site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं–२ को अभिभावक बन्न चाहन्छु 

समाजसेवी, उद्यमी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री कुन्तीदेवी पोखरेल आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेकी छन् ।

घरदैलो कार्यक्रममा व्यस्त पोखरेलसँग उनको चुनावी अभियान, एजेन्डा र उमेदवारीबारे गरिएको कुराकानीको सम्पादित अंश :

चुनावी गतिविधि कसरी अघि बढाइरहनुभएको छ ?

स्थानीय बासिन्दाको गतिविधि नजिकबाट हेर्ने मौका पाएको छु । समानुपातिकमा उठ्नुभन्दा प्रत्यक्षमा उठ्दाको फाइदा भयो, मलाई । यहाँको जनजीवनमा भित्र बसेर बुझ्न पाएको छु, त्यसैमा खुसी लागेको छ ।

घरदैलो गरिरहँदा राजनीतिप्रति जनताको वितृष्णा बुझ्न पाएँ । ‘नो भोट’, मत नदिने भन्ने कुरा गर्नुभयो, कतिपय मतदाताले । हामी त यो पार्टी हौँ नि, नयाँ हौँ नि, खोइ हामीलाई दिनुभएको छैन भनेपछि खुसीसाथ स्वागत गर्नुभएको छ । बूढाबूढीले पनि नो भोट भन्नुभयो । तर, हामी राप्रपा हो भनेपछि बल्ल सुन्नुुभयो । नभए त बोल्दा समेत नबोल्ने मतदाताहरू पनि भेटिए ।

झन्डा नबोकी घरदैलो गर्दा सुरुमा मतदातालाई आफ्ना कुरा भन्न केही असहज पनि भयो । तर, राप्रपा भनेपछि खुसी भएर हामीसँगै घरदैलो कार्यक्रममा हिँड्ने जनता पनि धेरै भेट्यौँ ।

मतदाताले तपाईंलाई जिताउनुपर्ने आधार के छ ? 

म यो दुई नम्बर क्षेत्रकै स्थानीय बासिन्दा हुँ । युवा पनि हुँ र वर्षौँदेखि समाजसेवामा लागेको थिएँ । साथै, महिला उद्यमशीलतामा लागेर विभिन्न किमिसका उद्यमशीलता, तालिम र उद्यमी अभियानमा लागेको लामो समय भइसक्यो । राजनीति नगरे पनि, त्यो ठाउँमा नपुगे पनि त्योभन्दा बढी काम मैले गरेको छु । म कम बोलेँ, कम मिडियामा छाएँ होला, तर मेरो क्षेत्रको लागि काम धेरै गरेको छु ।

मैले उमेदवारी किन दिए भने, यस क्षेत्रका मानिस अवसरबाट वञ्चित भए । बाहिरबाट आएकाले उठिदिने, उहाँहरू प्रधानमन्त्री, मन्त्री भइसक्नुभयो । तर, यो क्षेत्रको अभिभावक को हो त भन्ने कुरा अहिलेसम्म चिन्न सक्नुभएको छैन ।

एउटा समस्या पर्‍यो भने, एउटा विकासको कुरा उठाउनुपर्‍यो भने कहाँ भन्न जाने भन्ने अन्योलमा हुनुुहुुन्छ । तिमीहरू आउछौँ– जान्छौँ भन्ने यहाँका जनताको गुनासो हो । तर, म त यहीँ बस्छु । यहाँको विकासदेखि संसद्मा गरिने नीति निर्माणको कुरा म गर्नेछु ।

तपाईंको चुनावी एजेन्डा के–के छन् ?

भ्रष्टाचारी, देशद्रोही, बलात्कारी मानव बेचबिखनजस्ता अपराधीलाई कानुनी दण्ड दिने, सनातन धर्म र मौलिक सत्य रक्षाको लागि कानुन निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने, ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धन गर्ने, नेवाः संस्कृतिको संरक्षण र साँखु–जोरपाटी सडकखण्ड चाँडोभन्दा चाँडो पिच गर्नेलगायत कुरा केही प्रमुख एजेन्डाहरू मेरा छन् ।

काठमाडौं क्षेत्र नम्बर–२ का स्थानीयको समस्या के रहेछ ?

शंखरापुरको नाङ्लेभारीको १ र २ वडा एकदमै विकट छ । म त्यहाँ हिँडेरै गएको थिएँ । मूल सडकको बाटोमा समेत गाडी धकेल्नुपर्छ । चार–पााच दिन हिँड्दा त म बिरामी नै भएँ । बेस्सरी ज्वरो नै आएको थियो । यस्तो स्थिति कि एउटा गाडी पनि चल्न नसक्ने बनाइयो, हाम्रोमा । विकास समिति छन्, बजेट छ, तर राजधानीभित्रकै सडक पिच भएको छैन । भक्तपुरले राम्रो विकास गरेको छ । हाम्रो क्षेत्र पनि पर्यटकीय दृष्टिकोणले राम्रो छ । हिमालको मुन्तिर देखिन्छ । तर, बाटो हेर्नुभयो भने आउन पनि मन लाग्दैन ।

मैले शंखरापुुरमा वृद्धवृद्धाको सहजताको लागि एम्बुुलेन्स दिएको थिएँ । तर, त्यो एम्बुलेन्स घरमा पुग्ने बाटो छैन । अस्ति एकजना स्थानीय बुबा एम्बुलेन्स समयमै नपाएर बित्नुभयो । मैले गाडी दिएर मात्र त भएन, जब बाटो नै बनेको छैन भने । मुख्यतः यहाँको विकास गर्ने मान्छे चाहियो । त्यसैको लागि मेरो उमेदवारी हो । म यो क्षेत्र पनि बनाउँछु र संसद्मा पुगेर नीति–नियम पनि बनाउँछु ।

तपाईंको योजनाचाहिँ के छ ?

युवालाई विदेश जान नपरोस् भन्ने मेरो सोच छ । उनीहरूलाई रोजगारी उपलब्ध गराउने नीति बनाउन चाहन्छु ।

उदाहरणको लागि, सरकारले कुनै लगानी गरेर उद्योग खोलिदियो भने, लगानीकर्तालाई ५० प्रतिशत दियो भने त्यो उद्योग संरक्षण गर्ने सरकारको दायित्व हुन्छ ।

तर, अहिलेको अवस्था लगानीकर्ताले लगानी गर्ने र सरकारले त्यसलाई कसरी बन्द गराउने भन्ने नीतिमा देखिन्छ । त्यो कारखानाबाट उत्पादन भएको सामानभन्दा भारत र चीनबाट कसरी सस्तोमा ल्याउने भन्नेमा सरकार तल्लीन देखिन्छ । त्यसैले युवा विदेशिन बाध्य हुनुुपर्‍यो । यसपटक म परिवर्तन चाहन्छु । मेरा बालबच्चाहरू विदेशमा बस्न नपरोस् । मेरा बालबच्चाले यही देशमा काम गरेर खान सकून् । त्यसैको लागि मेरो उमेदवारी हो ।

प्रतिनिधिसभामा त नीति–नियम बनाउने हो, विकास पनि गर्छु भनिरहनुभएको छ, त्यो कसरी सम्भव होला ?
विकासको कुरा यसमा जोडिन्छ नै । विकासका कुरा हेर्ने संसद्ले नै हो । संसदीय विकास समिति हुन्छ । त्यससँग विकास र पूर्वाधारका कुराहरू प्रत्यक्ष जोडिन्छन् । त्यसमा सबै कुरा हेरिन्छ ।

कहाँबाट बजेट निष्कासन हुन्छ, त्यो सबै समितिलाई जानकारी हुन्छ । कोटेश्वरदेखि साँखुसम्मको बाटोको लागि बजेट छुट्ट्याएको छ, तर बाटो बनेको छैन । त्यो कसले हेर्ने ? मैले जितेँ भने त्यस क्षेत्रको नाममा छुट्ट्याएका बजेट र भइरहेको निर्माणलाई छिटो गर्न सम्बन्धित निकायको ध्यानाकेन्द्रित गराउँछु ।

सत्ता गठबन्धनबाट ओनसरी घर्ती, एमालेका मणिराम फुयाँलसहित यो क्षेत्रमा पार्टीबाट २० र १० स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा हुनुहुन्छ, जित्छु जस्तो लाग्छ तपाईंलाई ?

म मेरो प्रतिस्पर्धामा कोही पनि देख्दिनँ । कतिपय उमेदवारले यस क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गरिसक्नुभएको छ ।

उहाँहरूको उपस्थितिमा यस क्षेत्रमा के भएको छ, त्यो त जगजाहेर नै छ । एमालेको उमेदवारले पनि संसद्मा प्रतिनीधित्व गरिसक्नुुभयो ।

उहाँले कस्तो नीति निर्माण गर्नुभयो ? जितेपछि एकजना मतदाताको घर पनि पस्नुभएको छैन । जनताको सांसद बनेर गएपछि जनताको सुखदुःख पनि हेर्नुपर्‍यो नि त । एउटा परिवर्तन त ल्याउनुपर्‍यो नि । मणिरामजी स्थानीय भए पनि के उहाँ नाङ्लेभारी पुग्नुभयो त ? थलीबाट अलिकति माथि पुग्दा समेत बाटो छैन ।

मठमन्दिरको हालत त्यस्तै छ । भूकम्पले ढलेको मन्दिर अहिलेसम्म बनेको छैन । यी कुराको लागि बजेट आउँछ । तर, यहाँ उहाँले यो काम गर्नुभयो है भन्ने जनता कोही पनि भेटिन्न ।

गठबन्धनको उमेदवारको त के कुरा गर्ने ! उहाँले आफ्नै ठाउँ रोल्पा, रुकुमको विकास गरेको भए भागेर यो ठाउँमा आएर उमेदवारी दिनु पर्दैनथ्यो होला । 

आफ्नै गाउँठाउँबाट दिनुहुन्थ्यो होला । फेरि, यहाँबाट भागेर अन्त जानु हुन्न भन्ने के ग्यारेन्टी छ र ? स्वतन्त्रको कुरा गर्दा पनि नाम मात्रैको स्वतन्त्र बढी देख्छु । नीति निर्माणको लागि बहुमत चाहिन्छ । सबैभन्दा बढी उमेदवार हाम्रै पार्टीले दिएको छ । हामीले बहुमत ल्याउँछौँ भन्नेमा मलाई पूर्ण विश्वास छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro