site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैले जे सिकेँ ड्याडीबाटै सिकेँ 

ड्याडीलाई मैले पकाएको सबैभन्दा मिठो लाग्ने भनेकै (चाइनिज तरकारी) अर्थात् मिक्स भेज तरकारी थियो । म बिहे गरेर आइसकेपछि पनि उहाँले जहिले भन्नुहुन्थ्यो ‘तैँलेजस्तो मिठो चाइनिज तरकारी यहाँ कसैलाई बनाउन आउँदैन’ ।

उहाँले हामीलाई मात्रै होइन सबैलाई प्रोत्साहन गरिबक्सन्थ्यो । ड्याडीका हल्का हल्का कपाल फुल्न थाल्दा पनि ‘एउटा सेतो कपाल निकालिस् भने यति पैसा दिन्छु’ भन्दै हामीलाई कामप्रति प्रोत्साहन गरिबक्सन्थ्यो । वास्तवमा त्यो प्रोत्साहन रहेछ ।

हुन त ड्याडी बीचमा शाकाहारी नै होइबक्सिन्थ्यो तर पछि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरुकै सल्लाहमा उहाँ मांशाहारी हुनुपर्‍यो ।

ड्याडीले हामी सबैलाई प्रोत्साहन गरिबक्सिन्थ्यो । पहिला भर्खरभर्खर पकाउन सिक्दा नमिठै पकाए पनि मिठो छ भन्दै प्रयासको लागि बक्सिस दिइबक्सिन्थ्यो ।

मामुलाई भनेर कहिले ५ रुपैयाँ कहिले कति रुपैयाँ बक्सिस दिन लगाइबक्सिन्थ्यो ।

ड्याडीलाई मिठाईँ पनि उत्तिकै मन पर्ने । विशेषगरी जिलेबी, रसबरीजस्ता मिठाईँहरु उहाँलाई एकदमै मन पर्थ्यो । तर सुगरका कारण उहाँले गुलियोहरु बार्नुपर्ने भयो । 

पछिल्लो समय त ड्याडीलाई हप्ताकै दुईपटक डायलासिस गर्नुपर्थ्यो । उहाँले पछिल्लो समय केही पनि खानै छोडिबक्सेको थियो । कमजोर भइबक्सेको थियो ।

ड्याडीसँगको सम्झना 

सबै परिवारमा बुबाको नजिक छोरीहरु हुन्छन् भनेजस्तै म पनि ड्याडीको एकदमै नजिक थिएँ । तर यति भनिरहँदा ड्याडीले हामी तीन सन्तानमा कहिले पनि कसैलाई बढी र कसैलाई कम गरिबक्सेन । ड्याडीले हामीलाई एकदमै अनुशासनमा राखिबक्सिन्थ्यो । म ड्याडीलाई उहाँको अनुशासन, इमान्दारिता र नैतिक मूल्यहरुका लागि  सम्झिन्छु । यो मैले मेरो ड्याडी भएर मात्र भनेको होइन तर उहाँ साँच्चै नै एकदमै अनुशासित होइबक्सिन्थ्यो र हामीलाई पनि यसको पालना गराइबक्सिन्थ्यो ।

ड्याडी एकदमै कडा स्वभावको होइबक्सिन्थ्यो । तर हाम्रा लागि प्रिय र समय पनि दिइबक्सिन्थ्यो । साँझको ९ बजे हामी बेडमा जानैपर्थ्यो र लाइट अफ हुनैपर्थ्यो । स्कुलबाट आएपछि खेल्ने समय हुन्थ्यो । एकछिन खेलेपछि हाम्रो पढ्ने समय हुन्थ्यो । चाहे जे सुकै होस् रातिको ९ बजे पछि बत्तीहरु अफ हुनैपर्थ्यो । बिहान हामी ६ बजेसम्म उठिसक्थ्यौं । त्यो अनुशासनभित्र हामी बस्नैपर्थ्यो । 

ड्याडी विभिन्न क्षेत्रमा होइबक्सिन्थ्यो तर पनि हरेक बिदामा हामीलाई घुमाउन लैजाइबक्सिन्थ्यो । हरेक शनिबार ‘सर्ट ट्रिप’ हुन्थ्यो भने लामो बिदामा बाहिर कतै कतै घुमाउन लगिबक्सिन्थ्यो ।

सरकारी कर्मचारी भएर पनि उहाँको धेरै ठाउँमा सरुवा भएन । त्यहीँ वीरगन्ज चिनी कारखाना र कलकत्ताको महावाणिज्य दूतावासमा हुँदाबाहेक हामी काठमाडौंमै जन्मियौं र यहीँ हुर्कियौं । त्यसैले उहाँसँग यसरी बाहिर गएको पलहरु मलाई धेरै मिस हुन्छ । 

सबैभन्दा धेरै उहाँले सरकारबाट पाउनु भएका सम्मानहरु अविस्मरणीय पलहरु हुन् । उहाँको योगदानको कदर गर्दै नेपाल सरकारले थुप्रै तक्माहरु दिएको छ । पापाले ती तक्माहरु पाउनुहुँदा एकदमै खुसी हुन्थ्यौँ हामी ।

जे सिकेँ, ड्याडीबाटै सिकेँ...

पापाले आफ्नो जीवन सरकारी सेवामा बिताइ बक्स्यो । सरकारी जागिरे भए पनि ड्याडी समयको अति बढी ख्याल गर्ने व्यक्ति होइबक्सिन्थ्यो । उहाँबाट मैले अनि हामी सबैले सिकेको भनेकै ‘समयको महत्व’ हो । 

१० बजे भनेपछि १० बजे नै हो, न १ मिनेट ढिला न १ मिनेट चाँडो । हामीलाई हरेक कुरा समयमा गर्नुपर्छ भनेर सिकाइबक्सेको थियो । त्यसैले हामी हरेक कुरा त्यसको समयमा गर्ने बानी परेका थियौँ । 

अहिले पनि हामी कतै जानुप¥यो भने ठ्याक्कै समयमा नै पुग्छौं । ड्याडीले सानैदेखि सिकाइबक्सेको हामीमा त्यो बानी रहिरह्यो । 

समयको महत्व, इमान्दारिता, अनुशासन मैले उहाँबाट सिकेका कुराहरु हुन् । ड्याडीले धेरै कुरामा दख्खल राखिबक्सन्थ्यो । मैले समाजशास्त्रमा मास्टर सकाएँ । मलाई पनि उहाँ जस्तै जागिर खाएर आफ्नो तर्फबाट देश अनि समाजलाई केही न केही योगदान पुर्‍याउँ भन्ने मन थियो । 

तर पहिले पढाइमै केन्द्रित भयौँ, पछि विवाह गरेँ । श्रीमान् पनि सरकारी जागिरे होइबक्सेकाले कहिले कता कहिले कता सरुवा धेरै हुने भएकाले एकैठाउँमा धेरै बस्न पाइँदैन थियो । त्यसैले ड्याडीले जस्तै जागिर खाएर सेवा गर्न सकिन । 
ड्याडीले मायाले बोलाउने नाम 

हामी संयुक्त परिवारमा हुर्किएका हुनाले पनि दिनको एक समय भने सबैजना सँगै बसेर कुराकानी गर्थ्यौँ । मेरो डकुमेन्टहरुमा श्री नाम छ । यो नाम मलाई ड्याडीले नै राखिदिइबक्सेको हो ।

तर ड्याडीले कहिल्यै मलाई श्री भनेर बोलाएको मैले सुनिन । ड्याडीले मलाई धेरै नाम राखिदिइबक्सेको थियो । ‘मुन्चु’, ‘बीच्चे’ अनि ‘डल्ली’ पनि भनेर बोलाइबक्सन्थ्यो । ‘बीच्चे’ को अर्थ के हो र किन राखिबक्सेको होला थाहा भएन । 

सायद बीचको भएर हो कि । दाइ र भाइको बीचमा म नै हुँ । त्यसैले हो कि जस्तो लाग्छ । ड्याडीले ‘मुन्चु’ भनेर बोलाउने भएकाले घरमा पनि मलाई प्रायः ले ‘मुन्चु’ नै भनेर बोलाउनुहुन्छ । 

किताब अनि समाचार प्राथमिकता 

ड्याडी बिहान ६ बजेदेखि साँझ ८, ९ बजेको समाचार सुन्नु अनि हेरिबक्सन्थ्यो । ड्याडीको समाचार आउने समयमा कोही पनि बोल्न पाउँदैन थियौँ । उहाँलाई ‘डिस्टर्ब’ हुनु हुँदैनथ्यो ।

अखबार पढ्ने अनि सामाचार सुन्ने उहाँको दैनिकी नै हो । कहिले पनि छुटाइबक्सेन ।

ड्याडीको नजिक हुन पाइन

ड्याडीलाई उहाँको अन्तिम पलहरुमा त्यति नजिकबाट हेर्न भेट्न त्यति पाइएन । यहि कुराले गर्दा दुःख लाग्छ । कोभिडको लहरका कारण नजिक जान सम्भव थिएन । 

किनभने उहाँको स्वास्थ्य केही जटिल भैसकेको थियो । त्यसैले हामी एकदमै केयरफुल हुन्थ्यौं ।  ड्याडीसँग पछिल्लो समय नजिक हुन सकिन, अहिले ‘मिस’ गरेकै त्यही क्षण हो ।

(स्वर्गीय दुर्गा प्रकाश पाण्डेयकी छोरी श्री रायमाझीसँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानी)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro