
डडेलधुरा । सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ११ वटाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । ११ मध्ये ६ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, ३ मा एकीकृत समाजवादी र २ मा नागरिक उन्मुक्ति पार्टीका उमेदवार विजयी भएका छन् । अन्य ४ क्षेत्रमा मतगणना जारी छ भने एक क्षेत्रमा विवाद हुँदा टुंगो लागेको छैन ।
को कहाँ विजयी ?
डडेलधुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । सातौँ पटक जित निकाल्ने क्रममा उनले स्वतन्त्र उमेदवार सागर ढकाललाई पराजित गरे । देउवाले २५ हजार ५३४ मत पाए । ढकालले १३ हजार ४२ मत पाए भने नेपाली कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाए ।
कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । २६ हजार २२० मत पाउँदै निर्वाचित भएका बलायरले एमाले सचिव लेखराज भट्टलाई पराजित गरे । भट्टले २२ हजार ६१३ मत पाए । दार्चुलाबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । उनी दुई हजार १३४ मतान्तरसहित निर्वाचित भएका हुन् । बडूले २८ हजार ५१५ मत ल्याएर एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरे ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार रमेश लेखक फराकिलो मतान्तरसहित विजयी भए । प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक विजयी भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाएका छन् भने पालले १८ हजार ४४८ मत पाएकी छन् ।
कञ्चनपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नारायणप्रकाश साउद निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् । लोकतान्त्रिक–वाम गठबन्धनबाट उमेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे । अछाम क्षेत्र नं. २ मा पनि कांग्रेसकै उमेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह २२ हजार ९५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गरे ।

यस्तै, सुदूरपश्चिममा रहेका १६ निर्वाचन क्षेत्रमध्ये गठबन्धनमा भागबन्डा गर्दा एकीकृत समाजवादीले तीन क्षेत्र पाएकोमा तीनवटै क्षेत्रमा जित निकालेको छ । अछाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवर १९ हजार ५३४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरे ।
बझाङमा पनि नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी विजयी भएका छन् । उनी २८ हजार ४१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐनबहादुर महरले २७ हजार ४१२ मत ल्याएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले ह्याट्रिक जित निकालेका छन् । ०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यसपटक एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।
यस्तै कैलाली क्षेत्र नम्बर ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टीबा गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा पनि रेशम चौधरीकी श्रीमती तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भइसकेकी छन् ।
अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ । बाजुरामा ४ गते स्थगित केही मतदान केन्द्रको मतदान १० मंसिरका लागि तोकिएको छ । मतगणना जारी क्षेत्रमध्ये कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका भगत बडुवालको अग्रता छ । उनलाई एमालेका झपट रावलले पछ्याइरहेका छन् । कैलाली–५ मा नेपाली कांग्रेसका डिल्लिराज पन्तको अग्रता छ भने एमालेका नारदमुनी रानाले पछ्याइरहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका तारा लामा तामाङको अग्रता छ । माओवादी केन्द्रकी वीना मगर सुरुदेखि पछाडि छन् । बैतडीमा एमालेका दामोदर भण्डारीको अग्रता छ भने माओवादी केन्द्रका नरेन्द्र कुँवर पछ्याइरहेका छन् ।