site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हिट गीतबिनाका सिनेमा चल्छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको कात्तिक ११ गते रिलिज भएको चलचित्र ‘महापुरुष’ले असोज ४ गते ‘बेमौसमी’ बोलको गीत सार्वजनिक गर्‍यो । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीलगायत फिचर्ड थिए । गीत हिट हुने अपेक्षा निर्माण पक्षको थियो । तर, भएन ।

सामान्यतः सिनेमा चल्न अथवा हिट हुन एउटा पपुलर गीत हुनुपर्छ भन्ने मान्यता छ । गीतलाई सिनेमाको प्रचारको राम्रो माध्यम पनि मानिन्छ । जब ‘महापुरुष’को गीत हिट भएन, त्यसपछि निर्माण पक्ष आत्तिएको थियो ।

“बेमौसमी गीत हिट हुन्छ भन्ने थियो । तर, गीत हिट नभएपछि प्रदीप (भट्टराई)जी आत्तिएका थिए,” स्रोतले भन्यो, “तर, गीत हिट नभए पनि सिनेमा मजाले चल्यो । ५१औँ दिन मनाइसकेको चलचित्र अहिले पनि केही हलमा चलिरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

‘पशुपतिप्रसाद’ पनि गीतबिना नै चलेको सिनेमा हो । दर्शक र समीक्षक दुवैबाट तारिफ बटुलेको यो चलचित्रमा गीत छैन । यो कन्टेन्टले हलमा दर्शक तानेको र इंगेज गरेको चलचित्र हो ।

‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनालले नै निर्देशन गरेको चलचित्र ‘आमा’ पनि पपुलर गीतबिनाको चलचित्र हो । यो चलचित्रले पनि उल्लेख्य माया पायो । मानवीय संवेदना हराएपछि कसरी अस्पतालले शवमाथि पनि बिजनेस गरिरहन्छ भन्ने देखाइएको यो चलचित्र ‘वर्ड अफ माउथ’ राम्रो भएर हलमा दर्शक आइरहेका बेला कोभिड–१९ को महामारी भित्रियो । त्यसको मारमा यो सिनेमा पर्‍यो । चलचित्र हलबाट बाहिरियो ।

Global Ime bank

पपुलर गीतबिना नै हाउसफुल ओपनिङ गरेको अर्को चलचित्र हो, ‘धनपति’ । भलै, यो चलचित्रले अपेक्षा गरेअनुसार तारिफ बटुल्न सकेन । तर, यो चलचित्र पनि गीत होइन, दर्शकलाई कन्टेन्टले बाँध्नुपर्छ भन्ने मान्यता राखेर आएको थियो । एक हदसम्म सफल पनि भएको हो ।

‘जात्रा’ पनि बिनापपुलर गीत हिट भएको चलचित्र हो । चलचित्रको प्रचारका लागि निर्माण पक्षले हरिवंश आचार्यको स्वरमा ‘नोट नोट’ बोलको गीत रेकर्ड गराएको थियो । तर, चलचित्रमा यो गीत समावेश थिएन ।

नेपालमा सिनेमाको प्रचारका लागि धेरैले सामान्यतः आइटम गीत आवश्यक ठान्ने गरेको देखिन्छ । त्यसैले बिनासन्दर्भ इन्डिपेन्डेन्ट सिनेमामा पनि पपुलर गीत राख्ने गरेको देखिएको छ । यसको गतिलो उदाहरणका रूपमा ‘लुट’ र ‘बुलबुल’ हुन् । चलचित्र चलाउन पपुलर गीत चाहिन्छ भन्नु भ्रम मात्र भएको नायक निखिल उप्रेती बताउँछन् ।

“एउटै मात्रै कुनै पक्षले चलचित्र राम्रो बन्दैन । र, चल्दैन । यो भ्रमबाट हामी बाहिर आउन जरुरी छ,” निखिल भन्छन्, “चलचित्र कुनै एक्सन वा स्टन्टले मात्रै हिट हुँदैन । डाइलग र डान्सले चलचित्र हिट हुन्छ भनेर कसैले भन्छ भने त्यो गलत हो ।”

पछिल्लो समय पोस्टरले चलचित्र हिट बनाउन खोजिएको तर सफल नभइरहेको उनको टिप्पणी छ । प्रोमोसनमा केही फरक पन र पोस्टरमा भिन्न हुँदैमा सिनेमा नचल्ने उनको तर्क छ । “पोस्टर हेर्दा फरक छ । प्रोमोसनमा केही फरक पन देखिन्छ,” निखिल अगाडि थप्छन्, “तर, सिनेमाभित्र पोस्टरजस्तो केही देखिँदैन । यो सत्य भन्न अड मान्नुपर्ने अवस्था छैन ।”

‘मार्केटले खोजेअनुसारको सिनेमा बनाउने’ भन्दै विभिन्न पक्षमा सिनेमा केन्द्रित हुँदै आएको निखिलको टिप्पणी छ । यद्यपि, राम्रो निर्देशकले आफैँ बाटो बनाउने उनको भनाइ छ ।

“हामी बजारले यस्तो खोजेको छ भनेर सिनेमाको कुनै एक पक्षको पछि लागिरहेका छौँ,” निखिल भन्छन्, “बजारले के खोजेको छ भनेर त्यसको पछि लाग्ने निर्देशक कुशल निर्देशक होइन । त्यो सफल निर्देशक हो, जसले बजारमा आफ्नो बाटो आफैँ बनाउँछ ।”

निखिलको तर्कमा निर्देशक नरेशकुमार केसी सहमत छन् । उनी चलचित्र गीतले होइन, कन्टेन्टले चल्ने बताउँछन् । गीत हिट भएर पनि नचलेका सिनेमा थुप्रै छन् । ‘सेल्फी किङ’ र ‘पर्व’ त्यसको गतिलो उदाहरण हुन् । सेल्फी किङको ‘जिन्दगीको के छ र भर...’ र पर्वको ‘काले दाइ...’ गीत हिट थिए । तर, सिनेमा चलेनन् । यद्यपि, गीत लोकप्रिय भएका सिनेमा पनि थुप्रै चलेका छन् । जस्तै : ‘लुट’, ‘प्रेम गीत’, ‘कबड्डी’, ‘छक्का पञ्जा’ आदि ।

“गीत हिट हुँदैमा चलचित्र चल्छन् नै भन्ने हुँदैन । कसैले यो भाष्य निर्माण गर्छ भने त्यो गलत हो । चलचित्र कथाले चल्ने हो,” निर्देशक नरेश भन्छन्, “कन्टेन्ट बलियो भयो भने सिनेमा चल्छ । सिनेमा भनेको मुख्य त कन्टेन्ट नै हो । कन्टेन्ट बलियो भएन भने सिनेमा चल्दैन । कन्टेन्ट सिनेमाको स्पाइनल कर्ड हो ।”

यसलाई कसैले नजरअन्दाज गरेर अगाडि बढ्ने हो भने त्यो त्रुटि हुने उनको भनाइ छ । त्यसैले चलचित्र चल्नका लागि गीत होइन, बलियो कथावस्तुको विकल्प नरहेको नरेश बताउँछन् ।

नेपालमा अझै पनि स्टन्टको पक्षमा मेकरहरू रहेको र त्यसकै पछाडि उनीहरू रमाइरहेको निखिलको टिप्पणी छ । स्टन्टले चलचित्र चल्छ भन्ने मानसिकताबाट नेपाली सिनेकर्मी माथि उठ्न नसकेको उनी बताउँछन् ।

“एक्सनले मात्रै सिनेमा चल्छ भनेर यहाँ लामो समय चटक गरियो । म पनि उनीहरूको चटके बनेँ,” निखिल स्पष्ट पार्छन्, “मलाई थाहा हुँदाहुँदै पनि चटके बनिरहेँ । किनभने, कि म यो सिनेमा इन्डस्ट्रीबाट नै बाहिरिनुपर्थ्यो कि चुपचाप काम गर्नुपर्थ्यो ।”

यी दुईमध्ये आफूले दोस्रो विकल्प रोजेको उनी स्पष्ट पार्छन् । यसबाट टाढा रहन आफू स्वयं निर्माता भएर पनि केही चलचित्र बनाएको तर यहाँको स्कुलिङ र प्रवृत्तिका कारण सोचेअनुसारको काम निकाल्न नसकेको उनको जिकिर छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC