काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।
मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एकतामा आउन आग्रह गरेका हुन् ।
उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रूपमा छोडिदिएर बिर्सिनुपर्ने बताए । विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने उनको भनाइ छ ।
भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए ।
उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए ।