जनकपुरधाम । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएको छ । उमेदवारहरू धमाधम घरदैलोमा पुगिरहेका छन् । उनीहरू आफ्नो पक्षमा मत तान्न दिनरात व्यस्त छन् ।
तर, कृषिकर्म गरेर जीवन गुजार्ने मधेसका मतदाताहरू भने यतिबेला धान भित्र्याउने तयारीमा छन् । कोही गहुँ खेतीको लागि खनजोत गरिरहेका छन् । धान खेतीको लागि मल नपाएका उनीहरू गहुँ खेतीको लागि पनि मल अभाव हुने त्रासमा छन् ।
उमेदवारहरूले प्रत्येक चुनावको बेला घोषणापत्रमा सिँचाइ र मल उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि त्यो कार्यान्वयन हुन नसकेको धनुषा नगराइनका ५ का सीताराम यादव बताउँछन् ।
"किसानको समस्या वर्षौँदेखि ज्युँकात्युँ छन् । कसैलाई चासो छैन्," निरास भएर उनले भने, "मल, बीउ त समयमा पाउँदैनन् । सडक र सिँचाइको के कुरा गर्नु ?"
सीताराम यादव ६० वर्षदेखि मतदान गर्दै आइरहेका छन् । अहिले उनको उमेर ८३ वर्ष पुग्यो । उनी परम्परागत रूपमै खेतिपाती गरेर परिवार पाल्ने गरेका छन् । तर, उनले सरकारबाट पाउने कुनै सुविधा किसानको रूपमा नपाएको गुनसो गर्छन् ।
"खेतमा आवश्यक पर्ने मल पनि यहाँको जनता भारतबाट ल्याउँछन् । यहाँबाट जितेर गएको नेता के गरेको छ खै ?," उनले भने, "उनीहरूले कमिसन आउने काम मात्रै गरेका छन् । यही पालिकामा यसअघि जितेर गएका नेताहरूले चार करोडमा यहाँ भ्यूटावर बनाउँदैछन् । तर, किसानको समस्यामा अन्देखा गरेको छ ।"
सीताराम जस्तै नगराइन नगरपालिका २ का रवि सदाको पनि गुनासो छ । उनले दश कट्ठा जग्गा लिजमा लिएर धान खेती गरे । तर, मल र पानी अभावमा राम्रो उत्पादन हुन नसकेको उनले बताए । ०७४ को चुनावमा उमेदवारहरूले गरेको वाचा सम्झिँदै नेताको भाषणबाट दिक्क भएको उनी बताउँछन् ।
सोही वस्तीकी रामकलि सदाले पनि दलितको समस्या समाधान गर्न कोही नभएको बताइन् । दुई धुर जमिन घर रहेको उनको परिवार मजदुरी गरी गुजारा गर्छन् । रोजगारीको व्यवस्था गर्ने नेतालाई भोट दिने मन थियो । तर, अहिलेसम्म त्यस्तो नेता नपाएको उनले बताइन् ।
भत्किएको घर मर्मत गर्न आर्थिक समस्या भएको भनदै उनले गत निर्वाचनमा पक्की घर बनाइदिने नेताहरूले आवश्वासन दिएको उनले सम्झिइन् । "मत माग्ने उमेदवारले पक्की घर बनाइदिने आश्वासन दिएको पनि पाँच साल बितिसक्यो," उनले भनिन्, "तर, नयाँ घरको के कुरा भत्किएको घर पनि मर्मत गर्दिएन कसैले ।"
यहाँ ७० घर मुसहर छन् । करिब दुईसय मतदाता । सबैको समस्या उस्तै छन् । आधारभूत आवश्यकतासमेत पूरा गर्न सकेका छैनन् उनीहरू ।
देश खुला दिसामुक्त घोषणा भएपनि यहाँ कसैको घरमा शौचालय छैन । जग्गा अभावका कारण शौचालय नबनाएको उनीहरुको भनाइ छ । यहाँको बालबालिका विद्यालय गएका छैनन् । कतिपयकाे जन्मदार्ता पनि छैन ।
मुख्यिापट्टी मुसरनिया गाउँपालिका ४ का रामविलास पासवान बिरामी भएर थला परेको १३ वर्ष भयो । प्यारालायसिसले सामान्य हिँडडुलबाहेक केही गर्न सक्दैनन् । तर, सरकारबाट उनले कुनै सहयोग नपाएको बताए ।
आफूले स्थानीय सरकारसँग धेरैपटक आर्थिक सहयाेग मागेपनि सबैले आलटाल गरेको उनको आरोप छ । "कहिले कर्मचारी छैन भन्छन् त कहिले मेयर । कहिले के सिफारिस ल्याउनु भन्छन् कहिले के," उनले भने, "कुन कुन कागजात चाहिन्छ स्पष्ट रूपमा कसैले भनदैनन् । तर, घुमाएर अनावश्यक दुःख दिने काम गर्छन् ।"
तस्बिर : अमरेन्द्र यादव