
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आजै केही बेरपछि पुनः बस्ने बताएका छन् ।
उनले बैठक नसकिएको भन्दै केही बेर आ–आफ्नो छलफलपछि पुनः बस्ने र सहमतिमा पुग्ने बताए । “गठबन्धन मुलुकको आवश्यकता हो । छलफल जारी छ । केही समयपछि फेरि बैठक सुचारु हुन्छ । तपाईंहरूले थप जानकारी प्राप्त गर्नुहुन्छ,” कार्कीले भने, “अर्को बैठकबाट आज हामी एउटा निर्णयमा पुग्छौँ । जनताको अभिमत छ । त्यसको कदर गर्दै हामी अघि बढ्छौँ ।”
के कुरामा सहमति हुन सकेन र कहिले सहमतिमा पुग्छ भन्ने सञ्चारकर्मीको प्रश्नप्रति उनले असन्तुष्टि जनाए । “अहिले नै बैठक निष्कर्षमा पुगेको छ र तपाईंले उठाएका सबै प्रश्नको जवाफ दिनलाई ?,” प्रतिप्रश्न गर्दै कार्कीले भने, “समयको पावन्दी हामीलाई पनि थाहा होला नि, कति बेला सहमतिमा पुग्नुपर्छ भनेर ।”
उनले भारतीय मिडियाका रिपोर्टरले हिन्दीमा सोधेको प्रश्नको हिन्दीमै जवाफ दिएका थिए ।
सहमतिका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अहिले आफू प्रधानमन्त्री बन्नुपर्ने अडान नै बाधक हो भन्ने प्रश्नमा कार्कीले उनको दाबी स्वाभाविक भएको प्रतिक्रिया दिए ।