site stats
बाह्रखरी :: Baahrakhari
विचार
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement
राजनीतिक दलको वास्तविक घोषणा पत्र

आदरणीय दिदीबहिनी, दाजुभाइ तथा आमाबुवाहरू,

हाम्रो राजनीतिक दलले आफू सत्तामा नहुँदा समाजका समस्याहरू एक से एक पहिल्याउँदै सत्तासीन दलका लागि समस्या खडा गर्दै र मिलेसम्म त्यस समस्याबाट लेनदेन गर्दै र लेनदेनमा नमिलेका समस्या जनतामाझ ल्याएर ठूलो विरोध जनाउँदै आएको यहाँहरूलाई विदितै छ । 

हामी सत्तामा भएका बखत सकभर विपक्षी दलका सहयोगी, समर्थक र मतदातालाई कुनै पनि रुपमा केही पनि भाग नलगाई सकभर हामी आफैँ बीच बाँडेर खाएको पनि गर्वका साथ घोषणा गर्दछौंँ । जुन व्यक्ति जति ठूलो समर्थक भयो उसलाई उतिनै ठूलो भाग लाग्दै आएको यहाँहरूलाई विदितै छ । कसैले यस्ता मौका र पदहरू श्रीमती, भाइ, बहिनी, छोरा, छोरी, ज्वाइँ, भान्जा आदिलाई मात्र दिएको आरोप लगाउँछ भने त्यो सर्वथा गलत सोच हो । हामीले आफ्ना ठूलाभन्दा ठूला समर्थकलाई मात्र राष्ट्रिय ढुकुटीमा राइँदाइँ गर्न दिने नीति अख्तियार गरेका छौँ र यस्ता मौका पाउने नातेदारहरूलाई दलका ठूला समर्थकका रुपमा हेरिदिन र नाताको माध्यमबाट मात्र मूल्यांकन गर्नु गलत हुने कुरा पुनः स्मरण गराउन चाहन्छौँ । 

Dabur nepal
Agni Group

नातेदारपछि दललाई आर्थिकरुपमा सहयोग गर्ने कुनै पनि आस्था, विचार वा समूहका मान्छेलाई हामीले उपयुक्त मौका दिँदै आएका छौँ र यसपल्ट धेरैभन्दा धेरै त्यस्ता व्यक्तिलाई समानुपातिकमा र केहीलाई प्रत्यक्षको टिकट पनि दिने लक्ष्य लिएका छौँ । हामीलाई भोट दिने वा नदिने कसैले पनि नोट दिएर दललाई सहयोग गर्छ भने आफ्ना कार्यकर्ताको गाँस कटाएर पनि त्यस्तालाई हामीले उपयुक्त स्थान दिनुपर्छ र भविष्यमा पनि दिनेछौँ । यस्ता सहयोगीहरू कमाउन र बाँड्न खप्पिस हुने हुनाले जनताको माझ बसेर लोकप्रियता हासिल गरेका इमानदार नेतालाई त्यही स्थानमा बसेर दलको संगठन मजबुत बनाउने कार्यमा लाग्नुपर्ने भएकाले निर्वाचनमा टिकट वा सरकारमा पुगेपछि कुनै पदको लालसा नराख्नु हुन पनि हार्दिक अनुरोध छ ।

हामी आफू जुन राजनीतिक विचारको भए पनि सबै राजनीतिक विचारसँग सहिष्णु भएर अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छौँ । लोकतन्त्रमा सरकारमा पुग्नु र सरकारमा पुगेपछि सकभर धेरै अर्थ संकलन गरेर अर्को निर्वाचनका लागि विपक्षीलाई पछार्न तयार रहनु नै सर्वाधिक महत्त्वका कुरा हुन् । हाम्रो यस्तो कार्यमा भाँजो हाल्न आउनेहरू हाम्रै दलका सदस्य भए पनि तिनीहरू राष्ट्रघाती र विदेशी दलाल हुन् । जसले दलको उन्नति देखी सहँदैन त्यो कुनै पनि अवस्थामा राष्ट्रप्रेमी हुनसक्दैन । किनभने हाम्रो दल रहेन भने यो देश कुनै पनि हालतमा रहँदैन ।

आदरणीय दिदीबहिनी, दाजुभाइ, बाआमा

विश्वास गर्नुहोस् हामी देशमा विकासको ठूलो लहर ल्याउनेछौँं । लहर ल्याउने भनेको ठोस परिवर्तन वा साँच्चिकै विकास गर्ने भन्ने बुझेर पनि धेरैले आलोचना गरेका छन् । त्यो आलोचनालाई हामी हरियो चना भन्ने बुझेर शरीरका लागि स्वास्थ्यवर्धक हुन्छ भन्ने सोचका साथ पचाउने गरेका छौंँ । 

