site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
फाइल तस्बिर ।

लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ ।

दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वार्तामा शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणका निम्ति विकास सहायता, व्यापार सहजीकरण, पारस्परिक हित, सहकार्य र साझेदारी प्रवद्र्धनलाई प्रमुख रूपमा उठाइने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताए ।

गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमति, तिनको समीक्षा एवं शीघ्र कार्यान्वयका निम्ति अवलम्बन गर्नुपर्ने उपायबारे विचार आदानप्रदान हुने भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले बताए ।

“शिक्षा, तालिम, सम्पर्क सञ्जाल विस्तार तथा सांस्कृतिक क्षेत्रमा साझेदारी बढाउने विषय नै वार्तामा प्राथमिकता साथ उठ्ने मैलै ठानेको छु,” उनले  भने ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, राजदूत शर्मालगायत रहनेछन् । प्रधानमन्त्री मोदी नेतृत्वको प्रमण्डलमा परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका सहसचिवहरू र काठमाडौंस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत नाम्ग्या खम्पा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:५८
प्रतिक्रिया दिनुहोस्