
नयाँदिल्ली । युवतीको हत्या गरी शवलाई एउटा एक्सप्रेस मार्गमा फालेको आरोपमा भारतमा प्रहरीले मृतककै अभिभावकलाई पक्राउ गरेको छ ।
उत्तरी राज्यको उत्तर प्रदेशको मथुरा सहर नजिक शुक्रबार प्लास्टिकले बेरेर एउटा रातो सुटकेसमा राखिएको अवस्थामा युवतीको शव फेला परेको थियाे ।
पक्राउ परेका युवतीका आमाबाबु ब्राजवाला र नितेशकुमार यादवले अझै कुनै बयान दिएका छैनन् । प्रहरीले आफूहरूले यस घटनालाई 'प्रतिष्ठाका लागि हत्या'को रूपमा लिइरहेको बताएको छ । वर्षाैँ पुराना रीतिरिवाज र परम्परा तोड्नेहरूलाई सजायको रूपमा परिवारबाटै हत्या हुने गरेका घटना भारतमा नियमित रूपमा सार्वजनिक हुने गरेका छन् ।
परिवारको सहमतिबिना बाहिरी समुदाय वा जात नमिल्नेहरूसँग प्रेम गर्ने कलिला युवायुवतीहरू यस्तो अपराधको सिकार हुने गरेका छन् ।
प्रहरीका अनुसार पीडित आयुषी चौधरी राजधानी दिल्लीस्थित एउटा निजी कलेजमा अध्ययनरत र दिल्लीमै आफ्नो परिवारसँग बस्दै आएकी थिइन् ।
सोमबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा प्रहरीले अर्को जातको एक युवकसँगको ती २२ वर्षीया आयुषीको विवाहको विषयलाई लिएर झगडा भएपछि १७ नोभेम्बर उनकै बाबुले उनको हत्या गरेको उल्लेख गरेको छ । साथै प्रहरीले आयुषीका आमाबाबुले उनको शव सुटकेसमा प्याक गरेर सोही रात यमुना एक्सप्रेस नजिक छाडेको दाबी गरेको छ ।
शव भेटिएको भोलिपल्टै गरिएको पोस्टमार्टमको परिणाममा युवतीको टाउको, अनुहार र शरीरका अन्य भागमा चोटको निशान भेटिएको र छातीमा दुई गोली हानिएपछि उनको मृत्यु भएको जनाइएको छ ।
प्रहरीले अनुमतिपत्र रहेको नितेशको बन्दुक र अपराधमा प्रयोग भएको बताइएको कार नियन्त्रणमा लिएको छ । बीबीसीबाट