site stats
बाह्रखरी :: Baahrakhari
कला
उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

काठमाडौं । उपन्यास ‘पल्पसा क्याफे’ नाटकका रुपमा पनि काठमाडौंका दर्शकहरूमाझ प्रदर्शित भइसकेको छ । अब भने त्यही नाटकलाई पब्लिकेशन नेपालयले पाठकसामु पुस्तकका रुपमा प्रस्तुत गरेको छ ।

बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको छ । विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए । 

उपन्यासलाई नाटकका रुपमा पुनरलेखनको अनुभव सुनाउँदै सुरज सुवेदीले उपन्यासको कथावस्तुमै रहेर पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको बताए । कतिपय पात्रको भूमिकालाई रिभर्स समेत गरेको उनले स्पष्ट पारे । 

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेशन नेपालय र भारतबाट पनि ‘र्‍याण्डम हाउस’ ले १२ वर्षअघि प्रकाशन गरेको थियो । यो क्रमलाई पछ्याउँदै उक्त उपन्यासको कोरियन, फ्रेन्च र सिंहली भाषाका अनुवाद पुस्तकहरू पनि प्रकाशित भइसकेका छन् नेपालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसै क्रममा गत वर्ष लेखक सुरज सुवेदीले यस पुस्तकलाई नाटकका रुपमा रुपान्तरण गरेका थिए । सुरजले गरेको रुपान्तरणमा आधारित दुइ घन्टाभन्दा लामो नाटकलाई विमल सुवेदीले निर्देशन गरेका थिए ।

थिएटर भिलेजको आयोजनामा यो नाटकलाई मण्डला थिएटरमा प्रस्तुत गरिएको थियो । त्यसै क्रमलाई निरन्तरता दिँदै मण्डला थिएटरमै यस पुस्तकको विमोचन आयोजना गरिएको हो । थिएटरमा हाल नाटक महोत्सव चलिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०७:५८