site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
पाण्डेय छैटौँपटक, गैरे पहिलोपल्ट चुनावी मैदानमा

पाल्पा । सोमप्रसाद पाण्डेय छैटौँपटक चुनावी मैदानमा छन् । उनी वि.सं. २०५१  सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपालि उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् ।

“सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ,” पाल्पा क्षेत्र नम्बर–२ मा पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रहेका पाण्डेयले भने, “यो क्षेत्रको विकासका लागि मेरो उमेदवारी हो ।”

विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरे । पाल्पाको क्षेत्र–१ मा २०५१ सालदेखि नै एमालेका उमेदवार विजयी हुँदै आएका छन् । क्षेत्र नम्बर–२ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डेय विजयी भएका थिए । उनी त्यति बेला एमालेमै थिए । २०६४ मा नेकपा (माओवादी)की उमेदवार लीलाकुमारी बगाले (सोमई)सँग पाण्डेय पराजित भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, पहिलोपटक संसदीय निर्वाचनमा उमेदवार बनेका नेकपा (एमाले)का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उमेदवारी रहेको बताए । राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन् ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डेय र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् । पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डेय र गैरेकै बीच हुने देखिन्छ । सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्छन् ।

क्षेत्र नम्बर–१ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैको चुनावी एजेन्डा ‘विद्युतीकरण’ रहेको छ । निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन । यहाँका नागरिक टुकीमाथि निर्भर छन् ।

एमाले उमेदवार आचार्य भन्छन्, “हाम्रै पहलमा विद्युत् विस्तार गरेका हौँ ।” सबै क्षेत्रमा विद्युत् विस्तार गरी उज्यालो निस्दी बनाउने योजना रहेको उनको भनाइ छ ।

यहाँका वडामा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्न सुरु गरिए पनि सर्वसुलभ र सहज नभएको कांग्रेस उमेदवार गाहाको भनाइ छ । “राष्ट्रिय प्रसारणलाइनमा जोडेर जनतालाई सहज विद्युत् आपूर्ति गराउने योजना छ,” उनी भन्छन्, “विकास र समृद्धिको खाका लिएर चुनावी मैदानमा होमिएको छु ।”

रामपुर नगरपालिकासहित रम्भा, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिका क्षेत्र नम्बर–१ मा पर्छन् ।

प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा २३ जनाको उमेदवारी परेको छ । प्रदेशसभाका चार क्षेत्रमा २२ जनाले उमेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र–१ मा राजनीतिक दल र स्वतन्त्र गरी १० तथा २ मा १४ जनाले उमेदवारी दिएका छन् । क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ ६ दल र चार स्वतन्त्रका साथै क्षेत्र नम्बर–२ मा ११ दल र तीन स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर–१ प्रदेशसभा ‘क’ र ‘ख’मा पाँच/पाँचजनाले तथा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’मा सात र ‘ख’मा पाँचजना उमेदवार छन् ।

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गरी सात स्वतन्त्र उमेदवार छन् । “लामो समयदेखि दलहरूले नेतृत्व गरेर पनि पाल्पाको विकास भएन,” क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उमेदवार रहेको उपेन गैरे भन्छन्, “विकास नहुनुको मुख्य कारण भ्रष्टाचार हो ।” उनी इन्जिनियरिङ पेसामा आबद्ध छन् । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्