site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ह्याट्रिकको दाउमा मेहता,  आचार्यलाई जसपाको भर 
SkywellSkywell

इटहरी (सुनसरी) । सुनसरीको २ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश–१ का मुख्यमन्त्रीसमेत भइसकेका नेकपा ( एमाले)का पूर्व केन्द्रीय सचिव भीम आचार्य र लगातार दुईपटक संघीय सांसद भएर राज्यमन्त्री भइसकेका नेपाली कांग्रेसका सीताराम मेहता चुनावी प्रतिस्पर्धामा छन् । 

सीताराम ‘ग्राउण्ड पोलिटिक्स’गर्ने नेता मानिन्छन् । ‘गरिबका नेता सीताराम मेहता’ २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जिताउने उनको चर्चित नारा थियो । उनले नेकपा (माओवादी केन्द्र) का डम्मर सुवेदी (हिमाल)लाई ६ हजार १४६ मतान्तरले पराजित गरेका थिए । 

त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि मेहता निर्वाचित भएका थिए । लगातार दुई पटक जित निकालेर निकै उत्साहित रहेका मेहता यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । 
 
संविधान निर्माणमा सक्रिय सहभागिता जनाएको बताउने मेहताले ०७४को निर्वाचनका बेला गरेको बाचा पूरा गरेको दाबी गर्छन् । “त्यो बेला गरेको बाचा पूरा गरेँ, केही पूरा हुने प्रक्रियामा छन् । त्यो पूरा गर्न यसपटक मलाई जनताले मत दिन्छन्,” उनले भने ।
 
तर, उनले दाबी गरे जस्तो अवस्था छैन । लगातार सांसद हुँदा जिल्लाको विकासमा भूमिका निर्वाह गर्न नसकेको उनीमाथि आरोप लाग्ने गरेको छ । पूर्वाधार विकासमा पनि मेहताले काम गर्न नसकेको बताइन्छ । विशेषगरी इनरुवा–कौवाखोज सडक निर्माण हुन नसक्दा मेहताको तीव्र आलोचना हुने गरेको छ । 

Dabur Nepal
NIC Asia

अर्कोतर्फ पार्टीभित्रको आन्तरिक गुटबन्दीको प्रभाव पनि यसपटक पर्ने देखिएको छ । टिकट वितरणमा देखिएको असन्तुष्टि निर्वाचनमा पोखिने मेहतालाई डर छ । कमजोर बन्दै गएको अवस्थामा पुरानै अनुहारलाई दोहोर्याउँदा पार्टीभित्र असन्तुष्टि छ । यसले नेता कार्यकर्तामा उत्साह देखिएको छैन । यसको प्रत्यक्ष असर निर्वाचन प्रचारप्रसारमा पनि देखिएको छ । 

एमालेका ‘हेभि वेट’ नेता भीम आचार्यसँगको प्रतिस्पर्धा उनका लागि निकै कठिन बन्न सक्ने आंकलन धेरैको छ । तर, मधेसी समुदाय भएको र त्यसमा पनि मेहता भएकाले जातीय मत उनको पक्षमा आउने विश्लेषण गरिएको छ । दक्षिणवर्ती क्षेत्रको जातीय मत उनका लागि निर्णायक हुने धेरैको विश्लेषण छ । 

१० बुँदेको ट्यागले दबाबमा आचार्य 
२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ प्रदेशसभा (क) बाट जितेका भीम आचार्य प्रदेश–१ सरकारको मुख्यमन्त्री भए । यसपटक भने आर्चाय प्रदेशसभा छाडेर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरहेका छन् ।

आचार्यले क्षेत्र पनि परिवर्तन गरेका छन् । अहिले सुनसरीको २ नम्बर क्षेत्रमा आएका छन् । उनको यो गृहक्षेत्र पनि हो । २०७४ को प्रदेशसभा जितेका आचार्य सुरुमै मुख्यमन्त्री हुने योजनामा थिए । तर, नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको निर्वाचनमा शेरधन राईसँग पराजित भए । पछि राईले पद छाडेपछि करिब ७० दिन मुख्यमन्त्री बने ।

संसद् विघठनविरुद्ध आवाज उठाएका आचार्य माधव नेपालले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गर्दै एमालेमै बसे । मूख्यमन्त्री हुने शर्तमा आचार्यले माधव नेपालको साथ छाडेका थिए । अल्पमतको मुख्यमन्त्रि भएका आचार्यको सरकार दुई महिनामै ढलेको थियो । 

मुख्यमन्त्री हुन १० बुँदे सहमति गरेको आचार्यमाथि आरोप छ । त्यही १० बुँदेको ट्यागले उनलाई अहिले तनाब दिएको छ । माथिल्लो तहमा नेताहरू मिले पनि तल्लो तहका नेता कार्यकर्तामा विश्वास बनिसकेको छैन । जरासम्म नै फैलिएको अविश्वास मेटाउन उनी प्रचारप्रसारमा लागि परेका छन् । एमालेका एक जिल्ला सदस्य भन्छन्, “मनमा लागेको चिसो यति छिट्टै कसरी मेटिन्छ ?”
  
अर्कोतर्फ एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीसँगको उनको ‘राजनीतिक तिक्तता’ पनि निर्वाचनमा तगारो बनेको छ । २०७४ को निर्वाचनका बेला आचार्यले भण्डारीलाई रोकेर माओवादीलाई टिकट दिएका थिए । आचार्यले समानान्तर गुट चलाएर लगातार भण्डारीलाई दबाबमा राखेका थिए । यसपटक पनि प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरेका भण्डारीलाई प्रदेशसभामा झारेर आचार्य आफैँ चुनाव लड्दै छन् । 

पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन आचार्यलाई निकै समस्या परेको छ । एमाले इटहरीका नगरस्तरीय एक नेताले भने “नेताहरू आफ्नो स्वार्थमा झगडा गर्छन्, फेरी मिल्छन्, हामी जहिल्यै बीचमा पेलिने मात्रै भयाँै ।” 

गठबन्धनको आस 
पार्टीभित्रको राजनीतिले अप्ठ्यारोमा परेका आचार्यलाई जनता समाजवादी पार्टीसँगको गठबन्धनको ठूलो आसा र भरोसा छ । एमालेका नेताहरु जसपासँगको गठबन्धनले चुनाव जित्ने दाबी गर्छन् । मतका आधारमा नेपाली कांग्रेसको गठबन्धनभन्दा एमाले जसपा गठबन्धन अगाडि छ ।
 
स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतका आधारमा दुई गठबन्धनको हिसाब गर्ने हो भने एमाले जसपा गठबन्धनका उमेदवार आर्चाय जित नजिक छन् । नेपाली कांग्रेसको गठबन्धनका सीताराम मेहताले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
  
स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त हुने मत फरक हुने स्थानीय नेताहरूको भनाइ छ । स्थानीय तह निर्वाचनमा व्यक्ति रोजेका मतदातले यसपटक पार्टी रोज्ने भएकाले सोहीअनुसार मत नआउने उनीहरूको भनाइ छ । तर, पनि राम्रो संगठन गरेका कारण जसपाको मत निर्णायक बन्न सक्ने देखिन्छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu