site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री देउवाको उमेदवारी खारेज नहुने

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेदवारी कायम रहने भएको छ। उनको उमेदवारीविरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उमेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। 

‘उमेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उमेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं,´ उनले भने, `उमेदवारका सबै कागजात कानुनसम्मत देखिए। उजुरी भने कानुनसम्मत नदेखिएपछि उमेदवारी स्वीकृत गर्ने निर्णय गरेका हौं।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्। 

नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ। देउवाको उमेदवारीविरुद्ध उजुरी दिने मल्ल नेपाली कांग्रेसका पूर्व डडेल्धुरा सभापति हुन्। उनी ०७४ सालको निर्वाचनमा काँग्रेसबाटै प्रदेशसभा सदस्इमा विजयी भएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै काँग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो। अहिले काँग्रेस बीपीका बरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उम्मेदवारी दर्ता गरेका छन्।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ जना उमेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्