site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बारा–४ मा दुई पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धनका श्रेष्ठलाई अप्ठ्यारो

सिमरा । बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीसहित तीनजना प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)का तर्फबाट पूर्वयुवा तथा खेलकुदमन्त्री एकवाल मियाँ र नेकपा (एकीकृत समाजवादी)बाट पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) चुनावी मैदानमा छन् ।

रोचक के भने मियाँ र श्रेष्ठ दुवै एमाले छाड्ने र प्रवेश गर्ने नेताहरू हुन् । मियाँ उमेदवारी दर्ता गर्ने अघिल्लो दिन एमालेमा फर्किएका थिए । उनी ०७४ सालको निर्वाचनमा एमालेले टिकट नदिने भएपछि पार्टी छोडेर महन्थ ठाकुर नेतृत्वको राजपाबाट चुनाव लडेर सांसद भएका थिए ।

श्रेष्ठले ०७४ मा तनहुँमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । गत वर्ष एमाले विभाजित हुँदा उनले मन्त्री हुने सर्तमा एकीकृत समाजवादी रोजेका थिए ।

एमाले उमेदवार मियाँ बाराको परवानीपुर गाउँपालिका–१ का बासिन्दा हुन् । एकीकृत समाजवादीका श्रेष्ठ तनहुँको व्यास नगरपालिका–४ का स्थानीय हुन् । तनहुँ छोडेर बारा आएर प्रतिस्पर्धामा रहेका श्रेष्ठ यस निर्वाचन क्षेत्रका मतदाता पनि होइनन् । उनी तनहुँका मतदाता हुन् ।

दुई पूर्वमन्त्रीबाहेक बारा–४ बाट कांग्रेसका इच्छाबहादुर वाग्ले स्वतन्त्र रूपमा उमेदवार बनेका छन् । उनी व्यवसायी हुन् । गठबन्धनका नाममा कांग्रेसलाई सिध्याउने खेल भएको भन्दै उनले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । वाग्लेको उमेदवारीसँगै यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

उमेदवारहरू यति बेला चुनावी अभियानमा होभिएका छन् । यी तीनमध्ये एकीकृत समाजवादीका उमेदवार श्रेष्ठलाई कठिन हुने अनुमान गरिएको छ । सिमरा र यस आसपासमा जग्गा प्लटिङको कारोबार र होटेल व्यवसाय गर्दै आएका श्रेष्ठलाई उनकै कुनै बेलाका साझेदार वाग्ले स्वतन्त्र उमेदवार बनेकाले अप्ठेरो परेको हो ।

कांग्रेसले टिकट पाउने सम्भावनालाई उल्टाउँदै गठबन्धनबाट श्रेष्ठ उमेदवार बनेपछि सो पार्टीका नेता–कार्यकर्ता रुष्ट छन् । त्यही ‘सेन्टिमेन्ट’को फाइदा उठाउन वाग्ले प्रयत्नरत छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलमध्ये यस क्षेत्रमा कांग्रेस निकै बलियो छ । गएको स्थानीय तह निर्वाचनको मतपरिणामानुसार यस क्षेत्रमा गठबन्धन दलतर्फ कांग्रेस पहिलो नम्बरमा छ । एकीकृत समाजवादी सबैभन्दा कमजोर छ ।

बारा–४ मा स्थानीय तहका ३८ वडा पर्छन् । तीमध्ये एकीकृत समाजवादीले तीन वडा– जीतपुरसिमरा–१०, विश्रामपुर–४ र प्रसौनी–३ मात्र जितेको थियो ।

कांग्रेस आठ वडामा विजयी भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका वडाहरू १, ५, २२, २४, कलैया उपमहानगरपालिका–१७, परवानीपुर गाउँपालिका–१, प्रसौनी गाउँपालिका–२ र विश्रामपुर गाउँपालिकाको ३ नम्बर वडा कांग्रेसले जितेको हो । सत्ता गठबन्धन दलभित्रका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (माओवादी केन्द्र)ले चार/चार वडा जितेका थिए ।

कांग्रेस, लोसपा र माओवादी केन्द्रभन्दा निकै कमजोर रहेको एकीकृत समाजवादीका श्रेष्ठ उमेदवार बनेका छन् । यस क्षेत्रमा बलियो जनमत रहेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा टिकट पाएन । सोही कारण कांग्रेस कार्यकर्ता बढी निराश छन् ।

बारा–४ मा नेकपा (एमाले) बलियो देखिन्छ । गएको स्थानीय तह निर्वाचनमा एमाले एक्लैले १४ वटा वडा जितेको थियो । अहिले एमालेसँग तालमेलमा रहेको जनता समाजवादी पार्टी (जसपा) चार वडामा विजय भएको थियो । गठबन्धन र तालमेलबाहिर रहेको विवेकशील साझा पार्टीले एउटा वडा जितेको थियो ।

तनहुँका श्रेष्ठले बाराबाट टिकट पाएपछि एकीकृत समाजवादीका केही नेता–कार्यकर्ताले पार्टी छाडेका छन् । एमाले छाडेर एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बनेका सुन्दर विश्वकर्मासहितका नेता–कार्यकर्ता यसअघि नै एमाले फर्किइसकेका छन् ।

कांग्रेसलाई शून्य पारेर प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा माओवादी केन्द्र र अर्कोमा लोसपालाई साथमा लिएर अघि बढेका छन्, श्रेष्ठ । उनी कांग्रेस कार्यकर्ताले मत दिने र आफू विजयी हुने आसमा छन् । तर, कांग्रेसबाट लामो समय राजनीति गरेका वाग्ले उनका लागि पर्खाल बन्ने देखिन्छ ।

वाग्लेलाई कांग्रेसका केही कार्यकर्ताले साथ दिन थालेका छन् । होटेल तथा पर्यटन व्यवसायी उनी कमजोर उमेदवार नभएको तर्क गर्न थालिएको छ ।

श्रेष्ठका मुख्य प्रतिस्पर्धी भने एमाले उमेदवार मियाँ नै हुन् । ०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित मियाँ लोसपा छोडेर एमालेमै फर्किएका छन् । तत्कालीन राजपा (हाल लोसपा)बाट सांसदमा निर्वाचित हुनुअघि मियाँ एमालेमा सक्रिय थिए ।

उमेदवारी दर्तापछि श्रेष्ठले परवानीपुरमा निर्वाचन आचारसंहिताविपरीत चुनावी ब्यानरमुनि ‘फ्री भिसा फ्री टिकट’ भन्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । सो विषयमा निर्वाचन आयोगले स्पष्टीकरण समेत सोधेको थियो ।

त्यसपछि श्रेष्ठले बाराकै जीतपुरमा आयोजित एक सार्वजनिक बहस कार्यक्रममा मतदातालाई अपशब्द प्रयोग गरे । त्यसले उनी निकै आलोचित बनेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro