
काठमाडौं । नेकपा (एमाले)ले नेपालको परराष्ट्र नीति खलबलिएको बताएको छ । आज बसेको सचिवालय बैठकमा पछिल्लो समय नेपालको बाह्य सम्बन्धहरूमा विचलन आइरहेको निष्कर्ष निकालेको हो ।
वर्तमान सरकारले नेपाललाई नराम्ररी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरिरहेको एमालेको आरोप छ ।
"पछिल्लो समय वर्तमान सरकारले बाह्य सम्बनहरूमा विचलन ल्याइरहेको छ । हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिँदै छ । र, नेपाललाई नराम्ररी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने कामहरू वर्तमान सरकारले गरिरहेको छ । आवश्यकताअनुसार आलोचना, विरोध, भण्डाफोर गर्ने विषयमा हामीले निष्कर्ष निकालेकाछौँ," बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेपालको स्वतन्त्रता, सार्वभौभसत्ता, भौगलिक अखण्डतामा आँच आउन नदिने खालका गतिविधि हुन नदिन पार्टीको भूमिका अझ प्रभावकारी बनाइने उनले बताए ।
यद्यपि अहिले आफूहरूले संसद्, संसदीय समितिमा यसबारे प्रश्न गरिरहेको उनको भनाइ छ ।