site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पुनर्जन्मको दौड

मान्छेको पुनर्जन्मको सुरुवात कसरी हुन्छ ? यसबारे जानकारी कसरी लिने ? न त यसबारेमा कसैले लेख्छ नै, न त कोही बोल्छ ! रहस्यमयी छ पुनर्जन्मको कथा । जसले पुनर्जन्म लिन्छ उसलाई थाहा हुनुपर्छ । पुनर्जन्म लिएपछि मानिस सबैथोक बिर्सेर आफ्नो मायाजालमा रनभुल्ल पर्छ ।

धर्मशास्त्रले मान्छेको पुनर्जन्मको कुरा त गरेको छ, तर आत्मा गर्भमा कसरी प्रवेश गर्छ ? त्यसबारेमा कहीँ कतै उल्लेख गरेको भेटिन्न । विज्ञान त झन् पुनर्जन्मको विषयमा बोल्दै बोल्दैन । विज्ञान पुनर्जन्म लिनेलाई गर्भ अवस्थामै मार्ने यन्त्र र साधन आविस्कार गर्न व्यस्त छ ।

अपितु, पुनर्जन्मको रहस्य जान्ने मन कसलाई हुन्न होला र !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस दिन मेरो आत्मा अत्यन्तै खुसी थियो । किनकि, मैले पुनर्जन्म लिनका लागि पालो कुरी बसेको थिएँ । चित्रगुप्तले मलाई सुम्सुमाउँदै भने, ‘देवदत्त, तिमीलाई बधाई छ ।’

‘किन हजुर ?,’ मैले आश्चर्य मान्दै सोधेँ ।

‘तिमीले पृथ्वीमा जसको कोखमा पुनर्जन्म लिन मन लाग्छ, त्यही कोखमा बस्न पाउनेछौ । किनकि, पूर्वजन्ममा तिम्रो नाम देवदत्त थियो । तिमी अत्यन्त संस्कारी थियौ । तिमीले कर्तव्य पनि पूरा गरेका थियौ ।’

मैले पूर्वजन्मको विषयमा सोच्न थालेँ । तर, केही कुरै याद आएन । जब मानिसको शरीरबाट आत्मा छुट्टिन्छ, तब मानिसले आफ्नो विगत बिर्संदो रहेछ । मैले सम्झने कुरै भएन ।

चित्रगुप्तले फेरि भने, ‘हामीले तिमीलाई केही हजार वर्षको अन्तरालमा पुनः मानिसको रूपमा पुनर्जन्म प्राप्त गर्ने अवसर दिएका छौँ ।’

म एक त समयावधिभन्दा चाँडै पुनर्जन्म पाउने कुराले खुसी थिएँ, दोस्रो– आफूले रोजेको कोखमा पुनर्जन्म लिन पाउने कुरा सुन्दा ममा झन् ऊर्जा थपियो । अर्बौँ आत्माहरूको बीचमा त्यति सुन्न पाउनु भाग्यकै कुरा हो ।

विश्वमा सयौँ देश छन् । पचासौँ धर्म छन् । हजारौँ जातजातिहरू छन् । करोडौँ दम्पती छन् । कसको कोखमा जन्म लिँदा राम्रो होला ? ठूलो मान्छे बन्न पाइएला ? धनी मान्छे बन्न पाइएला ? एउटा देशको मात्र नभएर विश्वको चक्रवर्ती साम्राट बन्न पाइएला ?

मेरो मनमा अनेकौँ तर्कना खेल्न थाले । कोसँग सल्लाह गर्ने ? मेरो मान्छे को होला ? करोडौँ आत्मा पुनर्जन्मका लागि लाइनमा छन् । सबैलाई पुनर्जन्म लिने हतारो छ ।

फेरि चित्रगुप्तको अगाडि गएर विनम्रतापूर्वक अनुरोध गरेँ, ‘प्रभु, समय पाऊँ ।’

मेरो अनुरोध नसकिँदै चित्रगुप्तले भने, ‘ल तिमीलाई पाँच दिनको समय भयो । सोचविचार गरी मलाई भन्नु । तिमीलाई जुन कोखमा पुनर्जन्म लिन मन लाग्छ, त्यही कोखमा पुनर्जन्म लिने व्यवस्था मिलाउँछु ।’ यति भन्दै चित्रगुप्त आफ्नो काममा लागे ।

म पनि छेउ लागँे । अरू धेरै आत्माले मलाई हेरिरहेका थिए । एउटा आत्मा भन्दै थियो, ‘कस्तो अचम्मको आत्मा रै’छ ! आत्माहरू पुनर्जन्म पाउन तपस्या गर्छन्, देवदत्त भने समय खेर फालिरहेको छ । खुरुक्क पुनर्जन्म लिनु नि !’

अर्को आत्मा भन्दै थियो, ‘देवदत्त त भाग्यमानी छ । उसले पुनर्जन्म लिँदा कोख पनि रोज्न पाउने भयो । हामी त अभागी हौँ । जस्ताको कोखमा पनि जन्म लिनुपर्छ हामीले ।’

सबै आत्माहरूका आ–आफ्नै व्याख्या थिए । म त्यस विषयमा अरूसँग बहस गर्न चाहन्नथेँ । त्यसैले एकान्तमा जाने विचार गरेँ । प्राप्त समयलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा चिन्तन गर्न थाले ।

अर्थात्, राम्रो र उपयुक्त स्थानमा पुनर्जन्म लिने उपाय खोज्न थालेँ ।

मसँग पाँच दिनको समय थियो । पाँचै दिन गर्ने कार्यको दैनिकी बनाएँ । पहिलो दिन पुनर्जन्मको बारेमा अध्ययन गर्ने, दोस्रो दिन उत्तम देशको छनोट गर्ने, तेस्रो दिन जाति र धर्मको छनोट गर्ने, चौथो दिन असल दम्पती छनोट गर्ने र पाँचौँ दिन चित्रगुप्तसँग सम्पर्क गरी गर्भमा प्रवेश गर्ने ।

मेरा लागि यो चुनौती र अवसर दुवै थियो । आत्माहरूलाई समय खेर फाल्ने सुविधा हुँदैन । सबै आत्मा चित्रगुप्तको आदेशानुसार पृथ्वीमा झर्नुपर्छ । देश, धर्म, जाति, दम्पती छनोट गर्न पाइँदैन ।

म अपवाद भएँ । पुनर्जन्मको बारेमा खोज्ने, रोज्ने मौका पाएँ । प्राप्त समयलाई सदुपयोग गर्ने विचार गरँे । मनमनै भनेँ– जय चित्रगुप्त !

म सोच्थेँ– पुनर्जन्म लिन सजिलो हुन्छ । यो कुरा भ्रम रहेछ । मैले पुनर्जन्म विषयमा अध्ययनका लागि नै पाँच दिनको समय प्राप्त गरेको छु । करोडौँ आत्माहरू मान्छेको पुनर्जन्मका लागि सधैँ तम्तयार अवस्थामा बस्नुपर्ने रहेछ । चित्रगुप्तको आदेश प्राप्त हुनासाथ प्रकाशको गतिभन्दा सयौँ गुना छिटो गतिमा आत्मा दौड्नुपर्दो रहेछ ।

आत्माहरू मनभन्दा पनि चाँडो पृथ्वीको कुनाकुनासम्म पुग्न सक्छन् ! जसरी सोसल मिडियामा फोटो अपलोड गर्नेबित्तिकै संसारका सबै ठाउँका मान्छेले तुरुन्तै देख्न सक्छन्, त्यसैगरी आत्माहरू पनि निमेषभरमै संसारका कुना–कन्दरामा पुग्न सक्छन् । यिनीहरू यति शक्तिशाली हुन्छन् कि संसारभरका कुनै पनि दम्पती सम्भोगका लागि तयार छन् भने सोही ठाउँमा पुग्न सक्छन् !

चित्रगुप्तले यो शक्ति पुनर्जन्म पाउने सबै आत्माहरूलाई प्रदान गर्छन् । कोखमा बस्न आत्माहरूले निकै संघर्ष गर्नुपर्छ । चित्रगुप्तले सबै आत्मालाई पुनर्जन्मको लागि आदेश दिए ।

सबै आत्माहरू दौड्न थाले । मसँगै रहेको आत्माले मलाई सोध्यो, ‘तिमी पुनर्जन्मको लागि जाँदैनौ ?’

