
काठमाडौं । १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज सकिँदै छ । महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।
चलचित्रमा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ । यसअघि ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिबलमा प्रिमियर भएको थियो ।
महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र छनोट गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शन गरिने चलचित्रमध्ये चार विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड प्रदान गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ ।

आइतबारदेखि ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित सुरु भएको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वरल्र्ड’ देखाइएको थियो ।
महोत्सवको दोस्रो दिन चलचत्रि प्रदर्शसँगै ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि गरिएको थियो । महोत्सवको तेस्रो दिन पनि ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्नेबारे भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले मास्टर क्लास दिएका थिए ।