site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले–माओवादी सहकार्यको प्रयास ! प्रचण्डको नेतृत्वमा पनि बन्न सक्छ सरकार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनअघि आफ्नो पार्टीले प्रत्यक्षतर्फ १०० सिट जित्ने बताएका थिए । समानुपातिकतर्फ पनि ४५ सिटसम्म जित्ने दाबी गरेका ओलीले अहिले गणनामा धाँधली हुनसक्ने भन्दै कार्यकर्तालाई सचेत गराइरहेका छन् । 

उनले आफ्नो नेतृत्वमा सरकार बन्ने र अहिले सत्ताको नेतृत्व गरिहेको नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने बताएका थिए । तर मत परिणामले उनको दाबीलाई गलत साबित गरिदियो । एमालेले प्रत्यक्षतर्फ अहिलेसम्म ४४ सिट मात्र जितेको छ ।

समानुपातिकमा अहिलेसम्मको गणनालाई आधार मान्दा एमालेले २६ प्रतिशतको वरिपरि मत आउने देखिन्छ । यही ट्रेन्ड कायम रहे एमालेले समानुपातिकमा ३४ सिट मात्र पाउने अवस्था छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समग्रमा एमालेले प्रत्यक्षमा ४४, समानुपातिकमा ३४ र समानुपातिक सिट बाँडफाँटमा थ्रेस होल्ड काटन नसकेका दलहरूको मतबाट थप हुने सिटले उसको भागमा ८० सिट हुन सक्छ । त्यसैले ओलीले गरेको दाबीअनुरूप सरकार बन्ने अवस्था निर्वाचन परिणामले दिएको छैन ।

निर्वाचनअघि ओलीले माअ‍ोवादीसँको कटुसम्बन्धको चित्रण हुने अभिव्यक्ति दिएका थिए । उनले त्यसबेला भनेका थिए– निर्वाचनपछि माधव नेपालसँग सरकार बन्ला । तर, प्रचण्डसँग सहकार्य हुँदैन । तर, निर्वाचनको अन्तिम परिणाम आइनसक्दै एमाले र माओवादीबीच सहकार्यको प्रयास सुरु भएको छ ।

Global Ime bank

स्रोतका अनुसार एमालेका दोस्रो तहका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । उनीहरूले पहिलो चरणमा प्रधानमन्त्री बन्न र पुरानो पार्टी एकताका सम्भावनाबारे छलफल गर्न पनि आग्रह गरेका छन् ।

तर, उनीहरूबीच सहमति भइसकेको छैन । एमालेका तर्फबाट दोस्रो तहका नेताहरूको टिमले प्रचण्डसँगै दोस्रो तहका नेताहरूसँग पनि संवाद जारी राखेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा उपमहासचिव विष्णु रिमालले वार्ताको काम अघि बढाएका छन् । त्यसमा स्वतन्त्र सांसदहरूको टिमले पनि साथि दिने आश्वासन दिएको स्रोतले जनाएको छ । 

यही बीचमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बिहीबार प्रचण्ड निवासमै पुगेर भेटवार्ता गरेका छन् । उनले आगामी सरकार गठन र सत्ता गठबन्धनलाई अघि बढाउने विषयमा छलफल भएको बताएका छन् । 

“प्रचण्डजीले सहमतिभन्दा बाहिर जान्न भन्नुभएको छ । अब गठबन्धनकै सरकार बनाउने हो,” खड्काले बाह्रखरीसँग भने, “संविधानको रक्षा र लोकतन्त्रको प्रबर्द्धनका लागि गठबन्धन बनेकाले यसलाई अघि बढाउने विषयमा उहाँ प्रतिबद्ध हुनुहुन्छ ।” 

खड्काले गठबन्धनकै सरकार बन्ने बताए पनि कांग्रेसकै केही नेताहरू प्रधानमन्त्रीमा शेरबहादुर देउवाको निरन्तरता नहुने बताउँछन् । कांग्रेसका ती नेताका अनुसार देउवाले प्रचण्डसँग गरेको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ अनुसार अबको प्रधानमन्त्री प्रचण्ड बन्ने छन् । त्यो सहमति कार्यान्वयन नभए प्रचण्डले विकल्प खोज्न सक्ने ती नेताको भनाइ छ । 

“अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा नै प्रचण्डलाई अर्को कार्यकालमा प्रधानमन्त्री बनाउने सहमति भएको छ । लिखित सहमति त कागजको खोस्टो हो । ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ कार्यान्वयन भएन भने त्यसले सहकार्य र विश्वासको सम्भावना समाप्त पार्न सक्छ,” ती नेताले भने, “त्यसकारण अब देउवा प्रधानमन्त्री बन्नुहुन्न ।”

उनले देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता खोजे सत्ता गठबन्धनको निरन्तरतामा प्रश्न उठ्ने बताए । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजनीति सिधा रेखामा नहिँड्ने भन्दै देउवा र ओलीबाहेकको नेतृत्व पनि बन्न सक्ने बताउँछन् । उनी अहिले देखिएका खेलाडीमा प्रचण्डको नेतृत्व आउन पनि सक्ने भन्दै संसद्को आकारले नदेखिएका र कल्पना नगरिएको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने बताउँछन् । 

“अहिले देउवा वा ओलीको नेतृत्व नभएर प्रचण्डको नेतृत्वमा पनि सरकार बन्न सक्छ,” आचार्यले भने, “अहिले देखिएका खेलाडीबाट बन्दा प्रचण्डमा सरकारको नेतृत्व जान सक्छ । तर, कल्पना नगरिएका नयाँ व्यक्तिलाई पनि यो संसद्ले प्रधानमन्त्री बनाउन सक्छ ।”

ओली अभिव्यक्ति र नयाँ संसद्को अंक गणित 

देशभरका १६५ मध्ये १६२ क्षेत्रको मतपरिणाम आइसकेको छ । स्याङ्जा–२ मा गणना जारी रहँदा कांग्रेसको सुरुवाती अग्रता देखिएको छ । बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएको छ । दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको छ ।

यी तीन क्षेत्रबाहेक अहिलेसम्मको मत परिणामले कांग्रेसलाई ५५ सिटसहित पहिलो पार्टीको हैसियत दिएको छ ।

स्याङ्जा–२ मा कांग्रेसको सुरुवाती अग्रता देखिएको छ । अहिलेसम्मको मतगणनामा कांग्रेसले २५ प्रतिशत बढी मत समानुपातिकामा पाएको छ ।

अहिलेसम्म पाएको मतका आधारमा उसले समानुपातिकमा ३२ सिट प्राप्त गर्नसक्छ । प्रत्यक्षको ५५ र समानुपातिकको ३२ सिट जोड्दा उसको ८७ सिट हुन्छ । गणना सुरु हुन बाँकी क्षेत्रमा कांग्रेसले नै जितेमा पनि उसको ८९ सिट मात्र हुन्छ ।

सत्ता गठबन्धनको नेतृत्व गरेर पाँच दलसहित चुनावमा गएको कांग्रेसले एक्लै वा एउटा शक्तिलाई लिएर सरकार बनाउने योजना निर्वाचन परिणामले तुहाइदिएको छ । उसले थ्रेसहोल्ड काट्न नसकेका दलहरूको भोटबाट एक सिट प्राप्त हुँदा पनि सरकार बनाउनका लागि थप ४८ सिट आवश्यक हुन्छ । जुन एउटै शक्तिलाई विश्वासमा लिएर पुग्ने अवस्था देखिँदैन ।

अहिलेको सत्ता गठबन्धनका दलहरू पुरानै समझदारीअनुरूप अघि बढेमा माओवादी केन्द्रले प्रत्यक्षमा पाएको १७ र समानुपातिकतर्फ ११ प्रतिशत बढी मतले प्राप्त हुने १४ गरी उसँग ३१ सिट हुनसक्छ ।

