site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डा. स्वर्णिम वाग्ले : राष्ट्रसंघको मुख्य आर्थिक सल्लाहकारदेखि चितवन–१ सम्म

काठमाडौं । ०४६ सालको एसएलसीमा बोर्ड सेकेन्ड भएका थिए, स्वर्णिम वाग्ले । काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षाको प्रारम्भ त्यहीँबाट गर्ने निधो गरे ।

सामान्यतः प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नेहरूको रोजाइमा पर्थ्यो, विज्ञान संकाय । प्रविणता प्रमाणपत्र तहपछि छात्रवृत्ति लिनु र देशका कुनै प्रतिष्ठित विश्वविद्यालयमा जानु त्यहाँ पढ्ने विद्यार्थीको नियमित कर्मजस्तै थियो । वाग्लेले मानविकी संकाय रोजे ।

धेरैले उनलाई नकारात्मक ‘मोटिभेसन’ दिए । आफ्नै केही शिक्षकहरूले पनि भने– बूढानीलकण्ठ पढेर बोर्ड सेकेन्ड भएको वाग्ले अर्थशास्त्र पढ्न अब सरस्वती क्याम्पस जाने भयो ।

मार्गरेट थ्याचरको सुधारदेखि अनेक उदाहरण हेरेपछि उनमा इन्जिनियर बनेर पुल बनाउनेभन्दा देश बनाउनुपर्छ भन्ने सपना जागृत भएको थियो । त्यही उद्देश्य लिएर अर्थशास्त्र पढेका उनलाई समाजले साथ दिएन, उडाइरह्यो ।

बूढानीलकण्ठ स्कुल र उनका मित्र नुरु लामा शेर्पा भने उनको साथमा रहे । ‘अर्थशास्त्र पढ्छु’ भनेपछि उनीहरू दुईका लागि तीन शिक्षकको व्यवस्था गरियो । पढ्दै त थिए, तर उनी आफैँलाई पनि डर लाग्न थाल्यो, ‘पढ्न त पढियो, कतै भोलि सरस्वती क्याम्पसमै अर्थशास्त्र पढ्न जानुपर्ने र आफ्नो ब्याचको सबैभन्दा पछिल्लो हैसियत लिएर बस्नुपर्ने त होइन ?’ मनमा डरले डेरा जमाइरहेका बेला उनीसहित साथीहरू त्यस बेलाको राष्ट्रिय योजना आयोगमा भ्रमणका लागि पुगे ।

संयुक्त राष्ट्रसंघको जागिर छोडेर नेपाल आएका डा. रामशरण महत थिए, उपाध्यक्षको कुर्सीमा । डा. महतसँग डराउँदै डराउँदै स्वर्णिमले सोधे, ‘मैले पनि तपाईंले जस्तै अर्थशास्त्र पढेको छु । मलाई विदेशमा पढ्नका लागि स्कोलरसिप मिलाइदिन सक्नुहुन्छ ?’

डा. महत त्यस बेला ४०/४५ वर्षका थिए भन्ने लाग्छ, वाग्लेलाई । महतको स्वभावानुसार ‘यो छात्रवृत्ति दिने ठाउँ होइन, बाहिर जानुस्’ भनिदिएको भए निराश भएर फर्कनुबाहेक उनीसँग अर्को विकल्प थिएन । तर, महतले त्यसो गरेनन् । मसिनो आवाजमा भने, ‘ए अर्थशास्त्र पढेका छौ ? मसँग त त्यस्तो छात्रवृत्तिसम्बन्धी कुनै जानकारी छैन, हाम्रो शिक्षा हेर्ने सदस्यलाई भन्दिन्छु, त्यहाँ गएर बुझ्नु है ।’

यति भनेर महतले फोन गरिदिए । फोनपछि उनी जानकारी गराइएका सदस्यको कोठामा पुगे । ती सदस्यले अर्थशास्त्रमा राम्रो अंक ल्याएमा छात्रवृत्तिसहित भारतमा पढ्न जान पाउने जानकारी गराए ।

“म ‘ब्याचलर पढ्न सरस्वती जालास्’ भन्नेहरूका कुराले बडो चिन्तित हुँदै त्यहाँ पुगेको थिएँ । तर, उहाँसँग भेट भइसकेपछि कम्तीमा पनि इन्डिया पढ्न पाउनेछु भन्दै म फर्किएँ,” डा. वाग्लेले विगत सम्झँदै भने, “तर, पास भएपछि मैले लन्डन स्कुल अफ इकोनोमिक्समा अप्लाई गरेँ । नाम निस्कियो ।”

अरूले भनेजस्तो सरस्वती जाने र समयमा परीक्षा र पढाइ नहुँदा आन्दोलन गर्ने बाटो उनले रोज्नु परेन ।

लन्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर डिग्री लिएपछि वाग्ले नेपाल फर्किए । दुई वर्ष यतै अनुभव सँगाले । अनि, मास्टर्स डिग्रीका लागि अप्लाई गरे, अक्सफोर्ड र हार्वर्डमा एकसाथ । नाम दुवैतर्फ निस्कियो । उनले हार्वर्ड रोजे । हार्वर्डबाट मास्टर्स डिग्री लिए । त्यसपछि कामको सिलसिलामा अष्ट्रेलिया पुगे । त्यहीँबाट विद्यावारिधि उपाधि प्राप्त गरे ।

वाग्ले सम्झन्छन्, “पढाइका लागि झन्डै १० करोड खर्च भएछ । अहिलेसम्म आफूले एक रुपैयाँ खर्च गरेको छैन । बरु, स्कोलरसिपबाट आएको पैसा बचाएर जग्गा किनेको छु । अरू आफ्ना आवश्यकता पूरा गरेको छु । पढाइका लागि आफ्नो एक रुपैयाँ खर्च गर्नुपरेको छैन ।”

यहीबीचमा वाग्लेले यूएन एजेन्सी र विश्व बैंकमा झन्डै २० वर्ष काम गरे । ०७२ सालमा बनेको ओली सरकार ०७३ असारमा ढल्यो । त्यसअघि नै डा. वाग्ले नेपाल आएर पोस्ट डिजास्टर निड एसेस्मेन्ट (पीडीएनए)को उपप्रमुख बनेर काम गरिसकेका थिए ।

अनुभव र पफर्मेन्सका आधारमा राम्रै डलरको कमाइ थियो । त्यो कमाइ र सुविधा चटक्कै छोडेर वाग्ले काठमाडौं फर्किए । अनि, सिधै पुगे राष्ट्रिय योजना आयोगको सचिवालय । जहाँ उनी २८ वर्षअघि आफ्नो भविष्य सुरक्षित छ कि छैन भनेर बुझ्न पुगेका थिए ।

उनले यूएनडीपीमा काम गर्दा सन् २०१३ मा ‘द राइज अफ  द साउथ’ शीर्षकमा लेखिएको विश्व मानव विकास प्रतिवेदनमा सहलेखन गरेका थिए । समकालीन मात्र होइन, अघिल्लो पुस्तालाई समेत पछि पार्दै उनले अन्तर्राष्ट्रिय अनुभव सँगालेका छन् । त्यहाँको अनुभवसहित योजना लिएर स्वदेश फर्किएका छन् ।

“टर्किस एयरलाइन्सबाट ओर्लिएपछि म घर पुगेर नुहाए । कपडा फेरे । बुवालाई ट्याक्सी लिएर आउनु भनेर सिधै राष्ट्रिय योजना आयोगको बैठकमा पुगेँ । त्यहाँको बैठक सकेर मात्र मैले नियुक्ति, शपथसहितका काम गरेको हुँ,” वाग्लेले सम्झँदै भने, “त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । उपाध्यक्ष बनाउनुस् भनेर भन्दा अलिक सिनियरलाई ल्याउने कि भन्नुभयो ।”

त्यति बेला उनले देउवालाई भने, ‘मै हुँ सिनियर । वरीयतामा उपाध्यक्षपछि म छु । मसँग योजना छन् । छोटो समय भए पनि म काम गर्न चाहन्छु ।’

