site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वसहकर्मी द्वारिकलाल र रेवतीरमण आमने–सामने

इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट प्रदेशसभा सदस्य पदको उमेदवार रहेका द्वारिकलाल चौधरी आसन्न निर्वाचनमा आफू विजयी हुने जिकिर गर्छन् । उनी केही समयअघि नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका थिए । मनोनयन दर्ता गराउनेभन्दा अलि दिनअघि माओवादी केन्द्रमा प्रवेश गरी टिकट पाएका हुन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा उनी अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । चौधरी जहाँ जहाँ पुग्छन्, त्यहाँ ‘इटहरीको पूर्वमेयर मै हो’ भन्दै भोट माग्छन् । घरअगाडिको बाटो आफैँले बनाएको भन्दै भोट दिन आग्रह गर्छन् ।

बिहीबार मत माग्दै इटहरी उपमहानगरपालिका–२ मा पुगेका उनले एक मतादातालाई हातमा टाउकोले ढोग्दै भने, “मै हो हजुर द्वारिकलाल, पूर्वमेयर । यसपटक प्रदेशमा उठेको छु, भोट दिनुपर्‍यो । हिजो मेयर हुँदा सडक, बाटो बना’को देख्नुभा’कै छ । अब अरू के भनौँ ।”

इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर चौधरीले त्यसैलाई आफ्नो निर्वाचन प्रचारको आधार बनाएका छन् । मेयर हुँदा गरेको कामको मूल्यांकन गर्दै जनताले आफूलाई मत दिने उनको जिकिर छ ।

मेयरको पाँचवर्षे कार्यकालमा इटहरीका २० वटै वडाका गाउँगाउँमा कालोपत्र सडक बनाएको उनी बताउँछन् । २० वटै वडालाई जोड्ने ‘लिंक रोड’ र ‘रिङ रोड’लाई कालोपत्र गर्दै ‘रोड कनेक्टिभिटी’ले जोडेको उनको भनाइ छ ।

उनले भने, “मैले मेयर हुँदा इटहरीका गाउँगाउँमा कालोपत्र बाटो बनाएको छु । लिंक रोड र रिङ रोड कालोपत्र भएको छ । बहुवर्षीय योजनाअनुसार धेरै ठूलाठूला परियोजनाहरू सञ्चालन भएका छन् । यो सबै देखेका जनताले मलाई भोट नदिएर कसलाई दिन्छन् ?”

विपक्षीलाई गाली 
द्वारिकलाल चौधरी अरूलाई गाली गरेर विवादित बनेका नेता हुन् । मेयर हुँदा उनी कहिले ‘पत्रकारको नाकको डाँडी भाँच्ने’ त कहिले ‘लोपार्नेकाण्ड’बाट निकै विवादित बनेका थिए । महिलाका विषयमा पनि उनको अभिव्यक्ति विवादमा परेको थियो ।

अहिले उनी नेकपा (एमाले)का नेता–कार्यकर्तालाई गाली गरिरहेका छन् । भीम आचार्य, रेवतीरमण भण्डारी र लक्ष्मी गौतमप्रति उनले आक्रोश पोख्ने गरेका छन् । उनीहरूले नै हिजो मेयरमा असफल बनाउन खोजेको उनको आरोप छ । ‘ठाउँ फेर्दै जनता झुक्याउने’ नेता भन्दै चौधरीले आचार्यको कटु आलोचना गर्ने गरेका छन् ।

संविधान निर्माण गरेको ‘क्रेडिट’ 
यसै क्षेत्रबाट प्रदेशसभा सदस्य पदको उमेदवार रहेका एमालेका उमेदवार रेवतीरमण भण्डारी पनि आफू विजयी हुने जिकिर गर्छन् । दोस्रो संविधानसभा सदस्य समेत रहेका भण्डारी संविधान लेखनका क्रममा आफूले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँछन् । अहिले सोही कुरा उनी मतदातालाई सुनाइरहेका छन् ।

भोट माग्दै मतदाताको घरदैलोमा पुगेका बेला भण्डारी संविधान निर्माणका क्रममा गरेका कामबारे जानकारी गराउँछन् । त्यति बेला आफूले गरेको कामको मूल्यांकन मतदाताले गर्ने भण्डारीको विश्वास छ ।

इटहरी–१२ मा आयोजित चुनावी सभामा भण्डारीले देशको आर्थिक समृृद्धिका लागि एमालेलाई भोट दिनुपर्ने बताए । देशलाई आर्थिक हिसाबले समृद्ध बनाउन एमालेको सरकार नै चाहिने भण्डारीको भनाइ छ । विपक्षी गठबन्धनले समस्याको समाधान नगर्ने उनको तर्क छ ।

जनताप्रति समर्पित साझा व्यक्तिलाई मत दिनुपर्ने उनी बताउँछन् । “व्यक्तिगत जीवनभन्दा पनि साझा जीवनका लागि लागेको व्यक्ति भएको हिसाबले पनि अन्य उमेदवारलाई भन्दा मलाई भोट दिनुपर्छ,” उनले भने ।

थारु समुदायको मत कता जाला ? 
यस क्षेत्रमा माओवादी केन्द्रको आफ्नै प्रभाव त्यति छैन । थारु समुदायको मत आफ्नो पक्षमा पार्ने चौधरीको योजना छ ।

एमालेका उमेदवार भण्डारीको पनि थारु समुदायमा राम्रो प्रभाव देखिन्छ । भण्डारीले थारु समुदायको मत समेत पाउने थारु अगुवाहरू नै बताउँछन् ।

कांग्रेसको मत निर्णायक 
गएको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरको मेयर जितेकाले नेपाली कांग्रेसका नेता–कार्यकर्ता उत्साहित थिए । तर, सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ र ३ का प्रदेशसभा ‘क’ मा कांग्रेसका उमेदवार छैन्न । यी दुवै क्षेत्रमा कमजोर ‘पोजिसन’मा रहेको माओवादी केन्द्रका उमेदवार छन् ।

आफ्नो उमेद्वार नहुँदा कांग्रेसलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चौधरीलाई जिताउनुपर्ने बाध्यता छ । कांग्रेसको मत जसले पाउँछन्, उही उमेदवार विजयी हुने अवस्था छ ।

कांग्रेसले योपटक इमानदारीपूर्वक गठबन्धनमा भोट हाल्ने कांग्रेसका इटहरी नगर सचिव विक्रम घिमिरले बताउँछन् । निर्वाचन प्रसारप्रसारका क्रममा पनि कांग्रेसका सबै तहका कार्यकर्ताहरूको उत्साहपूर्वक सहभागिता  देखिएको उनको भनाइ छ ।

अंकगणित 
सुनसरी–२ ‘क’ मा इटहरी उपमहानगरपालिकाका १, २, ३, ४, ५, १६, १७, १८, १९ र २० नम्बर वडा पर्छन् । रामधुनी नगरपालिकाका ३ र ५ नम्बर वडा समेत सोही क्षेत्रमा पर्छन् ।

सुनसरी–२ ‘क’ मा १२ वडा छन् । तीमध्ये नौवटा वडा एमालेले जितेको छ । तीनवटामा कांग्रेस विजयी भएको छ । इटहरीमा पर्ने १० वडामध्ये एमालेले आठ र कांग्रेसले दुई वडा जितेको छ । रामधुनीमा कांग्रेस र एमालेले एक/एक वडा जितेका छन् ।

गएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनतर्फका वडाध्यक्ष पदका उमेदवारहरूले कुल २१ हजार ४१६ मत पाएका थिए । एमालेका वडाध्यक्ष पदका उमेदवारहरूले २१ हजार ४०१ मत ल्याएका थिए । यसरी हेर्दा सत्ता गठबन्धन र एमालेको मत बराबरजस्तै देखिन्छ । तर, त्यति बेला कांग्रेसको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) अहिले एमालेसँग चुनावी तालमेलमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro