site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘एसियन कपमा छनोट नै प्राथमिक लक्ष्य’

काठमाडौं । एन्फाको उपेक्षामा परेको नेपाली यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले एएफसी एसियन कप छनोट प्रतियोगितामा आफ्नो टिमको मुख्य लक्ष्य एसियन कपमा छनोट हुनु रहेको बताएका छन् । 

सके पहिलो नभए दोस्रो स्थानमा रहेर भए पनि छनोट हुने उनकाे भनाइ छ । 

‘‘प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो । त्यसो हुन नसके कमसेकम समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हाम्रो चाहना हो,’’ नेपाली यू–१७ टोलीका मुख्य प्रशिक्षक श्रेष्ठले भियतनाममा भने, ‘‘समूहमा बलिया टिम छन् । हामी पनि बलियो नै छौँ । हामी राम्रो खेल देखाउन चाहन्छौँ ।’’

Dabur Nepal
NIC Asia

नेपाल रहेको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । प्रतियोगितामा दश समूहका दश टिम र उत्कृष्ट ६ उपविजेताले फाइनल चरणमा स्थान पक्का गर्नेछन् ।

‘‘समूहका अरू तीन टिमको खेल हामीले देखेका छैनौँ । तर, मलाई लाग्छ यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ । सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन् । सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन्,’’ नेपाल रहेको समूह ‘एफ’का प्रतिद्वन्द्वीबारे प्रशिक्षक श्रेष्ठले भने, ‘‘मुख्य कुरा खेलाडीले मैदानमा प्रशिक्षकको योजनाअनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो । जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ ।’’

नेपाली टोलीले भियतनाम जानुअघि श्रीलंकामा यू–१७ साफ च्याम्पियनसिप खेलेको थियो । जहाँ नेपाल उपविजेता बनेको थियो । ६ टिम सहभागी साफ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’को विजेता बनेको थियो । नेपालले समूह चरणमा बलियो प्रतिद्वन्द्वी भारतलाई ३–१ ले हराएको थियो । तर, फाइनलमा नेपाल त्यही भारतसँग ४–० ले पराजित भएपछि उपविजेतामा चित्त बझाउनु परेको थियो । 

श्रीलंकामा सम्पन्न साफ च्याम्पियनसिपको टोलीमा प्रशिक्षक श्रेष्ठले दुई खेलाडी परिवर्तन गरेका छन् । श्रेष्ठले मिरिक लिङ्देन र प्रितम कार्कीको स्थानमा राम थापा र श्रेयान्स मानन्धरलाई टोलीमा समावेश गरेका छन् । प्रशिक्षक श्रेष्ठले प्रतियोगिताअघि टिमले केही दबाब महसुस गर्नु स्वभाविक भएको बताए । 

‘‘जित र हारको दबाब त हुन्छ नै । अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उमेर समूहकै भए पनि राष्ट्रिय टिम हो । त्यसकारण जित्नै पर्छ भन्ने दबाब महसुस हुन्छ । यो स्वाभाविक हो,’’ प्रशिक्षक श्रेष्ठले भने, ‘‘यो प्रतियोगिता नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च पनि हो । यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ ।’’

मलेसियामा १२ घण्टाको ‘ट्रान्जिट‘पछि नेपाली टोली सोमबार नेपाली समयअनुसार २ः३० बजे भियतनाम पुगेको थियो । भियतनाममा नेपाली टोलीले सोमबार साँझ पहिलो अभ्यास सेसन सकेको छ । जुन भियतनामी वातावरण, मैदानसँग घुलमिल हुने प्रयास थियो । प्रशिक्षक श्रेष्ठले सबै खेलाडी फिट भएको बताएका छन् । 

‘‘जहाजमा लामो समयको यात्रा गरेर आइयो । यसकारण रिकोभरीको आवश्यकता थियो । हामीले पहिलो सेसनको प्रशिक्षण सकेका छौँ । सबै खेलाडी फिट छन्,’’ प्रशिक्षक श्रेष्ठले प्रतियोगितामा आफ्नो रणनीतिबारे भने, ‘‘हाम्रो योजना ४–३–२–१ संरचनामा खेल्ने छ । बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने । दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौँ । हतार गर्नेछैनौँ । सुरुवाती समयमा विपक्षीको खेल पनि बुझ्नु पर्छ । उनीहरू पनि सुरुमा त हामीलाई बुझ्ने कोसिस गर्लान् । त्यसकारण सुरुबाटै प्रेसिङ गेम नहुन सक्छ ।’’

नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्डविरुद्ध, अक्टोबर ७ मा भियतनाम र अक्टोबर ९ मा चाइनिज ताइपेईविरुद्ध खेल्नेछ । 

‘‘थाइल्यान्ड वा अरू विपक्षी टिमले साफ च्याम्पियनसिपमा हाम्रो खेल हेरे होलान् । यसकारण उनीहरूलाई हाम्रो खेल शैलीबारे केही जानकारी त अवश्य हुनुपर्छ । तर यसलाई म सकारात्मक पाटोबाट पनि हेर्छु । हामीले श्रीलंकामा राम्रो खेलेका थियौँ । यसकारण यहाँ अन्य टिमले हामीलाई यहाँ कमजोर आँक्ने छैनन्,’’ प्रशिक्षक श्रेष्ठले भने, ‘‘हाम्रा लागि थाइल्यान्ड पहिलो तगारो हो । थाइ टिमविरुद्ध हाम्रो रणनीति कत्तिको सफल हुन्छ । साथै, भियतनाम र चाइनिज ताइपेईबीचको खेल हामी नियाल्नेछौँ । यी सबै कुरालाई विश्लेषण गरी बाँकी दुई खेलका लागि रणनीति बनाउने छौँ ।’’

नेपाली टिम : 
गोलकिपर : समिर चन्द, रुविन भोगाटी, कृशल मोक्तान

रक्षक : मदन पौडेल, युनिस मगर, दीपक थापामगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा, राम थापा 

मिडफिल्डर : हरिशराज भट्ट, प्रशान्त लक्षम, विनोद केसी, श्रेयान्स मानन्धर, निरज कार्की, सारोज दर्लामी, युनिश बुढाथोकी, लचु थापा,  धनसिंह विक

फरवार्ड : सुवास बम, सिजल राई
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro