
काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबार विभिन्न उपसमिति गठन गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गरेका हुन् । सार्वजनिक भएका १४ मध्ये १२ समितिको संयोजक र सचिवको टुङ्गो लागेको छ भने दुई तोक्न बाँकी रहेको सदस्यसचिव घिसिङले बताए ।
प्रतियोगिताको समारोह समितिमा राखेपका बोर्ड सदस्य एकेन्द्रबहादुर कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवमा राखेपका प्रशासकिय अधिकृत शारङ्गिन निरौलालाई तोकिएको छ । यस्तै प्राविधिक उपसमितिमा हिमालराज दाहाललाई संयोजक तोकिँदा प्रचण्ड शर्मा सचिव रहेका छन् । खेलस्थल व्यवस्थापन उपसमितिमा राजेश गुरुङलाई संयोजकको जिम्मा दिँदा कृष्णप्रसाद तिमिल्सिनाले सचिवको जिम्मेवारी पाएका छन् ।
अनुशासन उपसमितिमा पेमा लामा संयोजक रहेकी छन् । नारायणराज अर्याल उपसमितिको सचिव रहेका छन् । बसोवास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै स्वास्थ उपसमितिमा डा. बुलन्द थापा संयोजक छन भने सचिवमा ज्ञानेन्द्रविक्रम शाहलाई तोकिएको छ ।
यातायात व्यवस्था उपसमितिमा राखेप सदस्य प्रकाश कुसारीलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवमा देवराज कटुवाल रहेका छन् । यस्तै प्रचारप्रसार उपसमितिमा संयोजकको जिम्मा दीपेन्द्र विष्टलाई दिइएको छ । सचिव खुसराज दाहाल रहेका छन् । खेल सामग्री तथा पोशाक व्यवस्थापन उपसमितिमा संयोजक अञ्जन धमलाले जिम्मेवारी पाएका छन् भने सचिवमा आपूर्ति तथा भण्डार शाखाका सुजन खतिवडा छन् ।
स्रोत परिचालन उपसमितिमा सूर्य भण्डारीलाई संयोजक तोकिएको छ भने सरोजकुमार पोख्रेल सचिव चुनिएका छन् । स्वंसेवक उपसमितिमा जनक बर्तौला छन् । उक्त समितिमा लिलाराम बस्नेत सचिव छन् । एन्टिडोपिङ उपसमितिमा नमिसमान प्रधानलाई संयोजक तोकिएको छ भने दोबे तामाङले सचिवको जिम्मेवारी पाएका छन् ।
सुरक्षा प्रबन्ध र अनुसाशन उपसमितिको टुङ्गो लाग्न बाँकी छ । दुई उपसमितिको टुङ्गो आगामी बैठकपछि निर्धारण हुने सदस्यसचिव घिसिङले बताए ।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टिमले ३६ खेलमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा पौडी र सुटिङको प्रतिष्पर्धा काठमाडौंमा हुने सम्भावना रहेको सदस्यसचिव घिसिङले बताए । त्यस्तै हक्की र रग्बीको टुङ्गो खेल स्थलको निरीक्षण पश्चात हुने बताए ।