site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डडेल्धुरामा देउवालाई एमालेको मौन समर्थन !
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि उमेदवारी फिर्ता लिएका चक्र स्नेही र प्रदेशसभा उमेदवार पठानसिंह बोहरा र गजेन्द्र शाही । दायाँतर्फ कांग्रेस सभापति शेरबहादुर देउवा ।

डडेल्धुरा । ०७४ को निर्वाचनको दुई–तीन महिना अगाडिसम्म एमाले नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको किल्ला भत्काउने बताइरहेका थिए ।

देशैभर वाम गठबन्धन भएकाले एमाले र माओवादी केन्द्रका नेताहरू निकै उत्साहित थिए । उनीहरूले डडेल्धुरामा देउवाविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाईलाई उतारे । 

तर, पनि नतिजा देउवा पक्षमा आयो । ०७४ मा देउवाले २८ हजार ४४६ मत ल्याए जित निकालेका थिए । उनका प्रतिस्पर्धी भट्टले २१ हजार ४९८ मत ल्याए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले अवस्था फरक छ । ०७४ को वाम गठबन्धन भत्किएको मात्र छैन एमालेबाट फुटेर एकीकृत समाजवादीको जन्म भइसकेको छ । यी दुवै दल कांग्रेस नेतृत्वको गठबन्धनमा छन् । 

एमालेसँग अर्को कुनै बलियो शक्ति गठबन्धनमा नभएकाले यसपटक उसले देउवाविरुद्ध उमेदवार उठाउने धेरैको आकलन थियो । सोहीअनुसार एमालेका नेता तथा राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका चक्रप्रसाद स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गरे ।

तर, स्नेहीको उमेदवारी फिर्ताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार स्नेहीको नाम फिर्ता लिन ओलीले नै निवेदन पेस गरेका थिए । ओलीको निवेदनपछि स्नेहीको उमेदवारी फिर्ता भयो । र, एमाले फेरि उमेदवारविहीन भयो । अर्थात् उसले देउवाविरुद्ध भिड्ने आँट गरेन । 

उमेदवारी फिर्तापछि एमालेले कांग्रेस बीपीका उमेदवार कर्ण मल्ललाई समर्थन गर्ने बताएको थियो । तर, कांग्रेस बीपीले प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेलाई समर्थन नगरेर स्वतन्त्र उमेदवारलाई रोजेपछि उनीहरूको तालमेल भंग भयो । 

शुक्रबार एमालेले बैठक नै बोलाएर बीपी कांग्रेससँग चुनावी तालमेल तोड्ने निर्णय गर्‍यो । एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीका अनुसार प्रतिनिधिसभामा बीपी कांग्रेसका कर्ण मल्ललाई एमालेले सघाउने सहमति भएको थियो । बीपी कांग्रेसले प्रदेशसभा १ मा एमालेका पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै उमेदवार गजेन्द्र शाहीलाई समर्थन गर्ने सहमति भएको थियो ।

"तर, बीपी कांग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उमेदवारसँग तालमेल गरेपछि सहमति तोड्न बाध्य भएका हौँ," एमालेका जिल्ला अध्यक्ष साउँदले भने । 

प्रतिनिधिसभामा आफ्नो उमेदवार नभएको र बीपी कांग्रेससँगको तालमेल पनि भंग भइसकेको अवस्थामा अब एमालेले कसलाई सहयोग गर्छ भन्नेबारे चर्चा हुन थालेको छ । कांग्रेस सभापति देउवाको चुनाव क्षेत्रमा एमालेले उमेदवारी नदिएर देखाएको उदारता देखेर एमालेकै कतिपय नेताहरू आश्चर्यमा परेका छन् ।

अहिलेसम्म एमालेले अब कसलाई सघाउने भन्नेबारे कुनै निर्णय गरेको छैन । एमालेकै जिल्ला नेताहरू एमालेले कतै देउवालाई मौन समर्थन त गर्न लागेको होइन भनेर विश्लेषण गर्न थालेका छन् ।

"देउवाको किल्ला तोड्ने भन्दै भाषण गर्ने तर देउवाविरुद्ध उमेदवारी नदिने एमालेको नीति बुझ्न सकिरहेका छैनौँ," एमाले डडेल्धुराकै एक नेताले भने, "देउवाविरुद्ध लगातार दुई निर्वाचनमा उमेदवार नै नउठाउनुको अर्थ एमालेले मौन समर्थन जस्तो देखिन थालेको छ ।"

एमाले डडेल्धुराका अध्यक्ष साउँद भने प्रतिनिधिसभामा कसलाई समर्थन गर्नेबारे छलफल जारी रहेको बताउँछन् । "हामीले जिल्लाको सम्पूर्ण वस्तुस्थिति लेखेर केन्द्र पठाएका छौँ," उनले भने, "केन्द्रले गरेको निर्णयअनुसार जिल्लामा समर्थन हुन्छ ।"

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवासहित कांग्रेस बीपीका कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकालसहित आठ जनाको उमेदवारी परेको छ । 

गृह जिल्लासमेत रहेको डडेल्धुरामा देउवाले ०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्