site stats
बाह्रखरी :: Baahrakhari
विदेश
महँगीकाे विराेध गर्दै लोकसभामा प्लेकार्ड प्रदर्शन गर्ने कांग्रेसका चार सांसद निलम्बित
तस्बिर : एएनआई

काठमाडौं । भारतको तल्लो सदन लोकसभामा प्लेकार्ड प्रदर्शन गर्ने चारजना कांग्रेस सांसद निलम्बित भएका छन् । 

महँगीको विरोध गर्दै लोकसभामा प्लेकार्ड प्रदर्शन गरेका उनीहरूलाई अमर्यादित व्यवहार देखाएकाे भन्दै मनसुन सत्रको लागि निलम्बित गरिएकाे हाे । 

समाचार संस्था पीटीआईका अनुसार कांग्रेस सांसद मनिक्कम टैगोर, टीएन प्रथापन, जोथिमनी र राम्या हरिदासले महँगीको मुद्दामा सदनमा विरोध प्रदर्शन गरेका थिए । 

लोकसभाका सभामुखले उनीहरूलाई चेतावनी दिँदै सदन बाहिर प्रदर्शन गर्न भनेका थिए । “यदि तपाईंहरूलाई प्लेकार्ड प्रदर्शन गर्नुछ भने सदन बाहिर गर्नुहोस्, म छलफलका लागि तयार छु । तर मेरो विनम्र स्वभावलाई मेरो कमजोरी नसम्झनु ।”

सभामुखको चेतावनीपछि पनि सदनको कारबाही सुरु भएपछि पनि उनीहरू फेरि प्लेकार्डसँगै आएका थिए । 

यस विषयमा संसदीय कार्यमन्त्री प्रह्लाद जोशीले यी सांसदहरूलाई बाँकी सत्रका लागि निलम्बित गर्ने प्रस्ताव राखेका थिए । जसलाई ध्वनिमतले पारित गर्‍याे । 

कांग्रेसले आफ्ना सांसद निलम्बित गरेकोमा विरोध गरेको छ । 

कांग्रेस नेता तथा राज्यसभा सांसद अधीर चौधरीले भनेका छन्, “महँगीको मुद्दामा विपक्षीहरू एकजुट छन् । तर, सरकार यसबारे छलफल गर्न पन्छिएको छ । सरकारले यस विषयमा छलफल गर्नुको सट्टा प्रतिपक्षको आवाजलाई धम्की दिन हाम्रा (चार) सांसदलाई निलम्बित गर्ने क्रुर कदम चालेको छ ।”

स्राेत ः बीबीसी हिन्दी लगायत भारतीय सञ्चारमाध्यम ।
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २१:४२