site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाच्दै भोट माग्दै सीताराम, वृद्धभत्ताको ‘क्रेडिट’ लिँदै भीम आचार्य
Tiktok banner adTiktok banner ad

इटहरी (सुनसरी) । इटहरी वडा नम्बर ४ को चौधरी टोल । कोही थपडी बजाउँदै थिए त कोही हात हल्लाउँदै थिए । अलिपर सिटी सफारीमा चुनावी गीत बज्दै थियो । गीतभन्दा कार्यकर्ताको होहल्ला बढी थियो । बीचमा छमछमी नाच्दै थिए, उमेदवार सीताराम मेहता ।
 
मेहता छमछमी नाच्दा कार्यकर्ताले थप उत्साह थपिरहेका थिए । मेहताले छेउमै थपडी बजाउँदै गरेका एक स्थानीय मतदातालाई पनि आफूसँगै ताने अनि सँगै नचाए । 

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार सीताराम मेहताको यो चुनावी प्रचार शैलीले अहिले सबैको ध्यान तानेको छ । उनी जहाँ जहाँ चुनाव प्रसार गर्न पुग्छन् । त्यहाँको माहोल तताउँछन् । गीत गाउँदै थपडी बजाएर कार्यकर्ता र मतदातासँगै यसरी नै छमछमी नाचिदिन्छन् । 

सीताराम उमेरले ६६ कटिसके । तर, जोश घटेको छैन । घरदैलोमा हिडँदा उनलाई भेट्न कार्यकर्तालाई हम्मेहम्मे पर्छ । उनको भोट माग्ने शैली पनि बैग्लै छ । घरदैलोमा हिँड्दा बाटोमा भेटे जति सबैसँग हात मिलाउँछन् । मतदाताको घरभित्रै पस्छन् । उमेर अनुसार साइनो लगाउँछन् । अलि उमेरले बुढापाका भेटे कसैका खुट्टा, कसैको हातमै ढोगिदिन्छन् । 

जस्तो मान्छेलाई भेटे उस्तै बनिदिन्छन् । युवा भेटे गला मिलाउँछन् । अनि भन्छन् ‘के छ यार ? यस पाली त भोट हाल्नुपर्छ नि !’ उनको यो चुनावी प्रचार शैली सबैलाई आश्चर्य पार्ने खालको छ । तर, उनलाई नजिकबाट चिन्नेहरू यो उनको पुरानै शैली भएको बताउँछन् ।
 
नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी मेहताको जोशिलो शैली पुरानै भएको बताउँछन् । अघिल्लो निर्वाचन पनि यस्तै शैलीबाट प्रचारमा हिँडेको सभापति भण्डारीले बताए । साधारण जीवन शैली र सबैसँग मिलानसार हुने उनको छुट्टै पहिचान भएको भण्डारी सुनाउँछन् । ०७४ को निर्वाचनमा, “गरिबका नेता सीताराम महेता” को नारा लगाउँदै मेहता मत माग्न हिँडेका थिए । यस पटक उनले यो नारा लगाएका छैनन् । तर, त्यो जोशिलो शैली भने छाडेका छैनन् । 

जोशिलो शैलीले मत माग्दै हिँडेका मेहता आफूसँग ठूलो एजेण्डा नभएको बताउँछन् । इटहरी वडा नम्बर १८ मा घरदैलो गर्दै भेटिएका मेहताले भने, “ मलाई जनताले धेरै ठूलो कुरा भनेको थिएनन् । सानोसानो कुराहरू भनेका थिए ।  कृषिमा उत्पादन वृद्धि गर्न सिचाई, आधुनिकीकरण, यान्त्रीकरण, स्वास्थ्य शिक्षा, सडक, बाटो बनाउन मागेका थिए ।”

अघिल्लो पाँच वर्षमा धेरै ठाउँमा मठमन्दिर, विद्यालयको भवन निर्माण गरेको उनी बताउँछन् । केही सडकको ठेक्का लागेको र केही बाँकी रहेको उनी बताउँछन् । ती पूरा गर्न मत माग्दै घरदैलोमा गइरहेको मेहताले बताए । उनका चुनावी ऐजेण्डा यही हो । 
 
शक्ति प्रर्दशन गर्दै आचार्य 
यसअघि दुई पटक चुनाव जितेका सीताराम तेस्रो पटक चुनाव लड्दै छन् । उनको ‘ह्याट्रिक’ गर्ने योजना छ । तर, यसपटक उनलाई त्यति सहज छैन । उनका प्रतिपर्धी हुन नेकपा(एमाले)का पूर्व केन्द्रीय सचिव नेता भीम आचार्य । उनी प्रदेश–१ का पूर्वमुख्यमन्त्री पनि हुन् ।
 
०७४को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ को १ बाट चुनाव लडेका आचार्य यस पटक क्षेत्र परिवर्तन गर्दै २ नम्बरमा पुगेका छन् । आचार्यले जित्नैका लागि क्षेत्र परिवर्तन गरेको एमालेकै नेताहरू बताउँछन् । आचार्य पनि खस्किएको आफ्नो छवि उकास्न जित निकाल्नै पर्ने दबाबमा चुनावी प्रचारप्रसारमा छन् ।
 
उनी पनि कार्यकर्ताको ठूलो दलबलसहित घरदैलो गरिरहेका छन् । आफ्नो एजेण्डा सुनाउँदै मत मागिरहेका छन् । आचार्यले प्रचारप्रसार गर्ने टिम मै आफ्नो शक्ति प्रर्दशन गरेको देखिन्छ । इटहरीको वडा नम्बर २० को तरहरा बजार हुँदै भवानीपुरतर्फ बढेको उनका घरदैलो टिम हेर्दा यस्तै देखिन्थ्यो ।
 
ठूलो संख्यामा कार्यकर्ताको सहभागिता, सिटी सफारीको लामो लाइन, मोटरसाइकल, अनि गाडीका लस्करले विजय र¥यालीको झल्को दिन्थ्यो । घरदैलोमा हिँडेका आचार्यले सडकका बीच चोक तथा गौँडामा उभिएर आफ्ना एजेण्डा सुनाउने गरेका छन् । पूर्वाधार विकासलाई आचार्यले आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । प्रदेश र संघमा एमालेको सरकार बनाउन सके आधारभुत रुपले व्यवस्था र अवस्था परिवर्तन गर्ने आचार्यको भनाइ छ । 

देशको परितर्वनको चाहनालाई पूरा गर्न पूर्वाधार विकास नै पहिलो प्राथमिकता हुने उनले सुनाए । इटहरी वडा नम्बर २० को चुनावी प्रचार सभालाई सम्बोधन गर्दै आचार्यले भने, “सुनसरी जिल्लाको रुपान्तरणकारी परिवर्तनका लागि विशेष योजना, मार्गचित्रसहित पूर्वाधार विकास गर्नुपर्छ । सडक, शिक्षा, स्वास्थ्यका क्षेत्रमा हामी, हाम्रो टिमले काम गर्नेछौँ ।”
  
आचार्यले सामाजिक सुरक्षाको कुरा पनि उठाए । “तपाईंहरुले भत्ता त लिँदै हुनुहुन्छ नि । त्यो एमालेले दिएको हो । हामीले दिएको हो । अब हामी त्यसलाई अझ व्यवस्थित गर्छौं,” उनले भने ।

आचार्यले आफ्ना एजेण्डाभन्दा पनि सामाजिक सुरक्षाको कुरालाई बढी जोड दिएका छन् । वृद्धभत्तालाई एमालेले दिएको भन्दै त्यसको क्रेडिट लिन दोहोर्याएर सोही कुरा बताइरहेका छन् । वडा नम्बर २० मा मात्रै नभएर आचार्यले अन्य वडाका सभामा पनि सो कुरा बताउने गरेका छन् । 

सुनसरीमा एमालेले जनता समाजवादी पासर्टीसँग तालमेल गरेको छ । जसपाको मत पाउने आशामा आफ्नो विजय हुने आचार्यको विश्वास छ । आफ्नो गृहक्षेत्र साथै राजनीतिक क्षेत्र भएकाले जनताले मत दिने आचार्यको विश्वास छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro