site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘कृषिमा कर्जा र अनुदानको मात्रै बहस भयो, खाडल उत्पादनमा छ’

चितवन । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले जबसम्म कृषि बिमा कम्पनी हुँदैन, तबसम्म कृषि क्षेत्र अगाडि बढ्न नसक्ने बताएका छन् । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले कृषि उत्पादनमा खाडल रहे पनि कर्जा र अनुदानको मात्रै बहस हुने गरेको बताए । 

बुधबारदेखि चितवनमा जारी कृषि कर्जा मेलामा कृषि कर्जाको समस्या र समाधानको पहल विषयको छलफलमा उनले यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कृषिमा कर्जा र अनुदानको मात्रै बहस भयो । उत्पादनको बहस भएन । खाडल उत्पादनमा छ,” उनले भने, “ किसानले सजिलोसँग कर्जा पाएनौँ भन्ने र बैंकले दिन सकिएन भन्ने मात्रै छ । तर, किन भन्ने प्रश्नको जवाफ छैन ।”

उनले कृषि क्षेत्र अहिलेको वित्तीय बजारको ब्याजदरले सस्टेन हुनसक्छ ? भन्दै प्रश्न पनि गरे । कृषिको समस्या ‘एक्सिस टु फाइनान्स’, ‘क्यापासिटी बिल्डिङ’ र ‘डिजिटलाइजेसन’मा भएको उनले उल्लेख गरे ।

साना किसान र ठूला किसानलाई गर्ने ‘रेस्पोन्स’ र ‘पोलिसी’ फरक हुनुपर्ने धारणा पनि राखे ।

अब साना किसानलाई गर्ने रेस्पोन्स र व्यावसायिक किसानलाई गर्ने रेस्पोन्सको फोलिसी फरक हुनुपर्ने बताउँदै उनले अनुदान साना किसानलाई मात्रै दिएर कृषिमा पृथक सोच बनाउनुपर्ने बताए । 

संघीय, प्रदेश र स्थानीय सरकारमा अनुदानमा कतै ‘डुब्लिकेसन’ त भएको छैन ? भनी प्रश्न गर्दै उनले अनुदान ‘मोडालिटी’ फरक गरेर उत्पादनसँग लैजानुपर्ने बताए ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाहले मूल्य शृंखला कुनै एक निकायले मात्रै गर्न नसक्ने भन्दै सबै ठाउँमा आउनुपर्ने बताए ।

“किसानलाई बिउ, मल, पानी, बजार चाहियो, यो सबै बैंक, राष्ट्र बैंक र मन्त्रालयले एक्लै गर्न सक्दैन । सबै एक ठाउँ आएर गर्ने हो भने सम्भव छ,” उनले भने । 

कृषिमा प्रविधि अत्यावश्यक भएको बताउँदै उनले त्यो साना किसानको पहुँचबाहिर रहेको बताए । 

“चार दिन लाग्ने कीट छर्न मेसिनले आठ मिनेट लाग्छ । धान रोप्ने, काट्ने आधुनिक मेसिन आएका छन्,” उनले भने, “किसानले जग्गा धितो राखेर किन्ने हो भने उसको जग्गा बैंकले लिलाम गर्नुपर्ने हुनसक्छ । सामूहिक रूपमा व्यावसायिक खेती गर्ने हो भने प्रविधिमा लगानी गर्न आवश्यक छ ।”

उनले सीमित वर्गलाई मात्रै नभएर पूरा नेपाललाई बैंकिङ चाहिन्छ भनेर नबिल बैंक अगाडि बढेको बताए । “नबिल बैंक कृषकसँग कुममा कुम मिलाएर अगाडि बढेको छ, गाउँगाउँ, ठाउँठाउँमा आउन चाहन्छौँ । त्यसका लागि परम्परागत कृषि प्रणाली छाडेर आधुनिक कृषि गर्नुपर्छ,” उनले भने, “समाज मिलेर फार्म बनाऔँ । नबिल बैंक तपाईंहरूको साथी बन्न तयार छ ।”

