
काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा फर्कने बाटो खुलेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले उनलाई सर्वोच्च फर्कने बाटो खोलिदिएका हुन् ।
बुधबार महासचिव गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्याय परिषद्लाई जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएसँगै उनी प्रधानन्यायाधीशका रूपमा पदमा फर्कन पाउने भएका छन् ।
महासचिव गौतमले पठाएको पत्रमा लेखिएको छ, “महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चात्को प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशमशेर जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु । प्रधानन्यायाधीशको नियमित कार्यसम्पादन गर्नको लागि उहाँले दिनुभएको निवेदनको छायाप्रति यसै साथ संलग्न रहेको छ ।”