site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुष्पलालको नीति सबैले पोलेर खाइसके  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन् । विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको २०३५ सालको साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारकै क्रममा निधन भएको थियो । विसं १९९७ सालमा आफ्ना दाजु सहिद गंगालाल श्रेष्ठलाई गोली ठोकेर मार्ने आदेश भएपछि भद्रगोल जेलमा दाजुलाई भेट्न पुगेका पुष्पलाललाई दाइ गंगालालले ‘माइला मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्’ भनेका थिए । 

त्यसपछि पुष्पलाल राजनीतिमा प्रवेश गरेका थिए । अधिकांश नेताका छोराछोरी राजनीतिमै सक्रिय भए पनि पुष्पलालका एकमात्र छोरा उमेश श्रेष्ठ भने राजनीतिभन्दा निकै टाढा छन् । उनै उमेश श्रेष्ठसँग पुष्पलाल स्मृति दिवसको अवसर पारेर बाह्रखरीका बलराम पाण्डे र कुञ्जरमणि भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ, उमेश श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

धेरैजसो राजनीतिक नेताका छोरा, परिवार राजनीतिमै हुनुहुन्छ । तपाईं छुट्टै व्यवसायमा सक्रिय हुनुहुन्छ । फरक क्षेत्रमा जानुको उद्देश्य चाहिँ के हो ? राजनीतिप्रतिको वितृष्णा हो या अन्य केही कारण ?
फरक फिल्डमा जानुको उद्देश्य भनेको मलाई चेत आएपछि (जवान भएपछि) डाक्टरको छोरा डाक्टर नै बन्नुपर्ने, इन्जिनियरका छोरा इन्जिनियर नै र राजनीतिज्ञका छोरा राजनीतिमा लाग्नुपर्ने चाहिँ किन ? भन्ने कुराको सोच आयो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

म करिब १८ वर्षको हुँदा मेरो आमाको जागिर खोसिएको थियो । खोसिएपछि जसोतसो एक वर्ष त परिवार चल्यो । त्यसपछि परिवार धान्नुपर्ने अवस्था आयो । मैले परिवारका लागि केही न केही गर्नुपर्ने भयो । र, मैले ५–६ वर्ष जागिर पनि खाएँ ।

रगतमै राजनीति थियो कहिलेकाहिँ राजनीतिमा जाउँ जाउँ नलागेको होइन, जोश चढेको पनि थियो । तर त्योभन्दा पारिवारिक दायित्व बढी थियो । 

Royal Enfield Island Ad

बुवाको निधन हुनु केही अघि आमा पनि पूर्णरुपमा राजनीतिमा सक्रिय हुनुभयो । हुन त उहाँ २००३ सालदेखिनै राजनीतिमा हुनुहुन्थ्यो । विवाहपछि उहाँहरुबीच एक जनाले राजनीति गर्ने र एकजनाले परिवार चलाउने कुरा भएको रहेछ । मेरो दिदी र म जन्मिइसकेका थियौं । हामी सम्पन्न त थिएनौं । विपन्न परिवार नै थियो हाम्रो । तर, आर्थिक समस्या भने हुन्थ्यो । त्यसैले मुमाले म परिवार हेर्छु भनेर राजनीतिबाट टाढै रहनुभएको थियो । घरमा आएका मान्छेसँग आमा राजनीतिका कुरा गर्नुहुन्थ्यो तर राजनीति गर्नुहुँदैनथ्यो ।

पञ्चायती सरकारले उहाँको जागिर खोसिसकेपछि केही अप्ठेरो भयो । म अध्ययनको क्रममा थिएँ । बीएससी पढ्दै थिएँ जागिर खाने अफर आयो । आवश्यकता पनि थियो म जागिरमा लागिहालेँ । 

आजभन्दा ४५ वर्ष अघिको कुरा हो । बुबाको निधन भएपछि आमा र म बीच पनि छलफल भयो एकजनाले राजनीति गर्ने अर्कोले घर हेर्ने भन्ने । त्यसबेला बुबाको विरासतका लागि मलाई राजनीतिमा पठाउनुपर्छ भन्ने पनि थियो । तर मैले आमालाई के भनेँ भने अब म जागिर खान्छु हजुर राजनीतिमा लाग्नुस् भन्ँ ।

त्यसपछि म कहिल्यै राजनीतिमा सक्रिय भइनँ । जागिर सुरु गर्दै अघि बढ्दै गर्दा मैले व्यापार पनि सुरु गरेँ । त्यहाँ पनि राम्रो हुँदै गयो । पछि औषधि कम्पनी पनि खोलेँ । त्यो पनि राम्रोसँग चल्न थाल्यो ।

अनि मेरो जोड व्यापारतिरै भयो ।

मलाई खुुसी के लाग्छ भन्दा हाल नेपालको नम्बर २ ठूलो कम्पनी बनेको छ । हामीले आफूलाई प्राविधिक रुपले अत्यन्त राम्रो बनाएका छौं । म व्यापार व्यवसायमै खुसी छु ।

राजनीतिमा भएको भए यति खुसी बन्नुहुन्थ्यो होला ? 
राजनीतिमा लागेको भए के भइन्थ्यो भइँदैनथ्यो भन्न अप्ठेरो छ । म राजनीतिमा गएको भए कम्युनिस्ट पार्टी नै चुन्थेँ होला । कम्युनिस्ट पार्टी टुक्रा–टुक्रा भएको देख्दा अहिले चिन्ता लाग्छ । कम्युनिस्टहरुसँग मेरो रिस नै त्यसमै छ ।  कुरा राम्रो छ । लोककल्याणको कुरा गर्नुहुन्छ । तर, यो व्यक्तिवाद, अहम्वादले गर्दा उहाँहरु आज सायद १८–२० टुक्रामा हुनुहुन्छ ।

सबै राम्रो भए कति राम्रो हुन्थ्यो ? अहिलेको कम्युनिज्म माक्र्स लेलिनले भने जस्तो छैन । त्यो अहिलेको आवश्यकता पनि होइन, हिजोको अवस्था फरक थियो होला । तर अहिले त्यस्तो छैन ।

यस्ता कुराहरु देखेर पनि कहिल्यै राजनीतिमा सक्रिय हुन मन लागेन । अहिले पनि कुनै साथीहरुले भन्छन्– अहिले पनि समय छ आउनुुस् । म अहिले ६३ वर्षको भएँ । म जानेबितिक्कै २०–३० वर्ष काम गरेका साथीहरु १–२ पछाडि पर्छन् । यो राम्रो होइन, म जान्न पनि । मलाई व्यापारनै ठिक छ । 

राजनीतिक रुपमा परिवर्तन आइसक्यो अब आर्थिक विकासमा लाग्नुपर्ने हो । देशको स्थिति राम्रो भएन । हाम्रो देशमा ऐन नीतिहरुको स्थायित्व नै भएन । अब देश बनाउनुपर्ने बेला हो । सबै दलमा यसमा केन्द्रित भइदिए हुन्थ्यो जस्तो लाग्छ ।

उद्योगी व्यापारीको चरित्रमा आन्दोलन हुँदैन । उनीहरुको चरित्रमा बोलेर, कुरा गरेर निक्र्यौल गर्ने कुरा हुनुपर्छ जस्तो लाग्छ । त्यस्तो भइरहेको छैन । निजी क्षेत्रलाई साह्र्रै हेपेर राखिएको छ । सरकारले के बुझेन भने निजी क्षेत्र भनेको यस्तो क्षेत्र हो जसले फाइदा त कमाउँछ । प्रमुख उद्देश्य नै फाइदा कमाउने हो । गुण्ँस्तरको पनि कुरा आउँछ । हामीले सरकारलाई कर तिर्नुपर्छ । कर तिरेबापत् सरकारले उन्नती गर्छ । हामीले सरकारलाई सही कर तिर्नुपर्छ । हामीले आफ्नो आम्दानीको ३६ प्रतिशतसम्म कर तिरिहेका छौं । नागरिकको नाताले मलाई के लाग्छ भने हामीले यति धेरै पैसा तिरिहरहेका छौं । हामीले सरकारबाट के पाएका छौं ? खासै केही पाएका छैनौं । 

म उद्योग वाणिज्य महासंघमा पनि आबद्ध भएका कारणले के लाग्छ भने निजी क्षेत्रमा उन्नती नगरेसम्म देशको प्रगति हुन सक्दैन । किनभने संसारभरको दृष्टान्त लिने हो भने कुनै पनि मुलुकले आर्थिक उन्नती नगरेसम्म प्रगति भएको छैन ।

पुष्पलालको छोरा हुनुहुन्छ, उहाँले कल्पना गरेअनुसार नेपाल अघि बढेको पाउँनुहुन्छ ? 
मैले उहाँको थुपै्र कृतिहरु पढेको छु । त्यतिबेलाका कृति अहिलेको जस्तो त होइन । उहाँ हुनुभएको भए पनि अहिले राजनीतिबाटै परै हुनुहुन्थ्यो होला । 

उहाँ लिबरल खालको मान्छे हुनुहुन्थ्यो । माक्र्स, लेनिन, माओत्सेतुङका कुराहरु पढेर त्यो विचारधाराबाट उत्प्रेरित भएर कम्युनिस्ट बन्नुभएको हो । हामी समयअनुसार परिवर्तन हुनुपर्ने धेरै कारण छन् । सायद, उहाँले समयअनुसार आफूलाई बदल्नुहुन्थ्यो होला ।

मैले उहाँसँग खासै धेरै समय बिताउन पाइन । म १९ वर्ष नहुँदै उहाँ बित्नुभएको थियो  । 

दिनगन्ती भन्दा ३६५ पनि दिन पनि सायद बिताइन । म ४–५ वर्षको हुँदा उहाँ विदेशीनु भएको थियो । त्योबेला निम पचासको बिदामा हामी भारत जान्थ्यौं । उहाँ कहिले दरबंगा त कहिले गोरखपुर बस्नुहुन्थ्यो । धेरैजसो वनारस बस्नुहुन्थ्यो । हामी त्यहाँ जान्थ्यौं । मलाई उहाँले कहिल्यै पनि केही चिज यसै गर भन्नुभएन । राजनीतिमा आउनू, अथवा डाक्टर, इन्जिनियर, व्यापारी बन भनेर कहिल्यै भन्नुभएन । कहिलेकाहिँ उहाँको क्लास चलिरहेको हुन्थ्यो म पनि त्यहाँ बस्थेँ । मैले सुन्थेँ ।

मलाई न त आमाले नै दबाब दिनुभयो ।  उहाँको सबैभन्दा राम्रो लागेको कुरा मैले कहिलेकाहिँ गल्ती नै गरेँ भने पनि उहाँले कहिल्यै झापड हान्नुभएन बरु सम्झाउनुभयो ।

त्यसबेला बुबालाई भेट्न जाँदा नै मेरो पीर भनेको बुबाले कपाल काटिदिनुहुन्छ भन्ने नै थियो । त्यसैले बिदामा वनारस जाँदा पहिले नै कपाल काटेर जान्थेँ ।

उहाँले मलाई जिन्दगीमा गिफ्ट पनि दिनुभएको थियो । म एसएलसी पास गरेपछि बुबाको आशीर्वाद लिन गएँ । उहाँ दरबङ्गामा हुनुहुन्थ्यो । उहाँले लगाइरहेको घडी फुकालेर लगाउनू भनेर मलाई दिनुभयो । त्यो जिन्दगीको पहिलो घडी हो । अहिले मैले त्यो पुष्पलाल प्रतिष्ठानलाई दिएको छु । उहाँको आफ्नै घडी हो भनेर दिएँ । 

मैले त्यतिबेला नै के पढुँ बुबा भनेर सोधेँ । जे पढ्न मन लाग्छ पढनू तर राम्रोसँग भन्नुभयो ।

बुबाले बनाएको त्यस्तो पार्टी अहिले छिन्नभिन्न, टुक्राटुक्रामा देख्दा कस्तो महशुस हुन्छ ? 
खुसी त पक्कै पनि लाग्दैन । तर, सबैले फोटोसम्म चाहीँ झुन्ड्याइदिएका छन् । फोटो झुन्ड्याएको कारण थाहा छैन । पार्टी बनाउने पहिलो व्यक्ति भएर झुन्ड्याएको हो कि । पद लिनका लागि झुन्ड्याएको हो ।

तर पुष्पलालको नीति यता उता भन्ने कुरा त सबैले पोलेर खाइसके । 

बुबाले देखेका सपना पार्टीहरुले यसरी पूरा गरिदिए हुन्थ्यो भन्ने केही छ ? 
म त्यसरी भन्दा पनि पृथक ढंगले सोच्छु । हाम्रो मुलुकले उन्नती गरेन । बुबाको नीतिले उन्नती हुन्थ्यो कि हुँदैनथ्यो भनेर अहिले मैले भन्ने कुरा होइन । तर, उहाँको व्यक्तिगत आचरण अत्यन्त राम्रो थियो । 

सबै कम्युनिस्टहरु त संविधानमा आएर नै खुला अर्थनीति अपनाइसके । त्यो आर्थिक नीति त प्रयोग गरेकै छैनौं ।  म खासमा कम्युनिष्टको आर्थिक नीतिको समर्थक पनि होइन । नियन्त्रित अर्थनीति भन्ने मेरो शब्दकोषमा छैन । यसलाई नियन्त्रण गर्न हुँदैन ।

सरकारले शिक्षा, स्वास्थ्य लगायतका मुख्य कुराहरुमा चाहिँ ध्यान दिनुपर्छ । सरकारको प्रहरी, सेना, परराष्ट्र नीति हुनुपर्छ तर निजी क्षेत्रलाई दबाएर राख्न हुँदैन ।

अन्तिममा भन्नुपर्ने केही विषय छन् ? 
पार्टीहरुलाई सुझाव दिने मेरो हैसियत छैन । तर एउटै कुरा के छ भने ठूला राष्ट्रिय महत्वका जति कार्यक्रम छन् । विकासका कार्यक्रमहरु समयसीमाभित्र सकिदिनुस् । कम्तिमा १० वर्षसम्म हुनेगरी आर्थिक नीति बनाइदिन
स् । बीचबीचमा परिवर्तन नगर्नुस् यसले मुलुकलाई अप्ठेरोमा पार्छ । व्यवसायीलाई अप्ठेरोमा पार्छ ।

कम्तिमा १० वर्षका लागि ठूला दल मिलेर गए मुलुकको विकास हुन्थ्यो कि भन्ने मेरो सोच छ ।

हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्दा गरिब, थोत्रो मुलुक हस्तान्तरण गरेर जानुहुँदैन, सबै मिलेर राम्रो बनाऔँ ।

हरेक साउन ७ गते आउँछ । म यसलाई सरकारी श्राद्ध भन्ने गर्छु । त्यो श्राद्ध मनायो अखबारमा पनि पुष्पलाल पुष्पलाल भन्यो केही हुँदैन  । हिजो ६ गते बीपी बीपी भनेर फोटो झुन्ड्याउने आज पुष्पलाल भनेर फोटो झुन्ड्याएरमात्रै हुँदैन । उनीहरुको बाटो अनुशरण गर्न सक्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro