site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डडेलधुरामा आरजु राणा दौडधुपको अन्तर्य

डडेलधुरा । ०७९ मंसिर ४ गते हुने निर्वाचनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अन्तिम चुनावको रुपमा हेरिएको छ । 

कांग्रेस डडेलधुराका नेताहरुले पनि अन्तिमपटक जिताउन भन्दै मत मागिरहेका छन् । 

आइतबार जिल्ला सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री तथा प्रदेशसभातर्फ कांग्रेस उमेदवार गोविन्दराज बोहराले भने, “प्रधानमन्त्रीज्यू ६ पटक निर्वाचनमा विजयी भइसक्नु भएको छ । यो सातौंपटक हो । उहाँको अन्तिम चुनाव पनि हो ।”

देउवालाई ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ सालको निर्वाचनमा कसैले पराजित गर्न सकेको छैन ।  पछिल्लो दुई निर्वाचनमा त एमालेले देउवाविरुद्ध उमेदवारी नै दिन छोडिसकेको छ । 

तर ०७९ मंसिर ४ गते हुने निर्वाचन देउवाका लागि अन्तिम भए त्यसपछिको नेता को हुने ? प्रश्नको जवाफ डडेलधुरा कांग्रेससँग पनि छैन । 

मंसिर ४ को निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै प्रधानमन्त्री देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले डडेलधुरामा दौडधुप बढाएकी छन् । 

देउवाको उमेदवारी दर्तापछि झण्डै एकसाता जिल्ला सदरमुकाममा बसेकी आरजु केही दिन अगाडि मात्रै काठमाडौं फर्किएकी छन् । 

डडेलधुरा बसाइका क्रममा आरजुलाई कांग्रेसका नेता–कार्यकर्तासँगै अन्य दलका कार्यकर्ताले पनि भेटे । 

आरजुलाई भेट्नेले व्यक्तिगत र जिल्लाका समस्या सुनाए । अधिकांशले समस्या समाधानको आश्वासन पनि पाए । सोही क्रममा आरजुले गठबन्धन दलका नेतासँग संयुक्त बैठक पनि गरिन् । 

आरजुले पछिल्ला ५ वर्ष कैलालीको धनगढीलाई केन्द्र बनाएर राजनीति गरेकी थिइन् । उनी डडेलधुरा आउनै छोडिसकेकी थिइन् । तर एकाएक कैलाली निर्वाचन क्षेत्र नम्बर ५ छोडेर समानुपातिकको सुरक्षित सिट रोजिन् । त्योसँगै डडेलधुरामा बढाएको दौडधुपले धेरैले उनको राजनीतिक सक्रियताका रूपमा बुझेका छन् । 

कांग्रेस डडेलधुराका एक नेता भन्छन्, “दाई (शेरबहादुर)को यो अन्तिम चुनाव हो । त्यसपछि डडेलधुरामा कांग्रेसबाट चुनाव लड्ने उपयुक्त उम्मेदवार देखिँदैनन् । त्यसैले भाउजु (आरजु) ले अहिलेदेखि नै दौडधुप बढाएकी हुन् जस्तो लाग्छ ।”

यसकारण छोडिन् कैलाली

कैलाली क्षेत्र नम्बर ५ बाट ०७४ सालको निर्वाचनमा पराजित भए पनि आरजु सो क्षेत्र नियमित आउने–जाने गर्थिन् । 
त्यहाँ हुने सामाजिक र पार्टीका गतिविधिमा उनको निरन्तर सहभागिता हुने गरेको थियो । 

उनका गतिविधिबाट स्पष्ट हुन्थ्यो, उनी आफ्नो पक्षमा ०७९ को निर्वाचनका लागि माहोल बनाउन सक्रिय छन् । 

सो क्रममा कांग्रेस कैलालीका नेताको पनि भरपुर साथ थियो । 

कैलाली ५ बाट उनको एकल रुपमा नाम पनि सिफारिस भयो । यद्यपी अघिल्लो निर्वाचनमा आरजुलाई पराजित गरेको आरोप लाग्दै पार्टीबाट निष्कासित पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा भने उनका लागि बाधक थिए । 

आरजुलाई साथ दिन पटकपटक ओझालाई गरिएको आग्रह सफल भएन । 

त्यसपछि आरजुको नाम सामानुपातिकको बन्द सूचीमा रहेको खबर ‘भाइरल’ नै भयो । उक्त खबरमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस नेता विश्वास गर्न सकिरहेका थिएनन् । 

