site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement
एसएलसी उत्तीर्ण हुँदा पाएको उपहार 

अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुँदा विद्यार्थी भाइबहिनीलाई अभिभावकले के के उपहार दिन्छन् होला ? वा उपहारमा आफ्ना अभिभावकसँग  विद्यार्थीले  के  माग्छन् होला ?  ल्यापटप, स्मार्ट वाच, महँगा मोबाइल वा यस्तै अन्य केही ग्याजेट ? 

अहिलेको एसईईजस्तै हाम्रो पालामा विद्यालय अध्ययनको अन्तिम परीक्षालाई प्रवेशिका (एसएलसी) भनिन्थ्यो । एसएलसी अर्थात फलामे ढोका । 

हुनत, हामी हुर्केको गाउँघरमा अभिभावकबाट अहिलेजस्तो उपहार पाउने कुरा कल्पना बाहिरको हुन्थ्यो । तर, मेरो हकमा त्यस्तो भएन । मैले एउटा उपहार पाएको थिएँ । त्यो  उपहार मेरो रुचिअनुसारको  भने थिएन । अझ भनौँ त्यो उपहार ममाथि थोपरिएको थियो । जबरजस्ती लादिएको थियो ।

Dabur nepal
Agni Group

हाम्रो एसएलसी परिक्षा सकिएको केही सातापछि बाबा बेल्टार हटिया जानुभयो ।  बेल्टार दक्षिणी खोटाङ र भोजपुरदेखि हालको चौदण्डीगढी नगरपालिका आसपासको प्रमुख व्यापारिक केन्द्र हो जहाँ अहिले पनि हरेक बिहीवार ठूलो हटिया लाग्ने गर्छ ।

बाबाले बजार वा कतैबाट आउँदा हामीलाई केही खानेकुरा, खेलाउने कुरा वा कुनै उपहार ल्याइदिएको मलाई याद छैन । त्यो दिन भने फरक भयो । उहाँले मलाई नै भनेर एउटा बडो उदेकलाग्दो उपहार लिएर आउनुभएको थियो । उपहार देखेपछि म  आश्चर्य चकित भएको थिएँ । 

म एसएलसी दिएर रिजल्ट पर्खेर बसेको त्यो साल हाम्रो घरमा एक हल गोरु र अर्को एउटा हल नभएको गोरु पनि थियो - कजुवा गोरु।   त्यही कजुवा गोरु सँगै मेरो उपहार ग्वालीमा मस्त घाँस खाँदै उग्राई रहेको थियो । दाम्लोमा बाँधिएर घाँस खाँदै गरेको त्यो उपहारले मलाई हेर्दै गिज्याए झैँ लागिरहेको थियो ।

हाम्रो बाबा मलाई साऱ्है सरल मिजासको लाग्नु हुन्छ । त्यस्तै हुनुहुन्छ पनि। मलाई त्यो दिन भने जस्तो सोचेको थिएँ उहाँ त्यस्तो फिटिक्कै लागेन। एउटा गोरु ल्याएर थप दुइटा गोरु तह लगाउन खोज्ने मान्छेलाई कसरी सरल भन्न सकिएला र ? 

मेरो उपहार देखेर म प्रतिक्रिविहीन भएको थिएँ । अझ भनौँ रुनु र हाँस्नुको दोसाँधमा थिएँ । त्यही बेला नेपथ्यमा हरिवंश आचार्यको “हाम्री आमा साह्रै नै  बाठी छिन्………” बोलको   गीत “हाम्रा बाउ साह्रै नै बाठा छन्, एउटा गोरु किनेर दुइटा दा'का छन्।”  बजिरहे झैँ लाग्यो ।

घरको दलानमा झुन्डिएको रेडियो तिर हेरेँ । रेडियो शान्त छ ।  रेडियो बजेको थिएन । खासमा बजेको त मेरो मनमा ढ्याङ्ग्रो चाहिँ थियो । ढ्याङ्ग्रो मात्रै हैन, पूरै ब्यान्ड नै बजिरहेको थियो । 

खिन्न मनलाई सान्त्वना दिन भएभरको सबै सहानुभूति भेला गर्दै थिएँ मनमनै । त्यही बेला बाबाले नयाँ गोरुतिर आँखाको इसाराले संकेत गर्दै मलाई हेर्दै भन्नुभयो - "ऊ हेर ! तँलाई उपहार!! गोरु ल्याइदिएको छु । अब भोलिदेखि खेत बाँझो मार्नुपर्छ। ढिलो हुन लागिसक्यो।”  हतारो भावमा थप्दै भन्नुभयो  “सबैले बाँझो मारेर एकचास लाउन पनि थालिसके। हाम्रो भने बाँझो मार्नसमेत थालेको छैन।” म उहाँलेको कुराले फेरि झसङ्ग भएछु । 

भोलिपल्ट बिहान सबेरै उठेँ । आँगनमा दुई हल गोरुलाई आमाले भुसपानी दिइरहनु भएको थियो । नजिकै पारिगाउँ ढिम्की टोलका कामी माइला पनि हातमा लौरो र हल्लुँड बोकेर ठिक्क परेका छन्, खेतको मेलोतिर लाग्न । बाबा चाहिँ मेरो लागि हलो र जुवा निकाल्न ।

सबै चाँजोपाँजो मिलाइसकेर उहाँको निर्देशन आयो - “आज डुँगा खेतको कुलो मुनिको ठूलो गरोदेखि सुरू गर्नु । बाह्र नबजी गोरु नफुकाउनु नि । दस बजेतिर खाना भाइले मेलामा नै लिएर आउँछ, उतै खानु।” 

दुवै माइला गोरुलाई जुवामा नारेर काँधमा हलो बोकेर खेततिर लाग्यौँ । म भने मेरो उपहारलाई अघिअघि लाएर आफु चाहिँ पछिपछि हिँडिरहेको थिएँ। कसैलाई पनि पाएको उपहारले यति धेरै दुःख दिएको मैले थाहा पाएको छैन । अहिले पनि उपहार भनेपछि म तर्सिने गर्छु । 

दिन, साता गर्दै महिना बित्यो । दुई माइलाले बाँझो मार्न थालेको खेत एक चास, दुई चास, गजार गर्दै रोपाइँसम्म गर्न थालिएको थियो। लगभग सबै रोपाइँ सकिने क्रममा थियो। 

बेला आजभोलिकै जस्तो थियो । असार अन्तिम वा साउनको सुरु हुनुपर्छ ।  हाम्रो साजबोटे खेतमा ठूलो रोपाइँ हुन्थ्यो। मैजारो रोपाइँ । लगभग ८-१० हल गोरु र २०-२२ जना रोपारसहितको। एउटा सानोतिनो मेला झैँ हुन्थ्यो हाम्रो साजबोटे खेतको रोपाइँ। 

बाउसेले रोपो तयार पारिसकेका थिए । रोपारहर" कोही रोप्न व्यस्त थिए त कोही ब्याडबाट बीउ ओसार्दै थिए । रोपाइँमा म आफ्नै सुरमा थिएँ । रोपाइँको मजा लिइरहेको थिएँ। मजा त लाग्नै भयो म जोतिने दिन जो सकिँदै थियो।   

यत्तिकैमा एउटा आवाज एक्कासी मेरो कानमा ठोक्कियो। “ ए प्रदीप ! प्रदीप!! तेरो एसएलसीको रिजेल्ट आयो रे, रेडियोले समाचारमा फुक्दै थियो।” त्यो हाम्री आमाको आवाज थियो। आवाज आएतिर हेरेँ । उहाँलाई देखिन । फेरि आलीमा उक्लिएर तल साजबोटे खोलातिर हेरेँ । आमा खोला तर्दै गरेको देखेँ । आमा खाना लिएर आउनुभएको थियो मतिर हेर्दै फेरि उही कुरा दोहोऱ्याउनु भयो । जो सुन्न म विगत तीन महिनादेखि कुरेर बसिरहेको थिएँ – “तेरो रिजल्ट आयो रे !”   

आमाको मुखबाट त्यत्ति कुरा खस्न नपाउँदै म बुर्कुसी मारेर एकैपटक साजबोटे खोलामा पुगेँ । उहाँले भन्नुभयो, “खाना खाएर जा । तँलाई पनि यतै लिएर आएको छु।” म भने थप केही सुन्ने स्थितिमा नै थिइन । मेरो बुर्कुसीलाई आमाको अनुरोधले रोक्न सक्ने कुरै भएन । 

म हावाको बेगमा दौडिएर खोला तरिसकेको थिएँ। एकै फड्कामा घर आइपुगेँ । जिउमा लागेको हिलो पखाल्न हतार हतार नुहाएँ । लुगा फेरेर आँगनमा राखेको साइकल लिएर भोको पेट नै फत्तेपुर तिर हुइँकिएँ । 

