
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएको पनि छ महिना भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहारलाई पदाधिकारी निर्वाचित गरेको थियो ।
युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङसहित पदाधिकारी निर्वाचित हुँदा कांग्रेसभित्र कतिपयले ‘क्रान्ति’ भएको टिप्पणी गरेका थिए । किनकि सहमहामन्त्रीमा पनि युवाहरुकै बाहुल्यता देखिएको थियो ।
१४औं महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित नयाँ अनुहारहरु पार्टीको निर्णय प्रक्रियाको नेतृत्वका रुपमा भने सामेल हुन पाएका छैनन् । नवनिर्वाचित पदाधिकारीमध्ये सभापति देउवाको ‘किचेन क्याबिनेट’मा उपसभापति पुर्णबहादुर खड्काको उपस्थिति देखिन्छ ।
सभापतिमा देउवासँग पराजित नेता डा. शेखर कोइराला अहिले पार्टीभित्रै पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
पार्टीका कुनै पनि निर्णय प्रक्रिया र छलफलमा उनलाई सहभागीसमेत गराइँदैन । बरु महाधिवेशनका बेला सभापतिमा देउवालाई सहयोग गरेका नेताहरु ‘निर्णायक’ बनेपछि देउवा समूहमा समेत असन्तुष्टि बढेको एक नेताको टिप्पणी छ ।
मंसिरमा १४औं महाधिवेशन गरेको कांग्रेसले यसबीचमा राष्ट्रियसभाको चुनाव र स्थानीय तह निर्वाचनमा भाग लिएर सफलता पाइसकेको छ ।
पार्टीले चुनावमा सफलता पाएसँगै नेतृत्व थप बलियो भएको छ । विगतमा भन्दा पार्टी शक्तिशाली भएपछि नेतृत्वको ताकत अझ बढेर गएको छ ।
विपक्षमा रहेकाहरु ‘चुनावको मुख’ भन्दै आलोचनासमेत गर्न नसक्ने अवस्थामा छन् । पार्टी संचालनमासमेत आफ्नो हिस्सा खोज्न नसक्ने स्थानमा रहेको सोही समूहमा रहेका अर्का एक नेताको टिप्पणी छ ।
यी सबै परिघटनाले कांग्रेसको संस्थापनलाई थप आक्रामक र प्रतिपक्षलाई रक्षात्मक बनाउँदै लगेको छ ।
पार्टी सञ्चालनमा कांग्रेसका शीर्ष नेताको हैसियतमा सभापति देउवाका विश्वासपात्र बनेका कारण अनि सहयोगी भूमिकामा आफूलाई अब्बल रुपमा प्रस्तुत गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला ‘निर्णायक’ बनेका छन् ।
पार्टीभित्रको छलफल होस् या गठबन्धनसँगको उनीहरुलाई सहभागी गराइने हुँदा आफूहरुलाई पूर्ण बेवास्ता गरेको अनुभूति भएको एक नेताले बताए ।
नवनिर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा सत्ता गठबन्धनको नेता पार्टीका पदाधिकारीको भूमिकामा देखिँदैनन् । महामन्त्री थापा केहीपटकका सत्ता गठबन्धनका बैठकमा सहभागी देखिए पनि गठबन्धनको विपक्षमा पार्टीभित्र जनमत बलियो बनाउँदै गएपछि उनलाई बैठकमा बोलाउनै छाडिएको छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई गठबन्धनदेखि पार्टीका आन्तरिक छलफलमासमेत सहभागी गराइँदैन ।
पार्टीभित्रको प्रशासनिक जिम्मेवारी निर्वाचनका क्रममा सम्हाले पनि कांग्रेसमा देउवाका प्रतिनिधिका रुपमा पूरै निर्वाचनको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले सम्हाले । आफूसँगै उपसभापति निर्वाचित भएका उपसभापति धनराज गुरुङलाई खड्काले आफू मातहतको उपसमितिको संयोजकको जिम्मेवारी तोकेका थिए ।
सहमहामन्त्रीहरुले प्रदेशको संयोजन गर्ने जिम्मेवारी पनि उनै खड्का मातहत पाएका थिए । जिम्मेवारी प्रदान गर्ने विषयमा अहिले पनि गुट हेरिएको भन्दै पदाधिकारीहरु आक्रोशित छन् ।
उपसभापति धनराज गुरुङ पार्टी विधानले तोकेका जिम्मेवारी नै पदाधिकारी जिम्मेवारी भएको भन्दै कार्यसम्पादन समिति, संसदीय बोर्डसहितका जिम्मेवारी सम्हाल्ने र अन्य जिम्मेवारी पनि विधान अनुसार नै तोकिएको बताउँछन् । त्यसरी तोकिएका जिम्मेवारी सभापतिले नै तपाईंहरुलाई तोक्नुभएको छ भन्ने प्रश्नमा गुरुङले त्यस्तो निर्णय भने सभापतिबाट भइनसकेको बताए । उनले सभापति देउवाले कुनै जिम्मेवारी बाँडाफाँट नगरेको जानकारी दिए ।
“पार्टी सभापतिजीले अहिलेसम्म विधानअनुसार कुन पदाधिकारी र अन्य सदस्यको जिम्मेवारी के हुने भनेर निर्णय गर्नुभएको छैन अझ भनौँ छलफल पनि चलाउनुभएको छैन,” गुरुङले भने, “महाधिवेशनपछि राष्ट्रियसभा निर्वाचन भयो । त्यसलगत्तै स्थानीय तह निर्वाचन भयो । यी जिम्मेवारीसँगै प्रधानमन्त्रीसमेतको जिम्मेवारीमा व्यस्त भएर होला अब चाहिँ त्यो निर्णय गर्नुहुन्छ भन्ने लागेको छ ।”
त्यसबाहेक राजनीतिक दलका बैठकमा, पार्टीका निर्णायक बैठकमा उपसभापतिसहित महामन्त्रीहरु देखिँदैन भन्ने प्रश्नमा सभापतिले नबोलाइकन जान नमिल्ने भएकाले नदेखिएको बताए ।
“अन्य दलहरुसँगको छलफल र निर्णय प्रक्रियामा सभापतिले बोलाउने गर्नुभएको छैन,” उपभासपति गुरुङले भने, “सायद सभापतिजीलाई कम्फर्टेवल नभएर होला जस्तो लाग्छ ।”
सभापतिले किन बोलाउनुभएन भनेर आफूहरुलाई प्रश्नसमेत गर्न नपरोस् भन्ने लागेको उनको टिप्पणी छ ।
“सभापतिजीले बोलाउनुभएन, एक्लै अघि बढ्नुभयो भनेर त म अहिल्यै भन्दिन,” उपसभापति गुरुङले भने, “तर, महाधिवेशनको म्यान्डेट उल्लंघन गर्ने अधिकार उहाँलाई छैन । गर्नुहुन्न भन्ने विश्वास गरिरहेको छु ।”
उपसभापति गुरुङजस्तै देउवा इतर समूहबाट महाधिवेशनमा निर्वाचित भएका शर्माले भने सभापतिले पदाधिकारीलाई जिम्मेवारी दिनुभएको छैन भन्न नमिल्ने बताउँछन् ।
“चुनावका समयमा गगनजीले गठबन्धनका बैठकमा भाग लिने र अन्य राजनीतिक दलहरुसँगका छलफलमा भाग लिने मैले चुनावी अभियानमा सातै प्रदेशमा समन्वयन गरेर आवश्यक निर्णय लिने भन्ने जिम्मेवारी पाएका थियौँ,” शर्माले भने, “तपाईँले भनेजस्तै मेरो जिम्मेवारी देखिने खालको थिएन तर, एकदमै महत्वपूर्ण थियो ।”
उनले सात सहमहामन्त्रीलाई प्रदेश संयोजकको जिम्मा दिए पनि उनीहरुसँगको समन्वयमा गठबन्धनका विषयदेखि उमेदवारीका विषयसम्मका निर्णय भएको पनि बताए ।
महामन्त्री गगन थापा भने सभापति देउवालाई चुनौती गर्ने एक्ला पदाधिकारी हुन् । सभापति देउवाले गठबन्धनमै चुनावमा जाने भनेर घोषणा गरेकै दिनदेखि गठबन्धनमा जान नहुने तर्क अघि सारेका थिए ।
तर पार्टीले गरेको निर्णय भने मान्नैपर्ने भन्दै उनी स्थानीय निर्वाचनका बेलामा धेरैठाउँमा उपस्थित भएर सम्बोधन गरेका थिए ।
एमसीसी संसद्बाट पारित गर्ने बेलासम्म जिम्मेवारी पाएका थापालाई पनि त्यसपछिका बैठकमा भने बोलाइएको छैन ।
“गठबन्धनका केही बैठकमा गएपछि मलाई रामचन्द्र दाइ नेतृत्वको सत्ता गठबन्धन कार्यदलमा राखिएको थियो । त्यो बैठकमा म लामो समयदेखि सहभागी छैन,” महामन्त्री थापाले भने, “यसको कारण के हो भने हाम्रो केन्द्रीय समिति बैठकबाट स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने भनेर निर्णय गरिएको छ । तर, केन्द्रबाटै सबै निर्णय गरेर लाद्न थालिएपछि त्यो मेरा लागि मान्य भएन र त्यस्तो प्रक्रियामा मैले सहभागिता नजनाएको हुँ ।”
महामन्त्री थापा चुनावी गठबन्धनका नाममा पार्टीले विगतमा केन्द्रीय समिति बैठकको निर्णय विपरीत काम गरेको भन्दै अब पनि केन्द्रीय समिति बैठकबाट निर्णय गरेर मात्र जे गर्ने हो त्यतातर्फ अघि बढ्नुपर्ने बताउँछन् ।
“नेपाली कांग्रेसको तत्कालै बैठक बसेर यो भन्दा अगाडिको राजनीतिक कोर्ष कता जाने हो भनेर निर्णय गर्नुपर्यो । हामीले गठबन्धन गर्ने नगर्ने, यसका विषयमा पहिला निर्णय गर्नुपर्छ, त्यो बैठकले जे गर्ने निर्णय गर्छ त्यो आधारमा मात्र अन्य दलसँग सहकार्य गर्ने नगर्ने छलफल अघि बढ्नुपर्छ,” थापाले भने, “हाम्रो सभापति प्रधानमन्त्री रहनुभएको र संसदमा बजेटमाथिको छलफल जारी रहेका कारण पनि हामी बैठक बस्न सकेका छैनौं ।”
उनले आफूहरुले केन्द्रीय समितिको बैठक पर्खिरहेका बेलामा गठबन्धनका नाममा धमाधम निर्णय गर्न भने नहुने बताउँछन् ।
“हामीचाहिँ कांग्रेसको केन्द्रीय समिति बैठक पर्खिराख्ने अनि बालुवाटारमा राजनीतिक दलका नेताहरु बसेर दुरगामी महत्वका राजनीतिक विषयमा धमाधम निर्णय गर्न थाले भने त्यो उपयुक्त विषय हुँदैन,” थापाले बाह्रखरीसँग भने ।
अर्का एक नेताका अनुसार देउवा विधान, विधि र पद्धतिभन्दा आफ्नो भूमिका निर्णायक भएको देख्न चाहने व्यक्ति भएको बुझाई छ ।
“विधि विधानवाला कुरामा उनको खास रुची नै होइन । नेपाली कांग्रेसको विधिविधान अनुसार निर्णय हुन्छ त्यसपछि त्यो निर्णय लिएर गठबन्धनका बैठकमा बस्नुपर्ने त हो,” ती नेताले भने, “सभापति देउवालाई आजकल कांग्रेसको सभापति हुँ भन्ने लाग्नै छोडिसकेको छ । विस्तार विस्तार देउवाले कस्तो शैली देखाउन थाले भने उनी कांग्रेसको सभापति नै होइनन्, गठबन्धनको सभापति हुन्, प्रचण्ड, माधव नेपाल उनका पदाधिकारी हुन् उनीहरुसँग बसेपछि हुन्छ भन्ने शैली उनमा देखिँदैछ ।”
यदि त्यस्तो नभएको भए निर्वाचनपछिका गठबन्धनको निर्णय हेर्न उनले अनुरोध गरे ।
“संघीय चुनावमा तालमेल गर्ने कि नगर्ने भनेर शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रचण्ड, माधव नेपाल बसेर निर्णय गर्न मिल्छ ? कि कांग्रेसले निर्णय गरेर त्यो निर्णयको म्यान्डेटमा अरु दलसँग कुरा गर्ने हो ?,” प्रश्न गर्दै ती नेताले भने, “शेरबहादुर देउवाले रामचन्द्र पौडेल, कृष्ण सिटौला र उपसभापति पूर्णबहादुर खड्कालाई मिसाएपछि अहिले उनी गठबन्धन पार्टी सञ्चालन गरिरहेका छन् । सरकारमा बसेका मन्त्रीहरु मतियारको भूमिकामा छन् ।”
ती नेताका अनुसार अहिले चुनावी परिणाम अनुकूलमा आएको र अर्को चुनावमा टिकट पाउने आश र नपाउने त्रासले धेरैजना बोल्न तयार नभएको भन्दै प्रश्न उठेका दिन समस्या आउनेछ ।
“जुन दिन पार्टीमा छलफल समेत नगरी गठबन्धनका विषयमा निर्णय गरेको, केन्द्रीय समितिको निर्णय विपरीत नेताहरुका निर्णयहरु लादेको भनेर प्रश्न उठ्छ त्यसदिन फरक अवस्था आउन सक्छ,” ती नेताले प्रश्न गरे, “के शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला र पूर्णबहादुर खड्काले त्यसको ‘जस्टिफिकेसन’ दिने हैसियत राख्छन् ?”
कांग्रेसका पुराना नेता लक्ष्मण घिमिरे कांग्रेस नेतृत्व ‘अधिनायक’ शैलीमा अघि बढेको र नयाँ निर्वाचित नेताहरु प्रभावहीन देखिएको बताउँछन् । यी दुबै कुराले लोकतन्त्र र कांग्रेसको भविश्यमा सकारात्मक संकेत नगरेको उनको बुझाई छ ।
“कांग्रेसमा यसो गर्नु हुँदैन यसले पार्टी र लोकतन्त्रलाई घाटा पुग्छ भन्यो भने गिरिजाबाबुसमेत कुरा सुन्थे, विश्लेषण गर्थे,” घिमिरेले भने, “अहिलेको नेतृत्वसँग त कार्यकर्ताले दोहोरो डाइलगसमेत गर्न पाउँदैनन् ।”
उनले कुनै पनि पदाधिकारीलाई साइड लगाउने काम राम्रो नभएको टिप्पणी गरे ।
“शेखर कोइरालालाई साइड लाउन खोजे ठिकै छ, कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुले भन्नुपर्दैन ?,” घिमिरेले प्रश्न गर्दै भने, “नयाँ अनुहारलाई महाधिवेशनले अनुमोदन गरेको छ । महामन्त्री दुई जना र उपसभापति गुरुङ त युवाहरु हुन् । युवाकै मुद्दा उठाएर महाधिवेशनमा जितेका हुन् । उनीहरुले कांग्रेसलाई सही बाटोमा हिँडाउन दबाब दिनुपर्यो ।”
“राजनीतिमा झर्ला र खाउँला भनेर हुन्छ ? जुन जुन ठाउँमा गठबन्धन गर्दैनौँ भनेर विद्रोह गरेर एक्लै लडे त्यहाँ त जितेका छन् त,” घिमिरेले भने, “युवाहरुले २२९ स्थानीय तह जित्दा हसिया हथौडाको भोट कति, कलमको भोट कति छ हिसाब गर्नु पर्दैन ? नेतृत्वले नबुझे कार्यकर्तालाई बुझाउनुपर्दैन ?”
उनले नेतृत्वको अडान टार्न सक्ने नेता नहुँदा कांग्रेसले गठबन्धन गरेर पनि गलत गरेको बताए ।
प्राध्यापक डा. लोकराज बराल कंग्रेसको नेतृत्वसँग एजेन्डा, कार्यक्रम र पार्टी भविश्यको चिन्ता केही पनि नभएको भन्दै उनैलाई महाधिवेशनले अनुमोदन गरेका कारण देउवालाई मात्र दोष दिन नहुने बताए । देउवासँगै आशा गरिएका नयाँ अनुहार मुख्य पदाधिकारी र केन्द्रीय समितिमा निर्वाचित भएको भन्दै उनीहरुको भूमिकाको खोजी अब भइरहेको बताए ।
“वर्तमान नेतृत्वसँग कुनै मुद्दा छैन । भोलिका लागि कार्यक्रम पनि छैन । तर, महाधिवेशन प्रतिनिधिले उनलाई नै अनुमोदन गरिदिए यसको मतलब अझै पाँचवर्ष उनकै नेतृत्व स्वीकारेको अवस्था छ,” प्रा. डा. बरालले बाह्रखरीसँग भने, “त्यसबाहेक जनताले समेत आशा राखेका युवा नेताहरुलाई उपसभापति महामन्त्री निर्वाचित गरेका छन् । अब देउवाको होइन जनताले उनीहरुको भूमिका खोजिरहेका छन् ।”
प्रा. बरालले देउवाबाट जनताको कुनै अपेक्षा नरहेको भन्दै युवा नेताहरु आफ्नो भूमिका देखाउनुपर्ने बताए ।
“उनीहरुले भित्र के गरिरहेका छन् त्यो त हामीलाई थाहा भएन तर, उनीहरुको भूमिका देखिनेगरी हुन आवश्यक छ,” प्रा. बरालले भने, “उनीहरुले आफूलाई असफल बनाउने कि सफल बनाउने भनेर भूमिकाको खोजी गर्नुपर्छ । देउवाले त कसलाई भूमिका दिन्छन् कसलाई अघि बढाउन चाहन्छन् भनेर देखिइसकेको छ ।”
सभापति देउवामा बारबारको अनुभवले म्यानुपुलेसन गर्ने र आफूलाई अनुकूल वातावरण बनाउने अभ्यास भने सबैभन्दा अब्बल रहेको उनको टिप्पणी छ ।