उनले बैंकले किसानलाई कर्जा दिन मन नभएर प्रश्न सोधेको नभई किसान सुरक्षित हुन् भनेर प्रश्न सोध्ने गरेको बताए । “आज ऋण दिएर भोलि धितो लिलाम गर्न चाहँदैनौँ । दिगो बैंकिङ गर्न चाहन्छौँ,” शाहले भने ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले उत्पादनलाई बजारसँग जोड्ने विषयमा समस्या रहेको बताइन् । 

साना किसान मात्रै भएकाले प्रतिस्पर्धी हुन नसकेको बताउँदै उनले निजी क्षेत्रबाट कृषिमा जुन रूपमा लगानी आउनुपर्ने त्यो रूपमा आउन नसकेको बताइन् ।

“नीतिमा कृषि क्षेत्र प्राथमिकता परे पनि त्यसको लाभ किसानले लिन सकेका छैनन् । कृषि कर्जा न्यून मात्रै छ र त्यसमा पनि अधिकम धितोबाट मात्रै प्रवाह भएको छ,” उनले भनिन्, “किसानलाई आर्थिक ज्ञान नहुँदा पनि समस्या भएको भन्ने लाग्छ । किसनलाई कृषि कर्जामा एकद्वार सूचना प्रणालीको अभावले पनि हो कि !”

उनले बैंकिङ क्षेत्रमा कृषि विशेषज्ञ नभएको भन्दै बैंकमा कृषि विशेषज्ञसहितको इकाइ चाहिनेमा जोड दिइन् । “हामीले कृषि कर्जाको प्रभाव कस्तो भयो भन्ने हेर्न सकेका छैनौँ । अध्ययनमा फोकस र मनिटरिङ गर्नुपर्छ । कृषिमा भ्यालु चेन फाइनान्सको अभाव छ । कर्जा कर्पोरेट हाउसलाई बढी जाने, तर साना किसानको पहुँचमा छैन । लक्षित वर्ग को हो भन्ने किटानी हुनुपर्छ ।” 

बिमा समितिका निर्देशक सुशील सुवेदीले कृषि बिमामा सरकारले सधैँ अनुदान दिन नसक्ने बताए । “सरकारले बिमाको पहुँच विस्तार गर्न र एउटा विन्दुमा पुग्न अनुदान दिएको हो । बिमामा अवार्नेस र आकर्षण बढाउन अनुदान हो,” उनले भने, “जब बिमाको पहुँच सबैतिर पुग्छ र सरकारको उद्देश्य पूरा हुन्छ, बिमाको अनुदान निरन्तरता हुँदैन । बिमा धेरै भएपछि लागत घट्छ अनि अनुदान नदिँदा पनि हुन्छ ।”

उनले कृषि बिमामा जनचेतनाको कमी रहेको स्वीकार गरे । उनले पालिकासँग अन्तरक्रिया गर्ने, रेडियोमार्फत जनचेतना जगाउने, जिंगल बजाउने काम गरिरहेको बताए । 

कृषि बिमामा प्रोडक्टको पनि समस्या रहेको उनले उल्लेख गरे । उनले भने, “कृषिमा बिमा प्रोडक्टमा पनि समस्या छ । धेरैको बालीको बिमा पोलिसी भए पनि केहीमा पोलिसी छैन । पोलिसी भए पनि समयसापेक्ष छैन । कतिपय बालीमा सबैथोक छ । तर, जानकारी छैन ।”

उनले कृषि बिमामा ‘मिल सेलिङ’ भने नरहेको जिकिर गरे ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कृषिमा ‘बेन्चमार्क’ राखेर काम गर्न सकिने बताए ।

“कृषिमा पहिले ‘क्षमता विकास’ गर्नुपर्छ । बैंकका कर्मचारीलाई कृषिको प्राविधिक ज्ञान छैन,” उनले भने, “किसानको पनि ‘क्षमता’ बढाउनुपर्छ । बैंकका कर्मचारीमा कृषिको प्राविधिक ज्ञानको खाँचो छ ।”

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्