site stats
अन्तर्वार्ता
जाडो भगाउने बहानामा धुमपान र मद्यपान नगरौँ, छातीमा गम्भीर समस्या निम्तिन सक्छ 

काठमाडौं । पछिल्लो समय जाडो तथा वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामीको संख्या थपिँदै गएको छ । जाडोयाममा स्वस्थ व्यक्तिमा समेत इन्फ्लुएन्जा, लहरेखोकी तथा ब्याक्टेरिया र फंगसका कारण हुने विभिन्न समस्याहरु देखिइरहँदा दीर्घरोगी र ज्येष्ठ नागरिकहरुमा श्वासप्रश्वासजन्य समस्याहरु बढ्दै गएका छन् । 

आम मानिसको खानपान तथा जीवनशैलीमा परिवर्तन नहुँदा श्वासप्रश्वासजन्य रोगको जोखिम निम्तिइरहेको वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । प्रस्तुत छ त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. बमसँग जाडोयाममा श्वासप्रश्वासजन्य समस्या र बच्ने उपायबारे गरिएको कुराकानीः

श्वासप्रश्वासका कस्ता बिरामीहरु धेरै आइरहेका छन् ? 

NMB Bank
Dabur nepal
Agani Group

जाडोयाममा रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुलाई जुनसुकै संक्रमणले छिटो आक्रमण गर्दछ । विशेषगरी दीर्घरोगी, किमोथेरापी लिइरहेका, पक्षघात भएका, ज्येष्ठ नागरिक तथा बालबालिकाहरुमा यस्ता समस्याले बढी सताएको देखिएको छ । उनीहरुमा भाइरल संक्रमण बढेर जाने, इन्फ्लुएन्जा, फंगस, एडिनो लहरेखोकी, निमोनियालगायतका समस्या बढी देखिन्छन् । 

केही सातायता भर्ना भएरै उपचार गराउने यस्ता बिरामीको संख्या बढ्दै गएको छ । त्यस्तै, सामान्य व्यक्तिहरुमा पनि लामो समय रुघाखोकी, ज्वरो, नाक बन्द हुने दम बढ्ने समस्या देखिएका छन् ।

Global bank

निमोनियाको जोखिम कस्तो अवस्थामा हुनसक्छ ? 

निमोनियाका धेरै कारणहरु हुन्छन् । त्यसमा पनि चिसो मौसममा निमोनियाको सम्भावना बढी हुन्छ । यतिबेला मौसमको आद्रता सुख्खा हुन्छ र प्रदूषण पनि बढी हुन्छ, जसकारण ब्याक्टेरियाको संक्रमण गराउने वातावरण बन्छ । अन्य स्रोतमा भएका संक्रामक जीवाणुहरुबाट बच्न सकिने भए पनि हावामा भएका जीवाणुहरु श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्नसक्छन् । 

यसरी भित्र पुगेका जीवाणुले फोक्सोको भित्तामा पुगेर आक्रमण गर्छन् र त्यहाँ तरल पदार्थ जम्मा हुनपुग्छ । यही अवस्था निमोनिया हो । निमोनियाले श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न हुन्छ र अक्सिजनको कमी गराएर गम्भीर समस्या निम्त्याउन सक्छ । त्यतिमात्रै नभएर फोक्सोको केही भागले काम नगर्न सक्छ ।
 
एउटै व्यक्तिलाई पटकपटक निमोनिया दोहोरिन्छ ? 

सामान्यतः छातीमा समस्या, अलि लामो समयको रुघाखोकी भएको अवस्थालाई निमोनिया भएको भन्ने आम बुझाइ छ । तर, प्रत्येक वर्ष व्यक्तिलाई निमोनिया नदोहोरिएको हुनसक्छ ।  साधारण रुघाखोकी, छाती घ्याघ्यार हुनु, दुख्नु मौसमी इन्फ्लुएन्जा पनि हुनसक्छ । 

तर, लामो समयसम्म घाँटी खसखस भइरहने, लहरेखोकी, खकारमा रगत देखा पर्ने, शवासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या भए तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ । किनकि, यस्ता समस्या लामो समय रहिरहे पछि गएर औषधिले काम नगर्ने र कालान्तरमा फोक्सोको घातक समस्या भएर निस्कनसक्छ । 

कोभिड  र डेंगी संक्रमण भएकाहरुलाई छातीको समस्या बढी भएको हो ? 

अहिले युवा उमेरका बिरामीहरुमा पनि लहरेखोकी, घाँटीमा समस्या, भाइरल इन्फेक्सन बढेको छ । कोभिड संक्रमणका बेला अक्सिजन लिएका, आईसीयू तथा भेन्टिलेटरमा उपचार गराएका बिरामीहरुमा अहिले पनि फोक्सोमा निमोनियाका दागहरु देखिइरहेको छ । त्यस्तै, कोभिड र डेंगी दुवै संक्रमण भएका बिरामीहरुमा पनि यस्ता समस्या धेरै देखिएका छन् ।

यसमा मैले देखेको तथ्य बिरामीले खानपान र जीवनशैली परिवर्तन नगरेर पनि हो । एकपटक गम्भीर संक्रमण भएपछि पनि जीवनशैली परिवर्तन नगर्ने, धुमपान, मद्यपान गर्ने जंक फुडहरु धेरै खाने तथा सन्तुलित आहार नखाने बानीले उनीहरुमा थप समस्या निम्त्याएको देखिन्छ ।

प्रदूषित वातावरण र अहिलेको मौसममा श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्ने के के गर्नुपर्ला ? 

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० वटा मृत्युमध्ये एउटा कारण श्वासप्रश्वासजन्य रोग हो, त्यसको प्रमुख कारण वायु प्रदूषण हो । वायु प्रदूषणले फोक्सोमात्रै नभई मिर्गौला र कलेजोमा पनि समस्या निम्त्याउँछ । साथै, उच्च रक्तचाप, मधुमेह नियन्त्रण नहुने, घातक मुटुरोग, डिप्रेशन र निःसन्तानसम्मका परिणाम निम्त्याउन सक्छ । 

पहिलो कुरा त वायु प्रदूषण नियन्त्रणका लागि सरकारले नीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ । त्यसमा विद्युतीय सवारी साधनको प्रयोगदेखि हरित सहरसम्मका विषयहरु हुन सक्छन् । अर्को रह्यो, व्यक्तिगत सावधानीको पाटो । पछिल्लो समय जाडो भगाउने होस् या विभिन्न बहानामा मद्यपानको प्रयोग बढेको देखिन्छ । यसले फोक्सोमा प्रत्यक्ष रुपमा असर पुर्‍याइरहेको छ । 

हामीले खानपान र जीवनशैली परिवर्तन नगर्ने हो भने घातक समस्या निम्तिन सक्छ । त्यस्तै, कतिपय जेष्ठ नागरिकहरुको जाडोयाममा पनि चिसो पानीले दैनिक नुहाउने र चिसोमा नै रहेर पूजाआजा गर्ने बानीले पनि छातीमा गम्भीर समस्या बढेर अस्पताल आइपुग्छन् । ज्येष्ठ नागरिकहरुका यस्ता बानीबारे पनि सन्तानले चासो राख्नुपर्ने र परिवर्तन गर्नुपर्ने देखिन्छ ।  

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय