site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कसले देखाउँदैछ माधव नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ ?
फाइल तस्बिर

काठमाडौं । २०६४ सालको संविधानसभामा माधवकुमार नेपाल रौटहट क्षेत्र नम्बर–१ र काठमाडौं क्षेत्र नम्बर–२ बाट पराजित भए । 

नेकपा (एमाले)मा ०५६ साल देखि कार्यकारी प्रमु्खको भूमिकामा रहेका नेपालले दुवै निर्वाचन क्षेत्रबाट पराजित भएपछि पार्टीको महासचिवबाट राजीनामा दिए र कार्यवाहक महासचिव झलनाथ खनाललाई घोषणा गरे । 

एमालेको आाठौँ महाधिवेशनले अध्यक्षात्मक प्रणालीमा जाने निर्णयसहित उनै कार्यवाहक महासचिव झलनाथ खनाललाई अध्यक्ष निर्वाचित ग¥यो । ०६६ सालमा पार्टीको कार्यकारी अध्यक्ष र संसदीय दलको नेता झलनाथ खनाल नै थिए । त्यसबेला प्रधानमन्त्री भने माधव नेपाल नै बनेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो संविधानसभामा नेपाल दुई ठाउँबाटै पराजित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालासहितलाई पत्र लेखेर माधव नेपाल संविधानसभाका लागि चहिने मान्छे भन्दै नियुक्तिको प्रस्ताव गरेका थिए । 

मन्त्रिपरिषद्ले नियुक्त गर्नेमध्ये एकमा नेपाललाई तात्कालीन प्रधानमन्त्री कोइरालाले नियुक्त गरे । उनै नेपाल प्रधानमन्त्री बन्दा प्रचण्डले ‘कल्प वृक्ष भनेर रोपेको विष वृक्ष परेछ’ भनेर टिप्पणी गरे भने एमाले अध्यक्ष झलनाथ खनाल जिल्ल परेका थिए । पछि नेपालको सरकार ढालेर झलनाथ खनालनै प्रधानमन्त्री बनेका थिए ।

सन्दर्भहरूले सम्भावना नै नभएका बेला प्रधानमन्त्री बनेको उदाहरण र अनुभव माधव नेपालसँग भएको देखाउँछन् । अहिले प्रधानमन्त्री बनाउने २७५ सदस्यीय प्रतिनिधिसभामा माधव नेपालसँग १४ सांसद छन् । उनको पार्टी वैधानिक नै होइन भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालेको मुद्दा सर्वोच अदालतमा विचाराधीन छ । नेपालकै पार्टी खारेजीको तयारी बुझेपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लैजान हतार गर्नुपरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन् । 

यस्तो बेला उनै माधव नेपालले फेरि आफूलाई प्रधानमन्त्री बन्ने ‘अफर’ आएको खुलासा गरेका छन् । हुन त उनले विगतमा नेकपाबाट प्रचण्डसँगै असन्तुष्ट समूह बनाउँदा पनि पटक पटक आफूलाई ‘प्रधानमन्त्री बन्ने अफर’ आएको बताउँदै आएका थिए । अहिले उनले पुनः त्यही कुरा दोहोर्‍याएका छन् । 

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुर्खेत पुगेका नेपालले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आइरहेको उल्लेख गरेका हुन् । 

“प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,” नेपालले कार्यकर्ताका अगाडि भने, “यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।”

नेपालले आफूलाई मात्र नभएर प्रचण्डलाई पनि प्रधानमन्त्री बन्ने प्रस्ताव आइरहेको कुुरा उल्लेख गर्दैगर्दा कांग्रेसप्रति पनि असन्तोष जाहेर गरेका छन् । र, कांग्रेसले धोका दिएको आरोप लगाएका छन् । 

“धोका दिने तरिका विभिन्न पार्टीहरूले यसपटक पनि अंगालेका छन् । उहाँहरूलाई भन्न चाहन्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरूको पनि हरि बिजोग हुनेवाला छ,” नेपालले चेतावनी दिँदै भने, “ती पार्टीहरू भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु ।” नेपालले अन्य दललाई पनि दिएको चेतावनी मुख्यतः कांग्रेसप्रति लक्षित छ । 

प्रचण्डले कांग्रेसप्रति असन्तुष्टि जाहेर गर्दै एमालेको हालत बनाउने चेतावनी दिएको भोलिपल्ट नेपालले जाहेर गरेको असन्तोष ‘राजनीति पुनः नयाँ कोर्षतर्फ लाग्दै त छैन’ भन्ने प्रश्न उठाउने खालको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई नै सम्बोधन गर्ने क्रममा कांग्रेसमा निर्वाचन जितेपछि दम्भ बढ्न सक्ने भन्दै त्यसो भए एमालेको हालतमा पुर्‍याउने चेतावनी दिएका थिए ।

प्रचण्डले भनेका थिए, “एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लाउने दिन नआओस् । कांग्रेसका नेताहरूले चुनाव जितेपछि दम्भ नदेखाउन् ।”

दुवै नेताहरूले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव आएको र बन्न नचाहेको भनेर दिइरहेका टिप्पणीलाई विश्लेषकहरू भने भू–राजनीतिक आँखाबाट हेर्नुपर्ने बताउँछन् । नेपालमा एमसीसी पारित गरेपछि चिनियाँहरूले आफ्नो एकाधिकारको सपना टुटेका कारण पुनः कम्युनिष्ट एकताको अभ्यास थालेकाले नेताहरूले पूर्वसंकेत गरिरहेको उनीहरूको बुझाइ छ । 

“चिनियाँहरू सके वाम एकता गरेर पहिलेजस्तै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने, नसके एमाले र एकीकृत समाजवादीलाई एक बनाउने अभियानमा लागिसकेका छन्,” रणनीतिक मामिलाका विश्लेषक अरुण सुवेदीले बाह्रखरीसँग भने, “उनीहरूले त्यसबेलै माधव नेपाललाई प्रधानमन्त्री बनाएर ओलीकै नेतृत्वमा नेकपा एक राख्ने प्रयत्न गरेका हुन् । नेकपाको विवाद नियन्त्रण बाहिर पुगिसकेका कारण मात्र सम्भव नभएको हो ।” 

उनी नेपालमा कम्युनिष्ट पार्टी बलियो बनाउने र त्यहीमार्फत आफ्नो भूमिका स्थापित गर्ने चिनियाँ अभियान अहिले पनि जारी रहेको दाबी गरे ।

प्राध्यापक डा. लोकराज बराल कम्युनिष्ट पार्टी एक बनाउने अभियानमा चीन खुलेरै लागेकाले उसको प्रयास जहिले पनि रहने बताउँछन् । तर, कम्युनिष्ट नेताहरूमा सिद्धान्त र कसैका निर्देशन भन्दा व्यक्तिवाद हावी रहेकाले जुनसुकै बेला पनि मिल्न र छुट्न सक्ने उनको बुझाइ छ । 

“अहिले अस्तित्वको संकट रहेका बेला कांग्रेसको सहारामा चुनाव जितिसके । अब कांग्रेस भन्दा आकर्षक प्रस्ताव आयो भने उनीहरू एमालेसँग पुग्दैनन् भनेर भन्न सकिँदैन,” प्रा.डा. बरालले बाह्रखरीसँग भने, “जहाँ सिद्धान्त र आदर्शले भन्दा व्यक्तिवादले काम गर्छ, त्यहाँ हुँदैन भन्ने वा हुन नसक्ने कुनै कुरा हुँदैन । एमालेसँग एकीकृत समाजवादी र माओवादी मिलेर चुनावमा गए भने अनौठो मान्नु पर्दैन ।” 
उनले कम्युनिष्ट मिल्ने कुरालाई कांग्रेसले भने थ्रेटका रूपमा लिन नहुने बताए ।

“अरु मिल्ने कुराबाट कांग्रेस त्रसित हुनुहुँदैन, कम्युनिष्ट मिल्छन् भने मिल भनेर आफू अघि बढ्ने हैसियत कांग्रेसले लोकतान्त्रिक शक्तिको नाताले देखाउनुपर्छ,” बरालले भने, “तर, कांग्रेसको वर्तमान नेतृत्वमा त्यो आत्मविश्वास देखिँदैन । उ पनि कम्युनिष्टहरूको सहारा लिएर सत्ताको निरन्तरता मात्र सोचिरहेको छ ।”

माधव नेपालले भने प्रधानमन्त्रीका रूपमा आएको प्रस्ताव उनले नै फुटाएको नेकपा (एमाले)बाटै आएको संकेत गरेका छन् । उनले अहंकारी र षड्यन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै आफूलाई पदको लालच नभएको बताएका छन् ।

“वाम गठबन्धन वा एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन,” नेपालले भनेका छन् । 

नेपालको यो भनाइमा तत्कालको मात्र कुरा गरिएकाले अर्को निर्वाचनसम्म त्यो सम्भावना नकार्ने अवस्था देखिँदैन ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली माओवादीसँगको कुरा फरक भए पनि नेकपा (एकीकृत समाजवादी)सँग एकताको कुनै सम्भावना नरहेको बताउँछन् । विशेषतः माधव नेपालसहितको पार्टीसँग एकता हुनै नसक्ने बताएका उनी व्यक्तिगत रूपमा एमालेमा आउनेका लागि भने सधैँ स्वागतको तयारीमा एमाले रहेको बताउँछन् । 

“माधव नेपालसहितको पार्टीसँग एकता वा सहकार्यको कुनै पनि सम्भावना छैन,” ज्ञवालीले बाह्रखरीसँग भने, “बरु, निर्वाचन पछिको परिदृष्यका कारण त्यहाँ रहेका साथीहरूले फरक समीक्षा गरिरहेका छन् । केही कांग्रेससँग केही हामीसँग कुरा गरिरहेको अवस्था छ ।” 
उनले सरकारमा रहेका केही मन्त्रीको कांग्रेससँगै रहनेगरी कुराकानी भइरहेको र केही नेताहरू एमालेमै फर्कने तयारीमा रहेको जानकारी आफूसँग रहेको बताए । तर, को को नेता फर्कन्छन् र को को नेता कांग्रेसमा जान्छन् भन्ने विषयमा खुलाउन चाहेनन् ।

ज्ञवालीले माधव नेपालसहितको एकताको सम्भावना नै नरहेको बताए पनि एमालेमै माधव नेपाल नहुँदा भएको क्षतिको समीक्षा गर्नुपर्ने पक्षमा पनि नेताहरूको मत छ । स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टी एक राख्नै सकिँदैन भन्ने र माधव नेपाललाई पार्टीमा राख्नै हुँदैन भन्ने अतिवादले पार्टीलाई क्षति पुगेको बताउँछन् ।

“माधव नेपाल र त्यो टिमलाई एमालेमा देख्नै नचाहनेहरू हिजो पनि सफल भएका हुन् । आज पनि उनीहरू त्यो लाइनमै होलान् । तर, पार्टीको शक्ति पुनस्र्थापित गर्ने हो भने सबैलाई एकजुट बनाउने भूमिका आवश्यक छ,” पन्तले बाह्रखरीसँगको अन्तर्वार्तामा केही दिनअघि भनेका थिए, “पार्टीमा योगदान गरेका सबै साथीहरू एक राख्ने हो भने मात्र नेकपा (एमाले) देशको पहिलो शक्ति बन्ने हो ।” 
उनी नेपालले पनि एमालेसँग मिल्न सकिँदैन भन्ने र ओलीले पनि माधव नेपाल बाहेकको पार्टी बनाउने अतिवादी सोच छोड्नुपर्ने बुझाइमा छन् । 

निर्वाचनका मुखमा आफ्नो अस्तित्व रक्षाका लागि जस्तोसुकै सम्झौताका लागि तयार हुने नेताहरूका भनाइ निकट विगतको अनुभवका कारण पनि राजनीतिमा तरंग ल्याउन सफल छन् । तर, संघीय चुनावबाट आउने परिणामका लागि भने उनीहरूका यिनै भनाइ प्रत्युत्पादक बन्न सक्छन् । 


 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्