मैलै भनेँ, ‘जान्छु । तर, मलाई चित्रगुप्तले पाँच दिनको समय दिएका छन् ।’

मेरो उत्तर पूरा नहुँदै ‘तिमी त भाग्यमानी आत्मा रहेछौ’ भन्दै ऊ दौडियो । देखेँ, पुनर्जन्म लिन ठूलो संघर्ष गर्नुपर्दो रहेछ ।

यो संसार विचित्रको छ । जन्मेपछि मुत्यु अवश्यम्भावी छ । मानिस, जीव–जन्तु, चरा–चुरुंगी, कीरा–फट्यांग्रा सबैले धर्तीमा जन्म लिन्छन् । कुनै गर्भावस्थामै हराउँछन् । कसैले जन्म लिन नपाउँदै मृत्युवरण गर्छन् । कसैकसैले आफ्नो आयु पूरा गर्छन् ।

चित्रगुप्तले नै सबैको आयु निर्धारण गर्दा रहेछन् । आयु पूरा हुनासाथ यमराजका दूत लिन आउँछन् । संसारमा दैनिक लाखौँ मान्छे जन्मिन्छन् । त्यसैको करिब एकतिहाइ मानिस मर्छन् । यसरी यो सृष्टि चल्दै आएको छ युगौँदेखि ।

यमराज र चित्रगुप्तले अर्बौँ आत्माहरूको व्यवस्थापन कसरी गरेका होलान् ? यो प्रश्नले पनि पेल्यो । बुझ्दै जादा यसकोे तरिका फेला पारेँ । कर्मअनुसार आयु पहिलै निर्धारण भएको हुँदो रहेछ । कोही जन्मँदा जन्मँदै मर्ने । कोही अलि ठूलो भएपछि मर्ने । कोही दुर्घटनामा परी मर्ने अनि कोही रोगले मर्ने । कसैले आत्महत्या गर्ने ।

जति दिन मान्छेको जुनी भोग्न चित्रगुप्तले लेखिदिएको छ, सोहीअनुसार मानिसको मृत्यु हुँदो रहेछ । चित्रगुप्त र यमराज जहाँ तहीँ छन्, सर्वव्यापी छन् । मान्छेको प्रगति, दुर्गति, उन्नति, अवनति सबै चित्रगुप्तको खेल रहेछ । कहिले रोगव्याधि फैलाएर, कहिले दुर्घटना गराएर, कहिले प्राकृतिक प्रकोप फैलाएर मान्छेलाई मृत्युवरणमा पुर्याउने रहेछ ।

त्यहाँ आत्मा आउने–जाने क्रम निरन्तर चलिरहेको छ । जसरी सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताउँछ, दिन र रात हुन्छ, त्यसरी नै आत्माहरू पनि पुनर्जन्म प्राप्तिका लागि घुमिरहेका हुन्छन् ।

प्रायः आत्मा छिटो पुनर्जन्म लिन लालायित हुँदा रहेछन् !

म एउटा भाग्यमानी आत्मा भएँ । सबै कुरा जान्ने र बुझ्ने मौका पाएँ । संसारमा अल्बर्ट आइस्टाइन, ग्यालिलियो, डार्विनजस्ता वैज्ञानिक, सेक्सपियर, कालिदास, लक्ष्मीप्रसाद देवकोटाजस्ता साहित्यकार, चन्द्रगुप्त, अकबर–वीरबल, अब्राहम लिङ्कन, महात्मा गान्धी, नेल्सन मण्डेलाजस्ता राजनेता विरलै जन्मिन्छन् ।

मानिसलाई ज्ञान, शिक्षा, धर्म र विज्ञान सिकाउन चित्रगुप्तले नै पृथ्वीमा मानिसका रूपमा पठाउँदा रहेछन् । एउटा रहस्यको कुरा के रहेछ भने, आत्मा त साधन मात्र रहेछ । साध्य त चित्रगुप्त नै रहेछन् । उनैको आज्ञानुसार दौडिनुपर्ने । उनैको इसारामा चल्नुपर्ने ।

जति आत्माहरूसँग मेरो सम्पर्क भयो, कसैले पनि बितेका कुरा भन्न सकेनन् । आत्माहरूलाई डिम्बाशयभित्र पस्न नसकेर फर्केको कुरा मात्र थाहा हुँदो रहेछ ! नफर्किन सबैको दौडादौड छ । त्यो पनि मनको गतिभन्दा छिटो । कसैलाई फुर्सद छैन । फुर्सद त मान्छेलाई मात्रै हुँदो रहेछ ।

पहिलो दिनमै जीवन र जगत्लाई बुझ्ने मौका पाएँ । जसरी हाम्रा शरीरका सबै अंगले आफ्नो काम विनाविश्राम निरन्तर गरिरहेका छन्, त्यसैगरी यमराज र चित्रगुप्तले पनि निरन्तर मृत्यु र पुनर्जन्मको कार्य गरिरहेका छन् । आत्माहरूलाई दौडाइरहेका छन् ।

दोस्रो दिन मैले देशको छनोट गर्ने काम थियो । सोचिरहेको थिएँ– अमेरिका, जापान, चीन, भारत अष्ट्रेलिया, नेपाल कुन देशमा पुनर्जन्म लिनु उचित होला ?

नजिकैको पुनर्जन्म लिन लागेको एक आत्मालाई सोधेँ, ‘तिमी कुन देशमा जन्म लिन जाँदै छौँ ?’

उसले ‘अमेरिका’ भन्यो र दौडिहाल्यो । विश्वमा जति देश छन्, सबैमा जानुपर्ने भएकोले सबभन्दा राम्रो कुन हो छुट्ट्याउन कठिन छ । मेरो उत्तर दिन कसलाई पो समय छ र !

म भनेँ कमसेकम विकसित देशमा पुनर्जन्म लिन पाएँ हुन्थ्यो भन्ने सोचिरहेको थिएँ ।

फर्केर आएको आत्मलाई सोधेँ, ‘तिम्रो विचारमा कुन देश रोज्नु राम्रो ?’

त्यो आत्माले भन्यो, ‘देवदत्त, आत्माको नजरमा कुनै देश पनि हुँदो रहेनछ । पृथ्वी एउटै मात्र देश रहेछ । विश्वको जुन कुनामा जन्मे पनि मान्छे भएर जन्मिने हो । कुन ठाउँमा जन्म लिने भने कुरा पनि संयोग नै रहेछ । जब आत्मा पृथ्वीमा पुनर्जन्मका लागि जान्छ, त्यो खाली ठाउँ पूरा गरेजस्तै रहेछ । दौडेको दौडेकै गर्ने र जहाँ अवसर मिल्छ त्यहीँ पस्ने । तिमी पनि देश रोज्ने चक्कर छोड । केही फाइदा छैन । देश, देश मान्छेले बनाएको हो ।’

वास्तवमा पहिले पृथ्वी सबैको साझा थियो रे ! जो जहाँ गए पनि बस्न पाउँथे । तर, पछि मेरो त तेरो भन्दै भागबन्डा गरे । सिमाना कोरे । सिमानालाई राज्यको नाम दिए । अनि, राज्यका लागि लडाइँ गरे । विश्वमा भीषण युद्ध भयो । युद्धले नोक्सानी गर्यो । कुनै देश विकसित भयो, कुनै अविकसित । त्यो पनि कर्मअनुसार नै रहेछ  । देश ठूलो कुरा होइन, मानवता ठूलो कुरो रहेछ । दोस्रो दिनको अध्ययनले यही देखायो ।

मेरो तेस्रोे दिनको अध्ययन प्रारम्भ भयो । जात र धर्म रोज्ने दिन थियो । संसारमा काला जाति र गोरा जातिबीच विभेद छ । हिन्दु संस्कारमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र, त्यसमा पनि अनेकौँ जाति छन् । सबै जातजाति र धर्ममा विभेद छ । उच्चवर्गमा पुनर्जन्म पाए मनुष्य चोलाको सार्थकता हुने सोचेँ ।

उच्चवर्गको परिवारमा जन्म लिन पाऊँ भनी चित्रगुप्तसँग बिन्ती चढाउनुपर्ला भन्ने सोच्दै थिएँ, एउटा आत्मा मेरो सम्पर्कमा आयो । उसले पनि उच्चवर्गमा पुनर्जन्म लिने विचार गरेको रहेछ । सही हो, एकबार मान्छेको जुनी पाउँदा किन हेपिने गरी पुनर्जन्म लिने !

पृथ्वीमा जातजातिमा लडाईँ गर्छन् । धर्म र सम्प्रदायलाई लिएर झगडा गर्छन् । मुस्लिम, क्रिस्चियन, हिन्दु, बौद्ध, कुन ठूलो ? कसले छुट्ट्याउने होला ? यही विवाद । तेस्रो दिनमा भने मेरो दिमागले काम गरेन । कुन ठिक होला ? अचम्मको अलमल ।

नजिकैको आत्मा महिलाको जस्तो लाग्यो । उनैलाई सोधेँ, ‘कुन जातमा पुनर्जन्म लिँदा ठिक होला ?’

