
क्विटो । इक्वेडरको एउटा अस्पतालमा प्रवेश गरी त्यहाँ उपचार गराइरहेका एक किशोरको ज्यान लिन खोज्ने सातजना बन्दुकधारी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको नियन्त्रणमा आउनु अघि उनीहरूले नर्सहरूलाई बन्धक बनाएका थिए । र, प्रहरीसँग गोली हानाहान गरेका थिए ।
सरकारी अधिकारीहरूले सम्पूर्ण बन्धकलाई मुक्त गराइएको र उनीहरूमध्ये कोही पनि घाइते नभएको बताएका छन् । आक्रमणको तारो बनाइएका १७ वर्षीय ‘डर्टी फेस’ नामक किशोर विपक्षी ग्याङका सदस्य हुनुपर्ने अनुमान गरिएको छ ।
अस्पतालको सघन कक्षमा उनको गोली लागेको चोटको उपचार हुँदै थियो । ती बन्दुकधारीले एक घन्टाभन्दा लामो समयसम्म अस्पतालका पाँच कर्मचारीलाई बन्धक बनाएको अर्का एक कर्मचारीले स्थानीय अखबार इल डियारियोलाई जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा आँखा मात्र देखिनेगरी टोपीले अनुहार छोपेका बन्दुकधारीहरूले अस्पतालको एउटा ढोकाबाट एकजना चिच्याइ रहेकी महिलालाई घचेट्दै गरेको र एकै छिनपछि उनलाई पुनः भवनभित्र घिसारेर लगेको देखिन्छ ।
पश्चिमी इक्वेडरको चोने सहरस्थित सो अस्पतालका अन्य कर्मचारीहरूले किशोरीको खोजीमा ती बन्दुकधारीहरू ढोका फोरेर भित्र पस्दा आफूहरू कोठामा ढोका थुनेर बसेको बताएका छन् ।
पछिल्ला केही वर्षयता इक्वेडरमा आपराधिक समूहका कारण हिंसा बढिरहेको छ । बीबीसीबाट