निर्वाचनका लागि जम्मा चार महिना बाँकी थियो । चार महिनामा नेपालको प्रतिव्यक्ति आय दोब्बर गर्ने वा कायापलट हुन्छ भन्ने कुरा सम्भव थिएन । त्यसैले उनले संघीयताअनुरूप राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने र आयोगलाई नीति तथा योजना आयोगका रूपमा अघि बढाउनेसहितका प्रस्ताव पेस गरे । देउवाबाट योजना आयोगको उपाध्यक्षमा नियुक्त भए ।

चार महिनामा उनले आफूले भनेका आठवटै शीर्षकमा काम गरेर देखाए । निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ हुँदा देउवा सरकार थप दुई महिना चल्यो । त्यतिञ्जेलमा उनले प्रतिवेदन तयार पारे । र, सरकारलाई बुझाए । ओली सरकार आएर सिंहदरबार टेकेकै दिन भेटेर राजीनामा बुझाए । आफ्ना कामको ‘ब्रिफिङ’ पनि गरे ।

ओली सरकार गठन भएको चौथो महिनामा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याए । एमालेका धेरैले विरोध जनाए । कांग्रेसमा पनि त्यसका कमी–कमजोरीको खोजी गरेर संसद्भित्र र बाहिर आलोचना जारी थियो । तर, डा. वाग्लेले ‘बजेट दीर्घकालीन सोचसहित आएको’ भनेर समर्थन जनाए । राम्रै सोचले ल्याएको हो भने हतोत्साही गर्नु हुँदैन भन्ने उनलाई लागेको थियो ।

ओली सरकारका ६ महिना बित्दा नबित्दै नगरिकमा गठनताकाको उत्साह घट्न थालिसकेको थियो । त्यही बेला डा. वाग्लेले लेखे, ‘ओलीको ओइलाएको अवसर’ । धेरैले आलोचना गरे । ओलीले अवसरको सदुपयोग नगर्दा देशलाई नै घाटा पुगेको उनको विश्लेषण थियो । 

०००

सन् २०१९ को अन्त्य हुँदै गर्दा विश्वमा नयाँ संकट देखापर्‍यो । त्यहीबीचमा यूएनडीपीको एसिया प्यासिफिक क्षेत्रका ३६ देश हेर्ने गरी मुख्य आर्थिक सल्लाहकार बन्न उनलाई प्रस्ताव आयो । योजना आयोगबाट बाहिरिएपछि मिडियामा अन्तर्वार्ता दिने र स्वअध्ययन गर्नेबाहेक कुनै काम थिएन । तर, महत्त्वपूर्ण अवसरमा जानका लागि इच्छा भए पनि उनले एकल निर्णय गर्न सकेनन् ।

अमेरिकाको लामो बसाइ छोडेर परिवारसहित नेपाल फर्किएका थिए । नेपाली कांग्रेसको राजनीतिमार्फत देशको सेवा गर्ने घोषणा उनले गरिसकेका थिए । यूएनडीपीको अफर स्वीकार गरेर अमेरिका जाने/नजाने निधोका लागि कांग्रेसकै नेताहरूलाई सोध्ने निर्णय गरे । प्रा. डा. गोविन्दराज पोखरेलका साथमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह र गगन थापासँग भेटेर जानकारी गराए । सोधे– जाऊँ कि नजाऊँ ?

डिल्ली चौधरीका साथमा गएर शेरबहादुर देउवालाई भेटे । आफू मात्र जाँदा कुरा काट्नेहरूलाई जवाफ दिन भरपर्दा साक्षी राख्न साथमा अरूलाई पनि लगेको उनको भनाइ छ । “अन्य नेताहरूले ‘त्यस्तो अवसर छ भने गइहाल’ भन्नुभयो । गगन थापाले ‘एकपटक सोच्नुस्, सकेसम्म नजानुस्’ भन्नुभयो । मैले कामको नेचर र समयावधि बताएपछि उहाँले जानका लागि प्रोत्साहन गर्नुभयो,” डा. वाग्ले भने, “जब शेरबहादुर देउवाकोमा पुगेँ, उहाँले ‘एकदम राम्रो अवसर हो, त्यहाँ जानुस् । नेपालीहरू कसले पाउँछ यस्तो अवसर, गएर काम गर्नुस् र आउनुस्’ भन्नुभयो ।” उनले सबैको सुझावपछि आफू यूएनडीपी गएर १८ महिना काम गरेर फर्किएको बताए ।

यूएनडीपीमा रहँदा कोरोना महामारीमा विश्वका देशहरूको अवस्था, महामारीको व्यवस्थापनसँगै आर्थिक संकटको व्यवस्थापनसहितका ती देशका अनुभव सँगाले । 

०००

जुगौँजुगपछि लामो सास फेर्दै 
फेरि पनि म भन्नेछु–
जंगलको बीचमा बाटो छुट्टियो 
मैले बेचल्तीको बाटो रोजेँ
सबै फरक त्यसैले परेको हो ।

रोबोर्ट फ्रस्टको ‘द रोड नट नेकन’ शीर्षकको माथिको कवितांशजस्तै वाग्लेको जीवन फरक ढंगले अघि बढेको छ । उनीसँगै अध्ययन गरेर विज्ञान संकाय पढेकाहरू कहाँ छन्, कमैको नोटिसमा होलान् । तर, उनी विश्व बैंकसहितका अन्तर्राष्ट्रिय संस्थाहरूमा आबद्ध भए । नेपालका उच्चपदस्थ व्यक्तिहरूको नोटिसमा परे । बोलाएरै योजना आयोगको सदस्य र उपाध्यक्ष बनाइए ।

अहिले उनी चितवन क्षेत्र नम्बर–१ बाट संघीय सांसद बन्नका लागि उमेदवार सिफारिस भएका छन् । एउटा ‘आइडल’ सांसद बनेर देखाउने उनको योजना छ ।

“एउटा सांसद हरेक विषयमा कसरी प्रस्तुत हुनसक्छ, हरेक विधेयक पढेर अन्तर्राष्ट्रिय अभ्यास र यहाँको वस्तुस्थितिको तुलना गर्दै कसरी प्रस्तुत हुनसक्छ, संसद्को सबैभन्दा महत्त्वपूर्ण स्थान मिनि पार्लियामेन्ट (समितिहरू) हो, त्यहाँ कसरी प्रभावकारी भूमिकामा देखिन सक्छ भनेर देखाउने गरी काम गर्ने योजना छ,” डा. वाग्ले भन्छन्, “सांसदको कार्यालय एउटा व्यवस्थित कार्यालय बनाउने, त्यो कार्यलयमा सबै जातजाति र वर्गका मानिसको पहुँच स्थापित गर्ने र उनीहरूका समस्याका आधारमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने ।” उनको योजना एउटा आदर्श सांसद बन्ने भए पनि सामाजिक अपेक्षा फरक छ ।

उनलाई नेपालको भोलिको अर्थमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिँदै छ । सामाजिक सञ्जालदेखि आर्थिक/राजनीतिक क्षेत्रले उनलाई भोलिको अर्थमन्त्रीका रूपमा हेरिरहेको देखिन्छ । वाग्ले भने बल्ल संसद् छिर्न टिकट मागिरहेको अवस्थामा मन्त्रीको सपना नदेखको बताउँछन् ।

“अहिले त म चुनाव लड्नका लागि टिकट माग्दै छु । टिकट पाएँ भने चुनाव जित्नका लागि काम गर्नुछ । चुनाव जितेपछि एउटा सांसदको रूपमा भूमिका निर्वाह गर्ने हो,” डा. वाग्लेले बाह्रखरीसँग भने, “मन्त्रीका रूपमा काम गर्न पाउनु धेरै ठूलो अवसर हो । त्यस्तो अवसर आउँछ भने अधिकतम सदुपयोग गर्नु मेरो कर्तव्य हो ।”

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्