उनले भनिन्, ‘अब त गोरो जातमा जन्म लिने हो ।’

‘किन ?’ तर, मेरो उत्तर दिइनन् । उनी दौडिहालिन् ।

नजिकै अर्को आत्मालाई देखेँ र सोधँे । उनी पनि महिला आत्मा रहिछन् । उनले मुस्लिम र क्रिस्चियनमा नजन्मने बताइन् र दौडिहालिन् ।

मलाई यो दिन झन् साह्रो पर्यो । यी दुई आत्मा पनि एकैपटकमा त पक्कै पनि गर्भमा बस्न सक्दैनन् भन्ने लागेको थियो । नभन्दै केही बेरमै पहिलो महिलाको आत्मा मनजिक ‘देवदत्त’ भन्दै आइन् ।

मेरो नाम सबै आत्मालाई थाहा भइसकेछ । ‘हामीले सोचेजस्तो जाति र धर्म रोज्नु बेकार रहेछ । सब मान्छेले आफूलाई उत्तम र अरूलाई नीच देखाउन गरिएको प्रपञ्च रहेछ । मान्छेको जात महिला र पुरुष मात्र हुँदो रहेछ ।’ यति भन्दै उनी फेरि दौडिन् ।

त्यहाँ अडिने र दोहोरो संवाद गर्ने कुरा संयोग मात्र रहेछ । मैले थाहा पाएँ, जात–धर्म मानिसले बनाएका हुन् । यो ईश्वरले होइन, मान्छेले बनाएको विभाजन रहेछ । जुन धर्म वा जातमा पुनर्जन्म लिए पनि मानवकल्याण गर्नु नै सबभन्दा ठूलो धर्म रहेछ ।

मेरो चौथो दिनको दैनिकीमा दम्पती छनोट गर्ने थियो । मेरो नजिकै रहेको आत्मा पुनर्जन्म लिन जाने तरखरमा थियो । पहिला त्यसैलाई सोधैँ, ‘तिमी कहाँ जाँदै छौ ?’

‘पुनर्जन्म लिन’ भन्दै ऊ दौडियो । त्यहाँ प्रश्न सोध्ने र उत्तर दिने समय कुन आत्मालाई हुन्छ र ? सबै आत्माहरू दौडेको दौडेकै छन्, खाडीमा काम गर्ने कामदारहरूजस्तै ।

यसरी अध्ययन गर्न त गाह्रो पो रै’छ ! म सोचमग्न भएँ । एकै छिनपछि मेरो नजिकै उही पुनर्जन्म लिन दौडेको आत्मा फर्केर आयो ।

‘तिमी त भर्खरै मात्र गएको होइन र ? फेरि कसरी यहाँ फर्कियौ ?’ मेरो कुुतूहल बढ्यो ।

उसले भन्यो, ‘नवविवाहित दम्पती हनिमुन मनाउन स्वीट्जरल्यान्ड जान प्लेनमा बसेका थिए, म उनीहरूकै कोखबाट पुनर्जन्म लिने विचारमा थिएँ । तर, प्लेन नै दुर्घटनामा पर्यो र सबैको एउटै चिहान भयो । अनि म फर्कें । अब फेरि जाँदै छु ।’ यति भनेर ऊ दौडिहाल्यो ।

एकै दिनमा पनि हजारौँपटक प्रयास गर्नुपर्छ पुनर्जन्म लिन ! शुक्रकीट डिम्बभित्र पस्न झन् सास्ती हुन्छ । करोडौँमध्येबाट एउटा मात्र भ्रूण डिम्बाशयमा प्रवेश गर्छ । अरू फर्किनुपर्छ । निरन्तर प्रयास गरिरहनुपर्छ । संसारमा जति दम्पती सम्भोगमा रहेका हुन्छन्, आत्माहरू पनि उनीहरूसँगै पुग्नुपर्छ ।

फेरि अर्को आत्मा फर्केर आयो । उसलाई ‘तिमी किन फर्केर आएको ?’ भनी सोधेँ ।

उसले जवाफ दियो, ‘म अफगानिस्तान पुगेको रहेछु । दुवै दम्पती सम्भोगको तयारी अवस्थामा थिए । तर, त्यसै बेला गोला–बारुद बर्सियो । दुवै दम्पती एक चिहान भए । म फर्किएँ ।’

त्यहाँ कसैले परिवार नियोजन गरेका कारण फर्किएको बताए । कसैले दौडिँदा सर्वोकृष्ट हुन नसकेर फर्किएको बताए । एवं रीतले धेरै आत्माहरू फर्किएका थिए ।

असल दम्पती छनोट गरी तिनको गर्भमा बस्ने मेरो इच्छा छ । तर, संसारमा भएका दम्पतीहरूमध्ये असल दम्पती कसरी छुट्ट्याउने ? यो झन् कठिन विषय रहेछ ।

विश्वमा करिब आठ अर्ब मान्छे बस्छन् । गर्भाधारण गराउन सक्ने क्षमता भएका दम्पती कति होलान् ? तीमध्ये असल दम्पती कसरी छुट्ट्याउने ? कुनै पनि बाबु–आमालाई मेरो सन्तान छोरा वा छोरी असल वा खराब कस्तो जन्मिन्छ भन्ने कसरी थाहा हुनसक्छ र ? फेरि, जन्माउँदा त्यसमा बाबु–आमाको भूमिका हुन्छ कि हुँदैन ?

यत्तिकैमा अर्को आत्मा मेरो नजिक आयो । ऊ पनि पुनर्जन्मका लागि तयार हुँदै थियो ।

मैले उसलाई सोधेँ । ऊ अल्मलियो । भन्यो, ‘म चाहन्छु, मेरा अभिभावक असल हुन् । धनी हुन् । संस्कारी हुन् ।’ ऊ दौडी पनि हाल्यो ।

सर्वश्रेष्ठ मानिसको कोखमा पुनर्जन्म लिने सबैको चाहना हुन्छ । मेरो पनि हो । असल दम्पतीको कोखमा जन्म लिने कुरा पनि आत्माको वशको विषय रहेनछ भन्ने थाहा भयो । आखिर सबै चित्रगुप्तकै खेल रहेछ ।

आज पाँचौँ तथा अन्तिम दिन । मलाई पक्कै चित्रगुप्तले यस विषयमा सोध्नेछन् । के जवाफ दिने होला ? जे देखेँ सुनेँ, त्यही भन्ने त होला नि ! मलाई पनि मान्छेको जुनी लिन हतार भएको छ ।

तर, मैले यति धेरै समय नलिएको भए हुन्थ्यो भन्ने लाग्यो । यद्यपि, यो पाँच दिनमा करोडौँ आत्माहरू गर्भमा प्रवेश गरे । मेरा सहकर्मी आत्माहरू पाँच दिनको भ्रूण भइसके । मानिसका लागि पाँच दिनको कुरा धेरै नहुन सक्छ । आत्माहरूका लागि ठूलो कुरा हो । आत्माहरूले ढिला गर्ने हो भने संसार कसरी चल्छ ? चित्रगुप्त र यमराजले कसरी व्यवस्थापन गर्न सक्छन् ?

पाँच दिन समय खेर फालेकामा मलाई पनि पछुतो भयो । मैले छिट्टै नै चित्रगुप्तसँग अनुमति लिएर पुनर्जन्मका लागि तयार हुनुपर्छ भन्ने सोचेँ । म चित्रगुप्त भएकै ठाउँमा पुगेँ ।

त्यस बेला चित्रगुप्त र यमराजबीच छलफल भएको मैले सुनेँ । यमराज भन्दै थिए, ‘देवदत्तको आत्मालाई पाँच दिन किन राखेको ? यो नीतिको विपरीत हो । यसरी कसरी संसार चलाउन सकिन्छ ?’

