निर्वाचन आयोगले आम निर्वाचनको मिति घोषणाका लागि सरकारसमक्ष सिफारिस गरिसकेको छ ।
यद्यपी सरकारले मिति घोषणा गरिसकेको छैन । मंसिरमा निर्वाचन हुने नेताहरुले बताइरहेका छन् । राजनीतिक दलहरु निर्वाचनमा जुट्न थालेका छन् ।
प्रस्तुत छ, स्थानीय तहको निर्वाचनको परिणामको समीक्षासँगै आगामी निर्वाचनको तयारीका विविध सन्दर्भमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसँग बाह्रखरीका रोमन आचार्य र कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
संघ र प्रदेशको निर्वाचनका लागि मिति घोषणा हुन त बाँकी छ । चुनावका लागि एमाले कस्तो तयारी गर्दैछ ?
एमाले भोलि बिहान नै चुनाव हुन्छ भने पनि तयारीमा छ । निर्वाचनलाई पहिलो प्राथमिकता दिन्छौं । निर्वाचन अहिले एकदमै जरुरी पनि भइसक्यो । किनभने गठबन्धनमार्फत् मुलकुमा जुन ब्रह्मलुट भइरहेको छ । त्यसबाट मुलुकले मुक्ति पाउनुपर्छ । त्यसपछि हामीले वा कांग्रेसले सरकार बनाए पनि अहिलेको बेथिति जति हुँदैन भन्ने लाग्छ ।
अहिले माओवादीले कांग्रेसलाई दोष दिने कांग्रेसले माओवादीलाई दोष दिने र सबै मिलेर गठबन्धनले ‘हारालुुस’ गर्ने जुन स्थिति भइरहेको छ यसले मुलुक समाप्त हुँदैछ । अहिलको बिग्रेको अर्थतन्त्र मिलाउन अर्को एक वर्ष गाह्रो हुन्छ । हामी सरकार चलाऔंं, चाहे अरुले सरकार चलाउन् चुनाव त अति आवश्यक भइसक्यो ।
हामीले यस्तो हुन्छ भन्ने कुरा ०७७ पुस ५ गते नै देखेका थियौं । जब जनमत खण्डित हुन्छ, त्यसपछि निर्वाचनबाहेक बाटो हुँदैन । साथीहरुले उल्टो आरोप लगाउनुभयो । अघि बढ्नुपर्थ्यो पछि हट्यो भन्दै प्रतिगमनकारीको आरोप पनि लगाउनुभयो । तर, समयले के बुझाउँदै गएको छ भने अगाडि नजाने हो भने बिग्रिन्छ भन्ने कुरा पुष्टि हुँदै गएको छ ।
मंसिरमा नै चुनाव हुन्छ त भन्नेमा आशंकाको स्वर पनि सुनिन्छ । समयमा नै चुनाव हुन्छ भन्नेमा तपाईँहरु ढुक्क हुनुहुन्छ ?
आशंका त हामीलाई छ । किनभने कुनै नियम फलो नगर्ने मानिस सत्तामा बसेपछि कुन बेला के गर्छन् भन्न सकिँदैन । दुईवटा कुरामा कुनै सिक्वेन्स देखिँदैन ।
अहिले तीन चार महिना बाँकी रहँदा प्रतिनिधिसभाको उपसभामुख नियुक्ति गर्न किन हतार गर्नुपर्यो ? तर राष्ट्रिय सभाको उपाध्यक्ष चाहिँ किन चयन गरिएन ? त्यसले नियत देखिन्छ , शंका गर्ने ठाउँ छन् ।
दोस्रो कुरा– साढे दुई,तीन वर्षसम्म हामीले पेश गरेको नागरिकता विधेयक अड्काएर राखियो । समितिले प्रतिवेदन बनाएर पेश गरेकोलाई फिर्ता लिइयो ।
फिर्ता लिइएको रात बित्न नपाउँदै नयाँ विधेयक दर्ता गरेर त्यसमा छलफल नै नगरेर पास गराइयो । यसमा कतिपय आशंका छन् । यो चिर्ने काम सत्ताधारी दलको हो ।
बाघ कराउने र बाख्रा हराउने एकैपटक हुन्छ भनेजस्तै चिनियाँ टोलीको भेटलगत्तै प्रचण्ड भारत जानुभयो । त्यहाँबाट फर्केर आउँदाआउँदै उहाँले बाटैमा अन्तर्वार्ता दिनुभयो । मैले यो–यो कुरामा स्वदेशी विदेशीलाई रेस्पोन्स गरेको छु भनेर । यसको सत्ता गठबन्धनमा केही हुँदैन भन्नुभयो । त्यसको भोलिपल्ट चाहिँ अनपेक्षित ढंगले उहाँ आफैंले विरोध गरेको प्रावधान राखेर नागरिकता विधेयक पास गर्नुभयो ।
यी शृङ्खलाले शंका गर्ने धेरै ठाउँ छ । मंसिरको महिना कटाएर निर्वाचन पर धकेल्ने संवैधानिक ठाउँ सरकारलाई छैन ।
कमसेकम सरकार त्यसमा बाँधिएला भन्ने आश छ । चुनाव हुनुपर्छ, हुन्छ भन्ने हिसाबले तयारीमा लागिरहेका छौं ।
०७४ सालको आम चुनावमा एमाले–माओवादी गठबन्धन भयो । अहिले कांग्रेस, माओवादीलगायत दलको सत्ता गठबन्धन क्रियाशील छ । यो, चुनावमा वाम गठबन्धन हुने चर्चा चलिरहेको छ । कुन किसिमको गठबन्धन अघि बढ्छ ?
हामीले धेरै अघिदेखि भन्दै आइरहेका छौं । त्यसमा मानसिले आ– आफ्नो ढंगले टिप्पणी गरिरहेका छन् । हामी अहिले मुलुकमा राजनीति दुईवटा ध्रुवमा बन्नुपर्छ भन्ने मतमा छौं ।
एउटा धुव्रको नेतृत्व हामीले गरिरहेका छौं । त्यसलाई वाम ध्रुव भन्छौं । रुपान्तरणकारी ध्रुव यही हो भन्ने हाम्रो विश्वास छ ।
अर्को यथास्थितिवादी ध्रुव । त्यो चाहिँ नेपाली कांग्रेसले गरिरहेको छ । एमाले र कांग्रेसका बीचमा अरुले च्याँखे थाप्ने दलहरु हुन् ।
साथीहरुले चित्त नदुखाउँदा हुन्छ , स्थिति त्यही नै हो । हालै निर्वाचन आयोगले जारी गरेको मतको प्रतिशत हेर्ने हो भने पनि एमाले र कांग्रेस प्रतिष्पर्धी दल हुन्, समान हैसियतका भन्ने देखिन्छ मुख्य आधार वडा अध्यक्षलाई बनाउने हो भने कांग्रेस एमालेभन्दा एक प्रतिशतले बढी छ ।
यदि प्रमुखलाई लिँदा एमाले कांग्रेसभन्दा एक प्रतिशतले बढी छ । सातैवटा पदलाई औसत निकालेर जाँदा एमाले ३४ प्रतिशतभन्दा माथि छ, कांग्रेस ३३ भन्दा तल छ ।
यो स्थिति हेर्दा एकातिर एमाले छ अर्कोतिर कांग्रेस छ । यो दुई ध्रुवमा छ । सबैथोक पुग्यो अब गरिखाने हो भन्ने कांग्रेसको लाइन हो । हामी परिवर्तन पूरा भएको छैन । परिवर्तन आवश्यक छ भन्ने ठान्छौं । यी दुई ध्रुवबीच चुनाव हुनुपर्ने हो ।
चुनाव भनेको जनताले कांग्रेसलाई रुचाउने कि एमालेको ध्रुवलाई रुचाउने भनेर छनोट हुन दिनुपर्थ्यो ।
चुनाव भनेको जनताले कांग्रेसलाई रुचाउने कि एमालेको ध्रुवलाई रुचाउने भनेर छनोट हुन दिनुपर्थ्यो । बीचमा हेर्दा माओवादीको सबै पदमा हेर्दा ९ देखि १३ प्रतिशतसम्म देखिन्छ । त्यो भोट कतै जाँदा जनताले छान्न पाउनुपर्ने दुईटा ध्रुवको रोजाइमा केही तलमाथि पर्नसक्छ । हामी राजनीतिलाई सेप दिनुपर्छ भनिरहेका छौं । दुई ध्रुव, दुई कित्ता चाहिँ क्लियर हुनैपर्छ भन्नेमा हामी छौं ।
त्यस हिसाबले कसलाई कुन गठबन्धन बनाएर कसरी सरकारमा जाने भन्नेमा हामीलाई धेरै चासो छैन । हामीलाई त्यति जाँगर लागिरहेको छैन । हामीले ०७४ मा एउटा प्रयोग गर्यौँ । हामीले वाम भनिनेहरु एक ठाउँमा रहनुपर्यो । लोकतान्त्रिक एकातिर रहनुपर्यो भनेर दुई ध्रुव क्लियर गरेका थियौं । त्यसो गर्दा जनताले हाम्रो ध्रुवलाई मन पराएका हुन् । त्यतिबेला जनताले दुई तिहाई मत आउने गरी जनताले भोट दिएको हो, त्यो टिकेन । त्यसमा तपाईंहरुको दोष छ कि छैन भनेर भन्न सकिन्छ ।
नेतृत्वमा रहनेहरुले जस–अपजस दुवै लिन्छ । नटिक्नुमा हाम्रा पनि भूमिका त रहे होलान् । प्रयोग असफल भयो । पहिले गठबन्धन बनएर चुनावमा जाने र जितेर आएपछि त्यो गठबन्धनले जारी गरेको घोषणापत्रमा प्रतिवद्ध नरहने नेतृत्व रहेसम्म यस्तो गठबन्धनको अर्थ हुँदो रहेनछ भन्नेमा पुगेका छौं । अन्यथा त पुष्पकमल दाहाल, माधव नेपालहरुले आफैंले विरोध गरेको घोषणापत्रमार्फत् निन्दा गरिएको अर्को पार्टीको नेतृत्वको सरकार बनाएर आफ्नो पार्टी फुटाएर जानुपर्ने जरुरत त थिएन ।