अब विकासको लहरलाई यसरी बुझौँ । भूपरिवेष्ठित देशमा बसेका हुनाले धेरैले समुद्र नदेखेको कारण लहरसम्बन्धी धारणा पनि नबुझेको देखिन्छ । समुद्रमा जसरी लहर आउँछ हाम्रो विकास पनि त्यस्तै हो । आइरहन्छ, आइरहन्छ र किनारामा ठोकिएर फर्किरहन्छ,फर्किरहन्छ । हामी सरकारमा आएपछि जे जे गर्छौँ भनेर घोषणा गर्छौँ त्यो लहर ल्याउने कुरा हो । त्यस्तो लहर ल्याउन कैयौंँ आयोजनाको घोषणा गर्छौँ, अर्बौँका ठूला परियोजनाको कुरा गर्नेछौँ र कुरैमात्र गरिरहने छौँ । उदाहरणका लागि मेलम्ची परियोजना, किसानलाई रासायनिक मल सुलभ ढंगले उपलब्ध गराउने प्रतिबद्धता, उखु कृषकलाई तिनको उपजको पैसा प्राप्त गराउने दृढता, पानी जहाज चलाउने र रेल ल्याउने उडन्ते कुरा सबै यस्तै लहर हुन् । यिनीहरू आउँछन् र जान्छन् । तर, आउनेजाने क्रममा विदेशबाट ठूलो ऋण लिन र जनताले कर तिरेर जम्मा गरेको राशि खर्च गरेर आफ्ना मान्छेलाई केही वर्षका लागि ठूला पदमा पु¥याउन र नेताको घरमा ढुसी पर्नेगरी पैसा जम्मा गर्न सहयोगी हुन्छन् । देशमा लोकतन्त्र बलियो बनाउन पार्टी बलियो हुनुपर्छ र पार्टी बलियो हुन नेता धनी हुनुपर्छ भन्ने विषयमा जनतालाई पूर्ण ज्ञान छ भन्ने हामीलाई विश्वास छ । 

हामी सरकारमा आयौँ भने अझै धेरै ठूला काम गर्नेछौँ । अब सयमा होइन हजारमा स्कूल, स्वास्थ्य केन्द्र, पुल, बाटो आदिको शिलान्यास गर्नेछौँ । यस्ता शिलान्यास गरिएका योजनाहरूमा हाम्रा समर्थक र मतदाताले लामो समयसम्म जागिर पाउनेछन् । उदाहरणका लागि स्कूलमा विद्यार्थी जान थाले भने निर्माण योजनामा काम गर्नेको पदावधि सकिने अवश्यंभावी हुनाले हामी त्यस्तो गलत कार्य गर्नेछैनौ । अर्थात्, यस्ता निर्माण कार्यहरू सकभर दशकौंसम्म जारी राख्नेछौँ र अर्को निर्वाचनको घोषणापत्रमा पनि हामीले गर्वका साथ शिलान्यास गरेका आयोजनाहरू पुनः स्मरण गराउनेछौँ । स्वास्थ्य केन्द्र, पुल, बाटो पनि यस्तै हुन् । जसले यस्ता लामो समयसम्म रोजगारी दिने आयोजनाको विरोध गर्छ ऊ राष्ट्रघाती र विदेशी दलाल हो । त्यस्ता दलालको भ्रममा नपर्न पनि हामी आह्वान गर्छौँ ।

हामी देशमा समाजवाद ल्याउने विषयमा दृढप्रतिज्ञ छौँ । यसका लागि हामी जो सुकैसँग सहकार्य गर्न तयार छौँं । हाम्रो दलले भ्रष्ट ठेकेदार, मिटरब्याजी, गुन्डा र तिनका संरक्षकलाई दलमा सकभर धेरै स्थान दिएको पनि समाजवाद ल्याउने कार्यमा बल पुगोस् भनेर नै हो । भनिन्छ चोरलाई नै ढुकुटीको साँचो दियो भने ढुकुटीको रक्षा हुन्छ । त्यसैले हाम्रो राजनीतिक दलले उमेदवारीको टिकट दिएका यस्ता व्यक्तिहरूलाई समर्थन गर्नु र मतदान गर्नु यहाँको कर्तव्य हुनेछ । समाजमा भएका सबै गलत तत्त्वहरू जनताको सेवामा लागेर देशमा विकासको “लहर” ल्याउन दत्तचित्त हुन्छन् भने अरुले डाहा गर्नुको कुनै अर्थ छैन ।

हाम्रो परराष्ट्र नीति पनि सबैले बुझ्ने र निकै सहज हुनेछ । जुन देशले सिधै दललाई सहयोग गर्ने नीति लिन्छ उसैले देशका ठूला परियोजनाको ठेक्का पाउनेछ । यस्तो नीतिले हाम्रा विदेशी सहयोगी राष्ट्रहरूलाई कुनै द्विविधा रहने देखिँदैन । विगतमा पनि हामीले हामीलाई सहयोग नगर्ने राष्ट्रलाई कुनै योजनाबाट बेदखल गरेकोमात्र होइन तिनले सहयोग गरेको आयोजनालाई निमिट्यान्न समेत पारेका कैयौं उदाहरण भएकाले उनीहरूले पनि हाम्रो नीति बुझिसकेका छन् । यसरी नीति बुझ्ने देशका कूटनीतिज्ञको आफ्नै पनि आर्थिक समुन्नति हुने भएकाले हाम्रो नीति बुझ्न र सोहीअनुसार गर्न राजी भएको देखिन्छ ।

त्यसैले यही मंसीर ४ गते हुने संघीय संसद्का सांसद र प्रदेश सभाका सदस्य चुन्ने समयमा मतदाताले धेरै सोचिरहनु जरुरी देखिँदैन । जसले गर्न हुनेण्नहुने कार्य गरेर ठूलो धनराशि जुटाएको छ उसैले मात्र देशको विकास कसरी हुन्छ भन्ने बुझेको हुन्छ । त्यसैले त्यस्ता व्यक्तिलाई सकभर धेरै मत दिएर विजयी बनाउन हुन सबैमा हार्दिक अनुरोध छ ।

(टिप्पणी : सबै दलले घोषणा पत्रमा जे जे लेखे पनि सबैले उमेदवार चुन्ने कार्य र सत्तामा आएपछि गर्ने यथार्थ कार्य माथि उल्लेखितजस्तै हुने भएकाले यसलाई राजनीतिक दलको वास्तविक घोषणापत्र मानेर बुझ्नुहुन ।)
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu