
ताइपेइ । ताइवानकी राष्ट्रपति साइ इन्ग–वेनले सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
उनले पार्टीले स्थानीय चुनावमा अपेक्षित सफलता देखाउन नसकेका कारण यो कदम चालेकी हुन् ।
शनिबार सम्पन्न स्थानीय चुनावमा विपक्षी राजनीतिक पार्टी कोमिङताङ राजधानी ताइपेइलगायत थुप्रै महत्वपूर्ण स्थानमा चुनाव जित्न सफल भएको छ ।
ताइवान चीन र संयुक्त राज्य अमेरिकाबीचको एउटा ठूला भूराजनीतिक समस्या विन्दु रहेकाले पनि यस चुनावप्रति विश्वको ध्यान आकृष्ट भएको हो ।
चीनसँगको तनाव बढिरहेका बेला राष्ट्रपति साइले यस चुनावलाई लोकतन्त्रका लागि मतदानको रूपमा प्रस्तुत गरेकी थिइन् ।
साइले भनेकी छन्, “चुनावकाे परिणाम अपेक्षित जस्तो भएन... मैले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । त्यसैले मैले डीपीपीकाे अध्यक्ष पदबाट तत्काल राजीनामा दिन्छु ।”
तर, उनले स्वशासित टापु राष्ट्र ताइवानको राष्ट्रपति पदलाई भने निरन्तरता दिने भएकी छन् । सैद्धान्तिक रूपमा स्थानीय परिषद् र मेयरहरूका लागि भएको चुनावका एजेन्डाहरू अपराध नियन्त्रण तथा रोकथाम, आवास समस्या समाधान र सामाजिक कल्याण कार्यहरू जस्ता आन्तरिक विषयमा केन्द्रित रहेका छन् । बीबीसीबाट