गठबन्धनबाट चुनाव लडेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले १० सिट जितेको छ । समानुपातिकतर्फ अहिलेसम्मको मत परिणामले उसलाई राष्ट्रिय पार्टीको हैसियत दिएको छैन । समानुपातिकतर्फ थ्रेसहोल्ड पार गर्न ३ प्रतिशत मत आवश्यक भएपनि उसले २ दशमलब ८६ प्रतिशत मत पाएको छ । समानुपातिकमा प्रतिनिधित्व पाउन एकीकृत समाजवादीलाई शून्य दशम्लब १४ प्रतिशत मत आवश्यक हुन्छ । माधव नेपालको नेकपा एसले राष्ट्रिय पार्टीको हैसियत नबनाएमा अहिलेको गठबन्धनका लागि दुई सिट अपुग हुन्छ ।

ती दुई सिट स्वतन्त्र चुनाव लडेर जितेका कांग्रेसका अमरेशकुमार सिंह र पूर्व माओवादी नेता प्रभु साहलाई मन्त्री बनाएर गठबन्धनले पुर्‍याउन सक्छ । 

चुनावअघि नै नयाँ सरकार आफूले बनाउने घोषणा गरेको एमालेसँग आफ्नो ८० सिट छ । त्यसबाहेक राप्रपाले प्रत्यक्षमा जितेको सात सिट अनि समानुपातिकमा पाएको ५ प्रतिशत बढी मतबाट प्राप्त हुने करिब सात सिट जोड्दा १४ सिट हुन्छ ।

राप्रपाको मत थपिँदा एमालेलाई सरकार बनाउन थप ४४ सिट अपुग हुन्छ । त्यो सिट संख्या राष्ट्रिय स्वतन्त्र पार्टीको २१ मत, जनमत पार्टीको पाँच, नागरिक उन्मुक्तिको तीन सीट र स्वतन्त्र जितेका पाँच सिटले पनि अपुग हुन्छ ।

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल ‘हङ पार्लियामेन्ट’ बनेको भन्दै कसको सरकार बन्छ र त्यो सरकार कति समय टिक्छ भन्न गाह्रो हुने बताउँछन् । कुनै दलको पनि बहुमत नआएको र दुई वा तीन दल मिले सरकार बन्ने अवस्था पनि नरहेकाले यसरी सरकार बन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । 

“सिधा रूपमा हेर्दा ओलीको भन्दा देउवाकै नेतृत्वमा सरकार बन्ने देखिन्छ । तर, बन्छ नै भनेर भनिहाल्नेअवस्था पनि छैन,” बरालले बाह्रखरीसँग भने, “हङ पार्लियामेन्ट बनेकोले कसको नेतृत्वमा कसरी सरकार बन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था देखिएको छैन ।”

उनले सत्ता गठबन्धन नै चुनावमा गएकाले गठबन्धनकै सरकार बन्ने सम्भावना तुलनात्मक रूपमा बढी रहेको बताए । 

विश्लेषक डा. विष्णु दाहाल भने सत्ता गठबन्धनको निरन्तरतामा सीके राउतको जनमत पार्टीले पनि साथ दिने र त्यो सफल हुने बताउँछन् । जनमत पार्टीका लागि केन्द्रीय राजनीति भन्दा प्रदेशको राजनीति बढी महत्त्व राख्ने भएकाले उसले केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गर्ने र प्रदेश सरकारमा हिस्सा लिने बताए । 

“सरकार अहिलेको सत्ता गठबन्धनले नै बनाउने छ । उसँग केही सिट पुग्दैन त्यसमा सीके राउतको जनमत पार्टीले साथ दिनेछ,” डा. दाहालले बाह्रखरीसँग भने, “जनमत पार्टीका लागि संघीय सरकार भन्दा मधेस प्रदेशको हिस्सा महत्त्वपूर्ण हो । त्यसैले उसले मधेस प्रदेशमा आफ्नो हिस्सा सुनिश्चित गरेर कांग्रेस नेतृतवको गठबन्धनका पक्षमा उभिन्छ भन्ने मेरो बुझाइ हो ।”

उनले सिधा रेखाबाट राजनीति अघि बढ्दा गठबन्धनको विकल्प तत्काल तयार नभइसकेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC