमा हुन्थ्यो,” प्रा. डा. बरालले बाह्रखरीसँग भने, “तर, देउवा र उनको कोटरीले मिस क्याल्कुलेसन गरेर प्रधानमन्त्री पद छोड्न तयार नहुँदा शक्तिबाट बाहिर पुगेको छ ।”
बरालले कांग्रेसलाई तत्कालका लागि ठूलो क्षति भए पनि यसले कांग्रेसको जीवनलाई भने सकारात्मक परिणाम दिनसक्ने बताए ।
“देउवा पाँचपटक प्रधानमन्त्री बन्दा के भयो र छैटौँपटक प्रधानमन्त्री बनेर के हुन्थ्यो ? त्यसले कांग्रेसलाई थप ड्यामेज गर्न सक्थ्यो,” बरालले भने, “अब कांग्रेसको संगठन निर्माण गर्ने अवसर आएको छ । पार्टी निर्माणमा राम्रोसँग काम हुन सक्यो भने यो सकारात्मक अवसर बन्न सक्छ ।”
देउवाको नेतृत्व च्यालेन्ज गर्न सक्नुपर्छ
प्राध्यापक बरालले नेपाली कांग्रेसले अब देउवाको नेतृत्वबाट पनि मुक्त हुने अवसर पाएको बताए । उनले देउवा सबै क्षेत्रमा असफल भएकाले उनको नेतृत्व च्यालेन्ज गरेर विस्थापनको बाटो रोज्नुपर्ने बताए ।
“कांग्रेसमा अब देउवाको नेतृत्वलाई च्यालेञ्ज गर्न सक्नुपर्छ । उनी पाँचपटक प्रधनमन्त्री भएर केही भएन भने छैटौँपटक भएर केही हुँदैनथ्यो । उनको नेतृत्वमा सरकार नबन्नु कांग्रेसको हितमा छ भनेर नेतृत्व परिवर्तनसहित पार्टी निर्माण गर्नुपर्छ,” बरालले भने, “तुच्छ टिप्पणी गरेर नेतृत्व यही राख्ने हो भने कांग्रेस फेरि पनि अझ कमजोर अवस्थामा जान सक्छ ।”
उनले युवा जोस र नेतृत्व परिवर्तनका पक्षधरहरुको पनि अब परीक्षा सुरु भएको बताए ।
विश्लेषक डा. विष्णु दाहाल देउवा ओभर कन्फिडेन्ट हुँदा शक्तिबाट चिप्लिएको बताउँछन् । यो घटनाले देउवा इन्टेलिजेन्सविहीन भएको तथ्य पनि बाहिर ल्याएको बताए ।
“उनमा ओभर कन्फिडेन्ट देखियो । उनको टिममा इन्टेलिजेन्सको अभाव पनि देखियो । उनी खेलाडी हुन् तर, उनको टिममा कोही रहेनछन् । उनलाई ०७६ (३) मा जानु थियो भने एमालेसँग सहमति गरिसकेको हुनुपर्थ्यो,” डा. दाहालले बाह्रखरीसँग भने, “ अब उनी अवकाश लिने अवस्थामा पुगे । पार्टीको अवस्था संख्यात्मक रुपमा केही राम्रो बनाए प्रतिफल लिन चुके । यो उनका लागि अन्तिम अवसर थियो ।”
उनले विपरीतहरुको एकत्व भएकाले प्रचण्ड सरकार पनि धेरै लामो जान गाह्रो रहेको बताए ।
“अहिले विपरीतहरुको एकता भएको छ । ओली र प्रचण्ड विपरीत, रवि र प्रचण्ड विपरीत, उपेन्द्र र सीके विपरीत, अनि राजेन्द्र लिङ्देन र प्रचण्ड विपरीत शक्ति हुन्,” दाहालले भने, “यही कारण प्रचण्ड सरकार कुनै पनिबेला अल्पमतमा पुगेर सकिन सक्छ ।”