चित्रगुप्तले भने, ‘तपाईंले भनेको ठिक हो । तर, पृथ्वीमा अन्याय बढेको छ । धर्म, कर्म, संस्कार, रीति, रिवाज सबै हराउन थालेको छ । जसरी हामीले राम, कृष्ण, बुद्ध आदिलाई पठायौँ, त्यसैगरी पृथ्वीमा मानिसले गरेको अन्याय, अत्याचार हटाई सबै मानवलाई सत्मार्गमा ल्याउन देवदत्तलाई देवव्रतको नाममा पृथ्वीमा पठाउने सोचाइ हो । यस विषयमा मेरो ब्रह्मा, विष्णु र महेशसँग कुरा भएको छ । पाँच दिन उसलाई पुनर्जन्मको विषयमा अध्ययन गर्न समय दिएको हुँ । मान्छेको जुनी कसरी हुन्छ, मान्छे बन्न कति गाह्रो छ, पृथ्वीमा के भइरहेको छ, आत्माले कसरी पुनर्जन्म लिन्छन् भन्ने जानकारी पृथ्वीलोकका वासीलाई पनि थाहा हुनुपर्छ । त्यही नबुझ्दा मानिस–मानिसका बीचमा मतैक्य हुन सकिरहेको छैन ।’

चित्रगुप्तको कुरा सुनेर यमराज चुप लागे । मैले पनि आफूलाई समय प्राप्त भएको कारण बुझेँ । म खुसी हुँदै केही कुरा नसुनेझैँ उनीहरूका बीच पुगेँ । चित्रगुप्त मलाई देखेर मुस्कुराए । भने, ‘भन देवदत्त, तिम्रा पाँच दिन कसरी बिते ?’

मैले आफ्नो निष्कर्ष सुनाउन थालेँ, ‘पृथ्वी एउटा घर हो । देश मानिसले बनाएको हो । मासिनले पृथ्वीमा आफ्नो प्रभुत्व जमाएको छ । सबै जीवजन्तुलाई पृथ्वीमा बस्ने अधिकार छ । सबैको अधिकार सुरक्षित हुनुपर्छ । जात, जाति, धर्म, वर्णबीच भेदभाव गर्नु हुन्न । यो मानिसले नै बनाएको विभेद हो । अन्य जीवजन्तुको सन्तान उत्पादन लागि भाले र पोथी भएझैँ मानिसमा पनि महिला र पुरुष मात्रै हो । मेरो निष्कर्ष यही हो ।’

चित्रगुप्त मुस्कुराए । भने, ‘तिम्रो अध्ययन एकदम ठिक छ । पृथ्वीमा गएर तिमीले यही कुरा बताउने हो । सबैलाई सिकाउने हो । पुनर्जन्म लिँदा तिम्रो नाम देवव्रत हुनेछ ।’

फेरि भने, ‘केही सोध्नु छ ?’

मैले भनेँ, ‘प्रभु, मलाई असल दम्पती छनोट गर्ने विषयमा बताइदिनुहुन्छ कि ?’

‘तिमीले ठिक भन्यौ । साधारणतया कोख रोज्ने छुट कुनै पनि आत्मालाई हुँदैन । तर, तिमीलाई त्यो सुविधा छ । त्यो के हो भने तिमीलाई म आफैँ त्यस ठाउँमा पुर्याइदिन्छु ।’

मलाई पनि पुनर्जन्म लिने हतार थियो । असल दम्पतीको कोखमा पुनर्जन्म लिने चाहना थियो । म राजी भएँ । आँखा चिम्म गर्दा म कुनै युवा–युवतीको कोठामा पुगेको थिएँ । ठाउँचाहिँ थाहा पाइनँ ।

कोठा निकै सजाइएको थियो । मधुरो उज्यालोमा सुमधुर संगीतको धुन बजेको थियो । मैले चित्रगुप्तलाई धन्यवाद दिएँ । अनि, त्यो पुरुषको शुक्रकीटमा प्रवेश गरेँ । सयौँ आत्माहरू शुक्रकीटका रूपमा पुनर्जन्म पाउने आशामा तम्तयार थिए !

जब युवा–युवतीबीच सम्भोग सुरु भयो, सयौँ शुक्रकीटसहित म पनि भित्रिन तयार भएँ । शुक्रकीटहरूबीच महिलाको योनिका माध्यमबाट डिम्बाशय जाने होड चल्यो ।

मलाई चित्रगुप्तको आशीर्वाद थियो । म खुसी थिएँ । सबैलाई जित्छु भन्ने घमण्ड पनि थियो । म सबभन्दा अगाडि थिएँ, तर अफसोस ! महिलाको डिम्बाशय खुल्दै खुलेन ।

००० 

म झसंग भएँ । पसिनाले निथु्रक्क भिजेको म ओछ्यानमा थिएँ । घडी हेरेँ, बिहानको चार बज्दै थियो ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्