चुनाव लड्दा कि एमाले कि कांग्रेसले बाहेक सरकार बनाउने स्थिति हुँदै हुँदैन । यसबाट नै हामीले राजनीतिलाई निकास दिन सकिन्छ भन्ने विश्वासमा छौं ।
स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने भन्दाभन्दै साना दलहरुलाई सँगै लिएर हिँड्नुभयो अब यो निर्वाचनमा पनि त्यही हुन्छ ?
गठबन्धन र स्थानीय तालमेललाई दुईवटा भागमा बाँडेर हेर्नुपर्छ । नत्र हामीले गोलमाल हुन्छ । एमालेले सबैतिर तामेल गर्यो भन्ने निष्कर्षमा पुग्छौं । सुदूरपश्चिम, रोल्पामा त कांग्रेस हामीसँग मिसियो नि ! रुकुमको एउटा पालिकामा त एमाले मिसियो नि ! त्यहाँ एमालेले जितेको छ ।
स्थानीय तामेललाई पनि गठबन्धनको पारामा हेर्दा सही पिक्चर दिँदैन । भएको मुलुकमा के हो त भन्दा एकातिर एमाले रहेको केही पायक पर्ने ठाउँमा गठबन्धनहरु पनि आएर हामीसँग मिसिए । अन्यथा एमाले एक्लै लडेको हो । कांग्रेसले तीन हिसाबले गठबन्धन गरेको हो । ७५३ पालिकामध्ये ३११ वटा पालिकामा कांग्रेसले महागठबन्धन बनाएको हो । जहाँ उसलाई एमाले साह्रै बलियो छ भन्ने लागेको थियो । त्यहाँ हाम्रो ४१ प्रतिशत भोट आएको छ ।
३०७ वटा पालिकामा कांग्रेसले मन मिल्नेसँग गठबन्धन बनायो । अधिकांश ठाउँमा उसले कि माओवादी केन्द्रलाई लियो कि जसपालाई लियो । त्यसमा हाम्रो ३८ प्रतिशत भोट छ । १३५ वटा पालिकामा एमालेले कोहीसँग पनि गठबन्धन गरेन । उसले एमालेसँग एक्लै लड्ने इच्छा व्यक्त गर्यो ।
हामी कमजोर ठानेको ठाउँमा कांग्रेस एक्लै चुनाव लड्यो । एक्लै चुनाव लडेको ठाउँमा २० प्रतिशत मात्रै उसले ल्याएको उसको कमाइ हो ।
हामी कमजोर ठानेको ठाउँमा कांग्रेस एक्लै चुनाव लड्यो । एक्लै चुनाव लडेको ठाउँमा २० प्रतिशत मात्रै उसले ल्याएको उसको कमाइ हो । अरु गठबन्धनबाट लाभ लिएको हो । जम्माजम्मी उसले १६.५ प्रतिशत सिटमा गठबन्धन गरेवापत् लाभ हासिल गरेको छ । पहिलेको निर्वाचनको पनि राजनीति हो । कांग्रेसको राजनीति अहिलेको गठबन्धनमा रहेको माओवादी केन्द्रबाहेक अरुलाई चासो दिएको देखिँदैन । माओवादी चाहिँ नउम्कियोस् । माओवादीलाई सँगै राखेर केही सिट दिने कांग्रेसले बहुमत ल्याउने र माओवादीका केही नेतालाई मात्रै जिताउने रणनीति छ ।
त्यसो गर्नासाथ एकल सरकार बन्छ । नन–कम्युनिस्ट सरकार बनाउने हो भन्ने योजनामा कांग्रेस लागेको देखिन्छ ।
प्रचण्ड कसरी लागिरहनुभएको छ । त्यो उहाँको कुरा हो । त्यो गैरकम्युनिस्ट सरकारमा मै सामेल हुन्छु भनेर हिसाब गरिरहनु भएको छ कि ? अथवा कांग्रेसबाट केही फुत्काएर ‘किङमेकर’ बन्नुभएको छ कि ? त्यो उहाँको कुरा हो । कांग्रेसले एक्लै सरकार बनाउन सक्दैन भन्ने विष्लेषण हो ।
जुन पार्टी एक्लै चुनाव लड्ने आँट नै गर्दैन त्यसले कसरी बहुमत ल्याउँछ ? हामी त एक्लै लड्ने आँट गरिहरहेका छौं । हाम्रो पपुलर भोटले पनि त्यही बताइरहेको छ । त्यसै अनुसार जाने हाम्रो योजना हो ।
अहिले प्रचण्डजीले आफ्नो बार्गेनिङ पावर बढाउनका लागि समाजवादी केन्द्र भनिरहनुभएको छ । त्यो चाहीँ कांग्रेससँग बार्गेनिङ पावर बढाउनका लागि गरेको हो ।
एमालेलाई बाहिर राखेर वाम एकता वा समाजवादी केन्द्र बनाउने भनिरहुनुभएको छ । यसलाई एमालेले कसरी लिएको छ ?
त्यो खुसीको कुरा हो । त्यस्तै होस् । एमालेलाई बाहिर राखेर एउटा मोर्चा बनाउनुुस् । त्यो मोर्चाले साँच्चिकै सक्छ भने एमाले र कांग्रेसँग एक्लै चुनाव लडोस् ।
उसले एउटा हैसियत बनाओस् । त्यसो भएमा थर्ड फोर्स जन्मन सक्ला । एमाले वा कांग्रेसले गल्ती गर्दा तेस्रो शक्ति पनि छ भनेर जनताले मान्ने ठाउँ आउला । तर, त्यस्तो होला जस्तो त मलाई लाग्दैन ।
कांग्रेसले थोरै सिट दिन्छु भनेको कुरा बाहिर आयो । मिडियामा आएअनुसार १०० र ६५ भनेर कांग्रेसले भन्यो रे ! ६५ मा कसरी चित्त बुझाउनु भनेर अरु बाँकी रहेकाहरुले भन्नुभयो रे । १०० सिट नभए त ९० सिट कसरी जित्छौं र ? १०० मा लड्ने ९० जित्ने अनि ४० सिट पपुलर मत ल्याएर बहुमतको एक्लो सरकार बनाउने हाम्रो योजना छ । कांग्रेसले बहुमत ल्याउनेगरी गठबन्धन गर्ने भन्ने हाम्रो निर्णय छ, त्यो तपाईंहरुले मान्नुपर्यो नि भनेर कांग्रेसले भन्यो रे ! त्यसपछि पहिले नेकपाभित्र भएका साथीहरुले १० सिट थप्नुपर्यो भन्नुभयो रे । उहाँहरुले त्यो १० वा ५ सिट बढाउनका लागि बार्गेनिङ पावर पुगेन भनेर एउटै चुनाव चिह्नमा चुनाव लड्छौं । त्यसको नाम हामी समाजवादी केन्द्र राख्छौं भनेर प्रचण्डको चलाखी देखिएको छ ।
अझ म त माधव नेपालहरुलाई सुझाव दिन्छु– किन अप्ठेरो मान्नुपर्यो र ? कांग्रेसको नेतृत्वमा गएर कांग्रेसले पालनपोषण गर्नेले माओवादीको झण्डामुनी गएर लट्पटिँदा ।
चुनाव चिह्न चाहिँ माओवादीको गोलाकारभित्रको हँसिया हथौडा नै हुन्छ भन्नुभयो भन्ने सुनिन्छ । त्यो मान्दा राम्रो हुन्छ ।
अझ म त माधव नेपालहरुलाई सुझाव दिन्छु– किन अप्ठेरो मान्नुपर्यो र ? कांग्रेसको नेतृत्वमा गएर कांग्रेसले पालनपोषण गर्नेले माओवादीको झण्डामुनी गएर लट्पटिँदा ।
हसिँया हथौडा त कम्युनिस्ट पार्टीकै हो । बाबुराम भट्टराई र माधव नेपाल त्यतै गए हुन्छ ।
एमालेको नजरमा अहिले माओवादी र एकीकृत समाजवादी कहाँ छन् ?
मतको आधारमा हेर्दा माओवादी केन्द्र एमालेको आधाभन्दा नि कम रह्यो । माधव नेपालको पार्टीको त हिसाब गर्नै परेन । पोखरामा पाएको मेयरको भोट पनि माधव नेपालकै भोटमा जोडिन्छ नि । तर, सही कुरा त्यहाँ माधव नेपालको पार्टीको भोट त २ हजार हो नि ।
अरु त कांग्रेसकै भोट, अनि एमालेको आन्तरिक झगडाबाट गएका भोटले धनराजजीले जित्नुभएको छ । त्यो जोडिँदा नि ४ प्रतिशत नकटेको माधव नेपालको पार्टीको त हिसाब गर्नै भएन ।
विश्लेषणमा उनीहरु तेस्रो शक्ति बन्न सक्दैनन् भन्ने तपाईंहरुको निष्कर्ष ?
बन्यो भने हुन्थ्यो भन्ने हो तर त्यो देखिँदैन । दुई ध्रुव चाहिँ हुन्छ । एमालेको एउटा ध्रुव र कांग्रेसको एउटा ध्रुव बन्छ । तेस्रो शक्ति गएर कांग्रेससँग मिल्न सक्छ ।
भनेको माओवादीलाई तपाईंहरुले भन्दै आएको जस्तै कहिले कांग्रेसले कहिले एमालेले बोकिरहनुपर्ने भयो हैन त ?
ठिक भन्नुभयो । कसै न कसैले बोकिरहनुपर्ने भयो । त्यो कांग्रेसले बुझ्नुपर्छ ।
हामीले कांग्रेसका युवा महामन्त्रीसँग कुरा गर्दा पनि कांग्रेसको पूराना नेताहरुसँग औपचारिक कुरा गर्दा पनि त्यो भनेका छौं । हामीले कुरा लुकाएका छैनौँ । कांग्रेससँग हाम्रो मिल्ने कुरा भनेको लोकतन्त्रको मूल्यमान्यतामा मात्र हामी एक हौँ । यद्यपी कति मूल्य मान्यता पालना गर्छ भन्ने कुरा बजारमा आएका कुराहरुले स्पष्ट पार्छ । तथ्यले बोल्छ । यहाँ रहेका नेताहरुले विधि विधान सबै मिच्नुहुन्छ भन्ने देखिएको छ ।
प्रजातन्त्रको मूल्य मान्यतमा कांग्रेससँग सहमति गर्ने हो । मुलुकको विकासका लागि, वैदेशिक र पराराष्ट्र नीतिमा एकै मत बनाउने हो । त्यो बाहेक हिँड्ने बाटोकोे विषयमा चर्को प्रतिष्पर्धा हुन्छ र गर्छौं । हाम्रो हिँड्ने बाटोले मुलुक लोककल्याणकारी बाटो हुँदै समाजवादको लक्ष्यमा पुग्छ भनेका छौं ।
कांग्रेस हिँड्ने बाटोबाट हिँडे मुलुकमा असमानता बढ्छ, देश पुँजीवादी बाटोमा जान्छ । उहाँहरुले ऐँजेरु बोकेर के पार लाग्छ ?
एमाले र माओवादी एकता गर्नुपर्छ भनेर नेताहरू लागि पनि रहनुभएको छ । एकता नभए मोर्चावन्दी गरेर चुनावलाई पार लगाउने भन्ने चर्चा छ । यो चर्चामात्रै हो कि रिजल्ट ओरियन्टेट कदम हो ?
नेताहरूबीच छलफल किन नहुने र ? मैले कांग्रेससँग भएको छलफल तपाईंहरूलाई बताइसकेँ । माओवादीका नेताहरूसँग मात्र होइन माधव नेपालकै पार्टीसँग पनि कुरा हुन्छ । राजनीतिमा संवादहीनता हुँदै हुँदै न नि । युद्धमा त संवाद हुँदो रहेछ !
त्यो संवादले चुनाव अगाडि केही नतिजा दिन्छ ?
माधव नेपाल र प्रचण्डलाई केपी ओलीले घचेटेर कांग्रेससँग मिलाइदिएको हैन । उहाँहरुले केपी ओली र हामीहरुलाई सडकबाट निकालेर सडकमा फ्याकेर पार्टी कव्जा गरेर अघि बढ्न खोज्नुभएको हो, तर, सक्नुभएन । त्यो नसकेपछि राष्ट्रपतिको कार्यालय र सर्वोच्च अदालतमा सनाखत गर्दै आफ्नै पार्टीको सरकार फ्याक्ने भन्दै हिँडेको उहाँहरुले हो हामीले होइन ।
माधव नेपाल र प्रचण्डलाई केपी ओलीले घचेटेर कांग्रेससँग मिलाइदिएको हैन । उहाँहरुले केपी ओली र हामीहरुलाई सडकबाट निकालेर सडकमा फ्याकेर पार्टी कव्जा गरेर अघि बढ्न खोज्नुभएको हो, तर, सक्नुभएन ।
हाम्रो अध्यक्षलाई सैद्धान्तिक राजनीतिक होइन कि आपराधिक आरोप लगाएर त्यो आरोप पुष्टि हुँदा केपी ओलीको बस्ने स्थान भनेको जेल हो भन्नेजस्ता संगीन अपराध लगाएर पार्टी विभाजन गरेर गएको उहाँहरू हो हामीहरू हैन ।
त्यो स्थितिमा पहिला उहाँहरु कहाँ हुनुहुन्छ ? वार्ताले त्यहाँबाट मूर्तता पाउनुपर्यो नि । प्रचण्ड, माधव नेपालको पार्टीको विषयमा पहिलो हाम्रो कुरा के हुन्छ भने उहाँहरुले हिजो भत्काएर जे नयाँ कोर्स लिनुभएको थियो उहाँहरुको अभिष्ट पूरा भयो कि भएन ? त्यो कुराको जवाफ त नेपाली जनतालाई दिनुपर्यो नि ।
१९ पेजमा लेखिएको हाम्रो अध्यक्षमाथिको आरोपमा उहाँहरु के भन्नुहुन्छ जवाफ त दिनुपर्छ नै । आरोप नै कायम भए त भेटघाट गर्ने ठाउँनै छैन ।
दोस्रो कुरा उहाँहरु नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनमा हुनुहुन्छ वाम मोर्चा बनाउने कुरा गर्यो भने नेतृत्व कसले लिने भनेर झगडा गर्नुहुन्छ उहाँहरु तँ हुने कि म हुने भनेर कुटाकुट गर्न थाल्नुहुन्छ मिलाउन सास्ती हुन्छ ।
तर, दक्षिणपन्थीको नेतृत्व भनेपछि उहाँहरु सबै स्वीकार गरेर जानुहुन्छ । कहिल्यै उहाँहरुले शेरबहादुर देउवाको नेतृत्वलाई चुनौती दिनुभएको छ र ? छैन नि । दक्षिणपन्थ बोकेर हिँड्ने वाम बन्न खोज्नुभएको हो कि अथवा कुनै बेला केपी ओलीभन्दा प्रगतिशील शेरबहादुर देउवा हो भनेर उहाँहरुले भन्नुभएको हैन र त्यो प्रगतिशीलता त्यता रहेसम्म यता गठबन्धन हुने कुरै भएन नि ।
शेरबहादुर देउवाले कम्युनिष्टहरु काम नलाग्ने भन्दै हिड्नुभएको छ । शेरबहादुर देउवाले लात हान्दा दुख्यो पनि नभनी उहाँहरु हिड्नुभएको छ । त्यो गठबन्धनप्रति के हो उहाँहरुको दृष्टिकोण ?
एकजना नेतासँग भेट्यो गफ गर्यो कफी खायो अनि कफिमा चिनी लागेन भनेर गठबन्धन फुटायो । त्यो त हुँदैन नि राजनीतिमा ।
पार्टी एकताको सम्भावना बाँकी छ कि ढोका बन्द भइसकेको हो ?
माओवादी र नेकपा एसको विषयमा कुरा गर्दा उहाँले केही कुरा स्पष्ट पार्नै पर्छ । दुई ध्रुव राजनीतिमा बनाइसकेपछि उहाँहरु कुन ठाउँमा हुनुहुन्छ । बीचमा हो कि मध्यबाट वामतिर हो कि दक्षिणतिर हो कि कित्ता त क्लियर हुनुपर्छ नि ।
वामतिर बसेर दक्षिणको कुरा गर्ने अनि म वाम हुँ भन्ने कुरा राजनीतिमा मिल्दैन ।
माधव नेपालको विषयमा हाम्रो व्यक्तिगत केही छैन कुनै बेला एउटै पार्टीमा थियौँ हामी । तर, उहाँले पार्टी खत्तम बनाउन अपराध गर्नुभयो गलत बाटोमा हिँड्नुभयो ।
वाम एकता हुन नदिन स्वदेशी मात्र होइन विदेशी शक्ति पनि लाग्छन् भन्ने केही नेताको भनाइ छ, त्यो सँग पनि भिड्नुपर्ने हो ?
अब वाम र दक्षिण ध्रुवै हुने हो । तराईका पार्टीहरु वामपन्थी त होइनन् नि । बाबुरामजीले ४ वर्षमा कति पार्टी परिवर्तन गर्नुभयो मलाई बताउनुहोस् त । उपेन्द्र यादव माओवादी छोडेपछि कति पार्टी फेर्नुभयो ?
कांग्रेस छोडेपछि महन्थ ठाकुरको अवस्था त्यस्तै छ ।
हामी एकदम रणनीतिक महत्वको भुगोलमा छौँ । भूराजनीतिक अवस्था सहज छैन । दुई ठूला छिमेकी हामीसँग छन् ।
उत्तरमा चीन छ आफ्नै राजनीतिक संस्कृति छ । एसिया र विश्वको उदयमान शक्ति हो । तीनतिर भारत छ । अर्थतन्त्र विशाल छ, चीनसँग टक्कर लिइरहेको छ ।
यी दुईवटाको आ–आफ्ना स्वार्थ छन् । त्यसपश्चात् हाम्रा परम्परागत मित्रहरु छन् बेलायत, अमेरिका, यूरोपियन युनियन, जापानलगायत देशहरुको आफ्नै स्वार्थ होलान् । यी सबै स्वार्थमा सार्वभौम मुलुकलाई कसरी अगाडि बढाउने भन्ने ल्याकत राख्न सकिएन भने अवश्य गाह्रो हुन्छ । यसले राजनीतिक जोड घटाउ र दलहरुको एकतामा पनि महत्व राख्छ ।
पाँचै दल एक भएर चुनाव लडे तपाईंहरु सिट खुम्चन्छ नै । त्यसलाई भत्काउन त तपाईंहरु लागि रहनुभएको छ नि हैन ?
हामीले हाकाहाकी नै भनिरहेका छौँ नि यो गठबन्धन गलत हो भनेर । कांग्रेसलाई पनि क्षणिक लोभमा नजाउ भनिरहेका छौँ नि । तिमीसँग ३३ प्रतिशत छ हामीसँग पनि उतिनै मत छ । बराबर मत भएपछि प्रतिष्पर्धा गरौँ न ।
जनताले २ मध्ये कुनै एक पार्टीलाई छनोट गरिहाल्छ नि । तिमीले पत्याए तिमी शासन गर हामी प्रतिपक्षमा बस्छौँ हामीलाई पत्याए हामी शासन गर्छौं । पाँच वर्ष हामीले काम गर्न नसके त्यसपश्चात् तिम्रो पालो आइहाल्छ । बीचमा च्याखे थाप्नेहरुलाई जिताएर किन बस्ने ? हाम्रो भनाई त्यहीँ हो ।
अब कांग्रेसको दाउ अर्कै छ । राजनीतिक दाउपेच भयो भने मुलुक अघि बढ्दैन । हामीले जनतालाई बुझाउन खोजेको कुरा यही हो । गठबन्धन भत्काउ भनिरहेका छौँ कांग्रेसलाई । हामी त राजनीतिलाई २ ध्रुवमा ध्रुवीकरण गर्ने भनिरहेका छौँ ।
दुई–दुई पटक संसद् विघटन गर्नु चाहिँ ठिक थियो ? यसको जवाफ तपाईंहरुले जनतालाई दिनैपर्छ होइन र ?
म ढुक्कसँग भन्छु हामीले त्यो कदम एकदम ठिक गरेका थियौँ । कुनै गल्ती गरेका थिएनौं । प्रधानमन्त्रीको अधिकारको कुरा थियो उहाँले गर्नुभयो । अब किन गरेको प्रश्न आउँछ ।
किनभने जुन घोषणापत्र देखाएर चुनाव लडिएको थियो नि त्यो घोषणापत्र लागू नहुने भयो । घोषणापत्र देखाएर चुनाव लडेर आएको मान्छे घोषणापत्र लागू गर्न प्रतिवद्ध नहुने भयो । त्यसकारण जनतालाई धोका दिनुभएन । अब अर्को घोषणापत्र बनाएर आउछौँ चित्त बुझे मत दिनुहोला नभए नदिनुहोला भनेर चुनाव घोषणा गरिएको थियो ।
हामीले त्यो एकदम ठिक गरेका थियौँ भनेर अहिले पनि निष्कर्षमा छौँ । परिणामले पनि त्यही देखाएको छ नि पुनःस्थापना भएको संसद् र परमादेशबाट बनेको सरकारले गरेको कामबाट हामी सबै आक्रान्त छौँ त । हामी अहिले आर्थिक मन्दीभन्दा अघि पुगेका छौँ । हामी अयोग्य छौँ भनेर उहाँहरुले अनेक प्रकरणले स्पष्ट पारिसक्नुभएको छ नि । प्रचारबाजी गरेर सामाजिक सञ्जाल, आमसञ्चारमा जनतालाई ढाँटेर गलत प्रचार गरेर भोट त यो चुनावमा उहाँहरुले लिन सक्नुहोला । यसरी मुलुक त बन्दैन नि ।
अबको चुनावमा कति सिट आउँछ भन्ने आकलन हो एमालेको ?
अब अन्दाज गर्नुहोस् न । समानुपातिकमा ५० लाख भोट ल्याउँछौँ भनिसकेँ । प्रत्यक्षमा कांग्रेसले जति ल्याउँछ त्यो भन्दा बढी सिट एमालेले ल्याउँछ । अहिले हतारमा बोल्न मिल्दैन ।
अब अलिकति प्रसंग बदलौँ । नागरिकता विधेयकको विषयमा तपाईंहरुले डबल रोल खेल्नुभएको हो ?
त्यो गलत हो । ७ वर्षे अवधिको कुरा गर्नुभएको हो तपाईंहरुले म बुझ्छु । अवधि नराखिकन पेश गरिएकै हो । तर, त्यो बेला हाम्रो पार्टी नेकपाले त्यसलाई विषय बनायो ।
अर्का अध्यक्ष हुनुहुन्थ्यो प्रचण्ड, उहाँले यसलाई समन्वय गर्नुभएको हो । हाम्रो निर्णय भएको ७ वर्ष राखेर पास गर्ने भनेर । प्रचण्डको नेतृत्वमा सात वर्ष राखेर पास गर्ने भनिएको हो । खासगरि भारतसँग जोडेर हेर्दाखेरी भारतमा बिहे गरेर जाने छोरीचेलीहरुले ७ वर्ष कुर्नुपर्ने भारतीय महिला वा विदेशी महिला आउँदा परीक्षणनै गर्न नपर्ने नागरिकताको सम्बन्धमा भन्ने हुँदैन ।
कूटनीतिमा समकक्षताको कुरा हुन्छ नि त हैन । त्यसकारण हामीले ७ वर्ष राखेर समितिमा त्यही कुरा राखेको हो समितिले पनि त्यही कुरा राखेर पास गरेको हो । तर उहाँहरुले फिर्ता गरेर अर्को ल्याउनुभयो सोधपुछ नगरि टेबल गरेर पास गर्नुभयो । हाम्रो आपत्ति त्यहीँ हो, कुनै डबल रोल छैन हाम्रो ।
संसदभित्र चाहिँ नबोल्ने विरोध नगर्ने बाहिर मात्र बोल्दै हिँड्यो भन्ने आरोप छ तपाईंहरुलाई..
हैन हाम्रो असहमति रहेको हो । असहमति माइक भाँचेर टेबल भाँचेर पनि हुन्छ मौन बसेर पनि हुन्छ । त्यसकारण यो विधेयकमा हाम्रो सहमति छैन ।
तस्बिर : सुनिल प्रधान