काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देशपनि बेच्न तयार रहेको आरोप लगाएका छन् । शनिबार एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाएका हुन् ।
उनले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएको आरोपसमेत लगाए । जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षडयन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षडयन्त्रलाई विफल बनाउनुपर्ने धारणा राखे ।
उनले वर्तमान सरकारका कारण मुलुकमा महँगी, भ्रष्टाचार, अनियमितता बढेको आरोप पनि लगाए । अहिले लाखौँ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उनको आरोप छ ।
ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायालय सेटिङको अखडामा परिणत भएको जिकिर गरे ।
प्रधानन्यायाधीशलाई न्यायालय प्रवेश गर्न नदिने न्यायाधीशहरूले हडताल गर्ने लगायतका तमाशा देखिनु दुर्भाग्य भएको उनले बताए ।
त्यस्तै, ओलीले अब एमालेभित्र कुनैपनि प्रकारको गुठबन्दी हुन नदिने स्पष्ट पारे । पार्टीमा योगदान नै नभएकाहरूले पद नपाएकै कारण एमाले छाडेर बिरोधमा उत्रिएको देखिएको उहाको भनाइ छ ।