
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको छ ।
बुधबार सचिवालयले सो व्यहोराको पत्र पठाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
योसँगै चोलेन्द्र पदमा फर्कने बाटो खुलेको छ । उनी आजै प्रधानन्यायाधीशका रूपमा सर्वोच्चमा फर्कने तयारीमा रहेको स्रोतले बताएको छ ।
गत वर्ष फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।