त्यतिबेला परीक्षाको नतिजा थाहा पाउने एकमात्र माध्यम गोरखापत्र नै हुन्थ्यो । त्यो पनि पास भएको श्रेणी र फेलमात्र थाहा हुने । गोरखापत्रमा सिम्बल नम्बर भेटिए पास, नत्र फेल । अहिलेजस्तो रिजल्ट आउनासाथ मोबाइलमा सम्पूर्ण जानकारी कहाँ पाउनु ?  कुन विषयमा कति अंक आयो भन्ने थाहा पाउन त महिनौ कुर्नुपर्ने ।  त्यो स्कुलमा मार्कसिट आएपछि मात्र थाहा पाइन्थ्यो। 

बाटोमा राजावासको जंगलमा अनुज चौधरी भेटियो । अनुज पनि साइकलमा नै हुइँकिइरहेको थियो। दुवै भाइ फत्तेपुर पुग्यौँ। एउटा पीसीओबाट रमेश राउत दाइलाई फोन लगाएर रिजल्ट बुझ्यौँ ।      

रमेश दाइको काठमाडौंको कुलेश्वरमा इलेक्ट्रोनिक्स सामानको पसल थियो, त्यो पसल अझैसम्म पनि छ । रमेश दाइले बिहानै गोरखापत्रबाट हाम्रो स्कुलको  रिजल्ट टिपेर बस्नुभएको रैछ । “हेलो! म फलानो बोलेको” मैले फोनमा यति भन्न नभ्याउँदै रमेश दाइले रिजल्ट बताइदिनु भयो। 

हाम्रो ब्याजमा लगभग ६०/६५ जना जतिले एसएलसी दिएका थियौँ। मेरो अपेक्षा फस्ट डिभिजनकै थियो। तर खासगरी विज्ञान, ऐच्छिक कृषि र ऐच्छिक गणितको परीक्षा खासै राम्रो भएको थिएन । । अन्ततः रिजल्ट पनि त्यस्तै आयो । सोह्र जनामात्रै पास भयौँ सबै सेकेन्ड डिभिजनमा । अनुज खुसी थियो । म भने न खुसी, न त दुःखी नै । 

एसएलसी परीक्षा नतिजासँगै म जोतिने समय पनि लगभग सकिएको थियो। बिहान देखिको भोको पेट, रोपाइँको जोताइ र त्यसमाथि १५/१६ किलोमिटर बेपत्तासँगको साइकल हुइँक्याइले ज्यान लखतरान भएको थियो । दुवै भाइ एउटा होटलमा खाजा खाएर फेरि साइकल पेल्दै घरतिर लाग्यौँ । 

रिजल्ट बुझ्न जाँदाको जस्तो जोस, जाँगर र उत्साह फर्किँदा केही पनि बाँकी थिएन हामीमा । फलामे ढोकाको मनोवैज्ञानिक भारीले थिचिएर होला सायद हामी अलिक बढी नै थकित थियौँ । हाम्रो अवस्था चौतारोमा ठूलो भारी बिसाएर सुस्केरा हाल्दै आराम गरिरहेको भरियाको जस्तो थियो जसले पुनः आफ्नो भारी उठाएर गन्तव्य नाप्नु त छँदैथियो । हामीसँग पनि आगामी रुमानी यात्राको बाटो हाम्रो अगाडि तेर्सिरहेको थियो उच्च शिक्षा अध्ययनको । 

भर्खरै एसईईको नतिजा प्रकाशन भएको छ । हाम्रो बेलामा प्राप्तांकको आधारमा गरिने श्रेणी विभाजनलाई अहिले अक्षर ग्रेडिङ्गले विस्थापित गरेको छ । तर, एसईईलाई अझै पनि फलामे ढोकाको मनोविज्ञानको कृत्रिम हाउगुजीले भने छोड्न सकेको छैन । 

हाम्रा कलिला भाइबैनीले यस्ता कृत्रिम फलामे ढोकाविहीन यात्रा निर्वाध गर्न पाउन् । हाम्रो शिक्षा र परीक्षा प्रणालीमा प्रशस्त सुधारको खाँचो देखिन्छ जुन चाँडै भएको देख्न पाइयोस् । कुनै पनि परीक्षा र यसका नतिजाहरु विद्यार्थीको सिकाइ र विकासमा अर्को एउटा ईँटा थप्ने काममा सफल हुनसक्ने हुनुपर्छ न कि फलामे तगारो बन्ने । अब हुने कुनै पनि परिक्षा र यसका नतिजा हाम्रा नानीबाबुको यात्रामा तगारो नबनून् !

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu