काठमाडौं । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिम्लेस्थित अरुण, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, मैनाचुलीस्थित कन्काई, पधेरादोभानस्थित वाग्मती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घखाँची, प्युठान, कपिलवस्तु, दाङ र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।