तर आरजुले कैलाली ५ छोडेर डडेलधुरा रोज्ने मनसाय बनाइसकेकी थिइन् ।  कैलाली ५ बाट पराजित हुने भयले उनले डडेलधुरामा समानुपातिकको सुरक्षित सिट रोजेको चर्चा चल्यो । 

तर आरजु भने त्यो कुरा स्वीकार गर्न तयार छैनन् । “मैले कैलालीमा निर्वाचन लड्दा धेरै मेहनत र दौडधुप गर्नुपर्ने थियो,” आरजुले भनिन्, “तर मेरो पछिल्लो २ वर्षमा ४ वटा अप्रेसन भएको छ । स्वास्थ्यले साथ दिएको छैन । त्यसैले कैलाली छोडेकी हुँ ।”

तर कांग्रेस डडेलधुराका नेताहरु भने अब डडेलधुरालाई नै केन्द्र बनाएर राजनीति गर्ने योजना आरजुको रहेको दाबी गर्छन् ।

अब डडेलधुरामा फोकस भएर विकास गर्छु 

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आजुरले अब डडेलधुरामा नियमित आउजाउ गरिरहने बताएकी छन् । 

५ वर्ष डडेलधुराको माया मारेकी उनले भनिन्, “म धेरै वर्ष भयो यहाँ नआएको । म बिरामी पनि थिएँ, त्यसैले आउन पनि पाइन । अहिले मेरो नाम प्रतिनिधिसभाको सामानुपातिकतर्फ बन्द सूचीमा परेको छ । अब म लगातार जिल्लामा आइराख्छु ।”

डडेलधुराको विकासका लागि फोकस भएर काम गर्ने योजना उनको छ । 

“यहाँ वडादेखि नै मेरो टिम पनि छ,” आरजुले भनिन्, “निर्वाचनपछि सेक्टरअनुसार जिल्लामा वर्कसप राखेर यहाँका समस्या संकलन गर्छाैं । त्यसपछि डडेलधुराको विकासका लागि फोकस भएर लाग्छौं ।”

डडेलधुरा सदरमुकाममा सबैभन्दा सडकको समस्या रहेको बताउँदै उनले सडक विस्तारका लागि मुआब्जा पास भएर आइसकेकाले समस्या समाधान हुने दाबी गरिन् । 

“जिल्लाको योजनावद्ध विकास गर्ने मेरो र प्रधानमन्त्रीज्यूको परिकल्पना हो,” आरजुले भनिन्, “पुइलेकमा विमानस्थल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । मेडिकल कलेजको काम पनि अगाडि बढेको छ । परशुराम नगरपालिकामा एक सय शय्याको अस्पताल निर्माणको योजना पनि छ । अब विकास सदरमुकाममा मात्रै नभए ग्रामिण क्षेत्रमा पनि केन्द्रित गर्न आवश्यक छ ।”

घटालदेखि जोगबुढासम्म सुरुङ मार्ग निर्माणको योजना पनि रहेको उनले बताइन् । “त्यो सुरुङ मार्ग निर्माण भए घटालदेखि जोगबुढा पुग्न १२–१३ किलोमिटर मात्रै लाग्छ । त्यसले जिल्लालाई समृद्धितर्फ लम्काउँछ,” उनले भनिन् । 

गठबन्धनले ढुक्क

आजुरका अनुसार गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धनमा आवद्ध दलले एकअर्कालाई साथ दिनेमा कत्तिको ढुक्क हुनुहुन्छ ? भन्ने प्रश्नमा आरजुले भनिन्, “ढुक्क छु । राजनीतिमा जहिले पनि प्रतिस्पर्धा हुन्छ । सो क्रममा सबैले टिकट माग्नु उहाँहरुको अधिकारको कुरा हो । तर पार्टी सिस्टममा पार्टीको निर्णय मान्नु पनि अतिआवश्यक हो ।”

गठबन्धन अहिलेलाई मात्रै नभएर सरकार बनाउनका लागि पनि आवश्यक हुने उनको तर्क छ । 

“हामीले बनाएको संविधानअनुसार अब नेपालमा एउटै पार्टीको बर्चश्व भएर सरकार बन्ने सम्भावना कम छ,” उनले भनिन्, “त्यसैले अहिले गठबन्धन आवश्यकता हो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro