site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बदनाम र शून्यमा पुगेको पार्टीलाई निर्णायक शक्ति बनाउनुछ 

२०७४ को निर्वाचनबाट वर्तमान राज्यव्यस्था विरुद्ध फरक विचारधारको नेतृत्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिटमा खुम्चियो । 

झापा क्षेत्र नम्बर ३ बाट राजेन्द्र लिङ्देनले मात्र चुनाव जित्दा पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सकेन । 

०७४ को निर्वाचन जित्न लिङदेनले वाम गठबन्धनसँग तालेमेल गरे जबकी पार्टीले देशभर कांग्रेससँग गठबन्धन गरेको थियो ।  उनले कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरे र सांसद बने ।

Dabur Nepal
NIC Asia

पाँच वर्ष पश्चात् मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।  तर, राजनीतिक परिस्थिति ०७४ को निर्वाचन जस्तो छैन । वाम गठबन्धनमा माओवादी र एमाले एकजुट छैन । तर, लिङ्देनले एमालेसँगको गठबन्धन तोडेका छैनन् । विगतमा तीनचिरा परेको राप्रपा एक भएर भएको एकता महाधिवेशनबाट उनी पार्टी अध्यक्ष छन् भने राप्रपा छोडेर पूर्वअध्यक्ष कमल थापा हिँडिसकेका छन् । 

दोस्रो कार्यकाल निर्वाचित सांसद हुने ध्येयमा रहेका लिङ्देन चुनावी प्रचारमा व्यस्त छन् । 

इतिहासमा बिग्रिएको बदनाम र शून्यप्राय अवस्थामा पुगेको पार्टीलाई पुनर्जीवन दिनुपर्ने जिम्मेवारी आफूसँग भएको उनी आफैँ बताउँछन् । 

सनातन धर्मसहित हिन्दु राज्य र राजसंस्था फर्काउने अभियानलाई सफल बनाउँदै प्रदेश खारेज गर्नुपर्ने जिम्मेवारी आफूमा भएको उनी बताउँछन् । 

उनको भिडन्त कांग्रेस नेता कृष्ण सिटौलासँग हुँदैछ । उनै लिङ्देनसँग झापा पुगेर बाह्रखरीकर्मी रोमन आचार्यले संवाद गरेका छन् । प्रस्तुत छ संवादको सम्पादित अंश :

घरदैलो कार्यक्रममा हुनुहुन्छ । प्रतिष्पर्धी पुनः उही अनुहार कृष्ण सिटौला हुनुहुन्छ । चुनाव जित्ने रणनीति के छन् ? 

उहाँले नेपालको राजनीतिमा एउटा प्रवृत्तिको नेतृत्व गर्नुहुन्छ म अर्को प्रवृत्तिको नेतृत्व गर्छु । लालु यादवले विहारको नेतृत्व गर्ने बेलामा अपनाएको शैली उहाँले अपनाउनुभएको छ । 

नेपालको राजनीतिमा बिहारी शैलीको नामले परिचित त्यो शैलीमा चुनाव आएको बेला मासु चिउरा बाँड्ने, पैसा, साडी कपडा बाँड्ने अर्थात् खर्च गर्ने र पाँच वर्ष सत्तामा मोजमस्ती गर्ने यादवको नीति थियो सोही नीतिको प्रतिनिधित्व उहाँबाट हुन्छ । 

समग्रमा नेपालको राजनीतिमा भ्रष्टाचारलाई संस्थागत गर्ने, अपराधिकरणलाई संस्थागत उहाँबाट भयो । 

जुन् प्रवृत्तिको विरुद्धमा म छु । उहाँसँगै मैले सुशासन र विकास तथा समृद्धिको पक्षमा आवाज उठाइरहेको छु । 

उहाँलाई चुनावी मैदानमा सामना गर्न पाउनु तथा भेट्न पाउनु खुसीको कुरा हो । 

वैचारिक धराताल फरक भयो, रोचक हुने भयो हैन त चुनाव ? 

हो, वैचारिक दृष्ठिकोणले हामी फरक धारको प्रतिनिधित्व गर्छौं ।  सनातन मूल्य मान्यता तथा धर्मको रक्षा गरेर देश अघि बढ्न सक्छ भन्ने मान्यताको प्रतिनिधित्व म गर्छु । 

उहाँ सनातन मूल्य मान्यताको विपक्षमा हुनुहुन्छ र धर्मनिरपेक्षताको संस्थापक भनेर कुरा हिँड्नुहुन्छ । 

माओवादीलाई उहाँले शान्ति सम्झौतामा ल्याउनुभयो कि भएन अथवा कुनै प्रभुको आदेशमा यो चिजहरु भए छुट्टै बहसको विषय हो । अहिले हामी मैदानमा छौं आवश्यक समीकरण रोचक बन्छ नै । 

गाउँघर डुल्दै हुनुहुन्छ । माहोल कस्तो पाउनुभयो ? 

राप्रपाको पक्षमा उपयुक्त माहोेल बनेको छ । जनता हामीलाई मतदान गर्न उत्साहित र लालायित छन् । अपार जनसमर्थन हाम्रो पक्षमा जुटेका छन् । 

जनताको चाहाना के रहेछ, घर घर पुग्दा जनताले तपाईंसँग के अपेक्षा गरेका छन् ? 

अघिल्लोपटक भौतिक पूर्वाधार विकासलाई जनताले प्राथमिकता दिएका थिए । ती कामहरु अझै केही पूरा गर्नुछ । 

यिबाहेक जनताको चाहना अलि परिवर्तन भएको छ । अघिल्लो पटक बाटो पुल कलभर्ट, हात्तीबाट सुरक्षाको कुरा उठाएका थिए । यसपटक माथि उठेर शिक्षा, स्वास्थ्य, रोजगारीतर्फ हाम्रो जनप्रतिनिधिहरुले ध्यान दिनुपर्छ र त्यसतर्फ संसद्मा आवाज उठ्नुपर्छ भन्ने माग जनताको छ । 

चुनाव जित्न ०७४ जस्तै विचार नमिल्ने पार्टीको सहारा लिनुभएको छ । विचारधाराको हिसावले यो अप्राकृतिक देखिन्छ होइन र ?

प्राकृतिक नभए पनि यसलाई अप्राकृतिक भन्न मिल्दैन । ०७४ को निर्वाचन देखिनै दलहरुले कुनै न कुनै किसिमको गठबन्धन बनाएर चुनावमा भाग लिएका छन् । 

यो पटक सत्ता गठबन्धन बनेर पाँच दल आए । गठबन्धनमा टाउको मोल तोक्ने देखि तोकिनुपर्ने मानिसहरु एक ठाउँमा छन् । 

नेपालको राजनीतिमा विदेशीहरुलाई सहयोग गर्नेगरि सरकार बनाउने र सोहीअनुसार गठबन्धन बनाउने मात्र होइन विदेशीको इसारामा नीति कानुन बनाउने काम भइरहेको छ । 

विदेशबाटै गठबन्धन देखि मन्त्री बनाउन चुनाव जिताउने सम्म खेल भइरहँदा देश भन्दा माथि कोही छैन, राष्ट्रियता सुशासन र विकासको सवालमा आवश्यकताअनुसार आंशिक तालमेल गरेका हौं । एक अर्काको सहयोगले जित्ने ठाउँमा तालमेल गरेर अघि बढेका हौं । राष्ट्रियता र जनताको सार्वभौमिकताका बचाउन फरक फरक विचारधारा भए पनि एक ठाउँमा उभिएका हौं । 

एमाले फुटेको छ, माओवादी अर्कोतिर गइसक्यो । ०७४ को स्थिति त पक्कै अहिले छैन । तपाईं सुरक्षित हुनुहुन्छ र ?

०७४ को तुलनामा चुनाव जित्न अहिले मलाई सहज छ । पाँच वर्षअघि गठबन्धनको सहयोग भएपनि म आफै परिक्षामा परेको थिइन । 

मान्छेले गठबन्धन र म प्रति विश्वास गरेका थिएनन् । पाँच वर्षमा कोरोना बाहेकको २ वर्ष मज्जाले काम गरेको छु । 

छोटो समयमा पनि पूर्वाधार विकासमा जुन काम गरे २५ वर्षमा नभएका कामहरु अहिले भए । 

यसले राजेन्द्र लिङदेनले पायो भने काम गर्छ भन्ने वातावरण बन्यो । संगठन गर्न पाए र गणितको हिसावले पनि हिजोको भन्दा आजको पार्टी हैसियत माथि उठेको छ । 

गठबन्धन विश्वासिलो छ र ? बागी पनि उठेका छन्, समस्या त तपाईंलाई नै पर्ने देखियो हैन र ?

एमाले र राप्रपा गठबन्धनमा इमान्दार छन् भन्ने कुरा अघिल्लो चुनावले प्रमाणित गरेको छ । त्यसकारण यो चुनावमा मत बढेर आउँछ । केही मानिसहरु यता उता गरेका छन् । 

उनीहरु कारवाहीमा परेका छन् । एमालेको पूर्व कार्यकता जो चुनावमा उठ्नुभएको छ उहाँ कारवाहीमा पुरिसक्नु भएको छ । 

त्यसकारण यहाँ बागी भन्ने कोही छैन । उहाँले मलाई समस्या गर्नुहुन्न । स्वतन्त्रहरुको बारेमा मैले केही भनिन् बरु त्यसले सकारात्मक सहयोग गर्नेछ । 

घोषणापत्र प्रदेश खारेजी गरौं भनेर लेख्नुभयो । २ तहको सरकार भन्नुभएको छ । भाषणमा चाहिँ प्रदेशमा उठाएका उमेदवार जिताऔं भन्दै हिँड्नुभएको छ.....

प्रदेश खारेजीमात्र होइन संसदीय निर्वाचन प्रणाली पनि सुधार गरौं भनेर घोषणापत्रमा लेखेका छौं । 

महंगो निर्वाचन प्रणालीको खारेजी,अहिलेको संसदीय स्वरुपको कारण स्थीर सरकार सञ्चालन हुन सकेको छैन । 

२०४६ पश्चात् पाँच वर्ष सरकार नचल्नुमा निर्वाचन प्रणालीको पनि उत्तिकै दोष भएकाले निर्वाचन प्रणाली सुधारका कुरा गरेका हौं । 

तर, संसदीय निर्वाचनबाट अलग भएका छैनौं । हामीले जबसम्म संविधान परिवर्तन निर्णायक शक्ति प्राप्त गर्दैनौं तबसम्म संविधानसँग सहकार्य गरेर जाने हाम्रो नीति छ । 

त्यसैले प्रदेश निर्वाचनमा भाग लिएका हौं । हामीले प्रदेश र प्रतिनिधि सभामा बहुमत हासील गरे प्रदेश खारेज गर्नेछौं । सुधार गर्ने शक्ति प्राप्त नभएसम्म प्रदेश समेत लडिरहन्छौं । 

गणतन्त्र स्थापना पश्चात् जनमत पाउँदा सत्तास्वार्थले तपाईंहरुलाई छोप्यो र कमजोर बनायो । यो चुनावले पार्टीलाई कहाँ पुर्याउँदैछ ? 

राप्रपाले इतिहासबाट निर्मम शिक्षा लिएको छ । घोषणापत्रमै हामीले सत्ताकेन्द्रित राजनीति नगर्ने उल्लेख गरेका छौं..

सरकारमै नजाने भनेको हो ? 

हामीले सरकारमा नजाने कसम खान मिल्दैन र खाएको हैन । औचित्यको आधारमा मात्र सरकारमा जान्छौं । 

हाम्रो परिचय चाहिँ राप्रपा जुनसुकै अवस्थामा जसले सरकार बनाए पनि सत्तामा जान्छ, सत्तामा जान तयारी अवस्थाममा छ भन्ने थियो । अब त्यस्तो हुँदैन । 

औचित्य र सिद्धान्त पुष्टि नभएसम्म सत्ता गौण हुनेछ । र, अप्रत्याशित नतिजासहित हामी आउने संसद्मा बलियो शक्तिको बनेर उदाउँछौं । 

पार्टीहरुमध्ये परीक्षण भइनसकेको अध्यक्ष तपाईं हो । निर्वाचनमुखी जिम्मेवारीलाई कुन रुपमा लिनुभएको छ ? 

फरक र विशेष जिम्मेवारी मैले निभाउनु पर्नेछ । पार्टीभित्र मात्र होइन बाहिर पनि आफ्नै जीवनकालमा देश परिवर्तन भएको देख्न पाउँ, राजनीतिमा पुस्तानान्तरण भएको देख्न पाउँ र यथास्थितिको अन्त्यहोस् भन्ने मानिसहरुको चाहनाको पनि प्रतिनिधित्व मैले गर्छु । 

एउटा बिग्रिएको पार्टी बदनाम र शून्यमा पुगेको पार्टीलाई सँगसँगै उठाउने जिम्मेवारी मलाई थियो र अझै पनि छ ।

त्यसलाई सन्तुलित बनाउने र मिलाएर लैजाने मात्र होइन निर्वाचनबाट निर्णायक शक्ति बनाउने जिम्मेवारी मेरो काँधले उचालिरहेको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro