काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिस्टहरूबीच एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिस्टहरू एकतावद्ध भएर कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए ।
नेता पौडेलले गठबन्धन आजको आवश्यकता भएपनि आगामी चुनावमा कम्युनिस्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे । उनले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिस्ट दलहरू कम्युनिस्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताए ।
"चुनावसम्म पनि गठबन्धनको आवश्यकता छ । कांग्रेसभित्र पनि अहिले कम्युनिस्टसँग मिल्नुहुँदैन भन्ने छ भने कम्युनिस्टहरू भित्रपनि कम्युनिस्ट एकताको कुरा छ । माओवादी भित्रपनि एकथरी कम्युनिस्ट एकता गर्नुपर्छ भन्नेमा छन् । समाजवादी पार्टीभित्र पनि कम्युनिस्ट एकता गर्नुपर्छ भनेर जोड दिइरहेका छन् । अन्तर्राष्ट्रिय शक्तिहरू पनि कम्युनिस्टलाई एकै ठाउँमा राख्नुपर्छ भनेर लागेका छन् । त्यतिमात्र होइन नेपाली कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरू सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने प्रयासहरू भइरहेका छन्," उनले भने ।