site stats
बाह्रखरी :: Baahrakhari
खेल
शरदचन्द्र शाहलाई गोल्डेन 'सेल्युट अवार्ड', के थियो उनको योगदान ?

काठमाडौं । नेपाली खेलकुदको ‘पिता’ मानिने शरदचन्द्र शाहलाई मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०७७ ‘डिकेट अफ एक्सिलेन्स’को अवसरमा मरणोपरान्त ‘गोल्डेन सेल्युट’ अवार्डबाट सम्मानित गरेको छ । 

शरदचन्द्र शाह नेपाली खेलकुदको यस्तो नाम हो, जसको नामविना न त नेपाली खेलकुदको इतिहास लेख्न सकिन्छ न त त्यो इतिहास पूरा नै हुने छ । नेपाली खेलकुद अहिले जहाँ छ, जुन जगमा टिकेको छ । ती सबैको आधार तयार पार्ने श्रेय तिनै शाहलाई नै जान्छ । 

२०३४ देखि २०४५ सम्मको ११ वर्षे शासनकालमा उनले नेपाली खेलकुदको विकासका लागि जे जस्ता कामहरू गरे, त्यो साँच्चै नै अनुपम र अतुलनीय छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव हुदाँ शाहले बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको थालनी गरे । अन्तर नगर खेलकुदको आयोजना अनि अन्तर्राष्ट्रिय रूपमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को परिकल्पना गर्ने उनै शाह हुन् । अर्थात दक्षिण एसियलाी खेलकुद (साग)को जन्मदाता शाह नै हुन् ।

उनले थालनी गरेका ती यस्ता ठुला प्रतियोगिता हुन्, जसको जगमा नेपाली खेलकुद अझै अगाडि बढिरहेको छ । शाहले देशभरि निर्माण गरेको खेल पूर्वाधार झनै प्रसंशनीय छन् । 

वर्तमान अवस्थामा २० वर्षको समयमा पनि एउटा क्रिकेट रंगशाला बन्न नसकेको अवस्थामा शाहको ११ वर्षे कार्यकालमा ७५ वटै जिल्लामा कबर्ड हल र तत्कालीन पाँच विकास क्षेत्रमा रंगशाला निर्माण गर्नु सानो साहस थिएन । हो, त्यो समयमा बनेका भौतिक पूर्वाधार र मैदान नै खेलाडीहरूले अहिले उपयोग गरिरहेका छन् । तिनै पूर्वाधारमा पसिना बगाएर खेलाडी उत्पादन भएका छन् ।

त्यसैले शाहको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णिम युग भनिन्छ ।

खेलकुद क्षेत्रमा अनुशासनका त शाह हिमायती नै थिए । उनको नारा नै थियो, राष्ट्रियता, गतिशीलता र अनुशासन । अझ खेलाडीमा राष्ट्रियताको भावना जगाउने कार्यक्रममा त शाह गजबका थिए। जुन वर्तमान समयको नेतृत्वमा कहाँ कहाँ हराए जस्तै भान हुन्छ । 

नेपाली खेलकुदमा सबैभन्दा तिख्खर व्यक्तित्व अहिलेसम्म कोही आएको छ भनेर पुराना पुस्ताका खेलकर्मीलाई सोध्यो भने फ्याट्ट आउने नाम हो, शरदचन्द्र शाह । पुर्वाधार र प्रतियोगिता मात्र होइन । पदक र रोल मोडल खेलाडीहरू विना खेलकुद अधुरो हो । र यो विना खेल विकास सम्भव हुदैन भनेर शाहले राम्रोसँग बुझेका थिए । त्यसकै उपज हो, वैकुण्ठ मानन्धर जस्तो खेलाडीको उदय ।

शाहाले खेलकुद विकासका लागि ‘खेलकुद कर’ उठाउन पहल गरेका थिए । जुन खेलक्षेत्र माथी उठ्नुको महत्वपूर्ण कारणमध्ये एक थियो । उनको पालामा थुप्रै खेल संघहरू मौलाए । अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । सन् १९८८ को ओलम्पिकमा १७ जना त खेलाडी नै सहभागी भएका थिए । यी सबै कारण हुन्, शाहको युगलाई स्वर्णिम युग भनेको । 

ब्यक्तिगत रूपमा शाहको छवि पनि निकै चुलियो । अन्तर्राष्ट्रिय खेल संस्थासँग उनको सम्बन्ध बलियो थियो । उनी एसियाली ओलम्पिक कमिटीको उपाध्यक्ष पदसम्म पुगे । नेपाल ओलम्पिक कमिटीको नेतृत्व पनि सम्हाले । 

सदस्य सचिव शाहको युग २०४५ सालमा दशरथ रंगशालामा घटेको फुटबल काण्डसँगै समाप्त भयो । कम्तीमा ७२ जना दर्शकको ज्यान जाने घटनापछि उनले पदबाट राजीनामा दिए । त्यससँगै नेपाली खेलकुदको एक युगान्त परिवर्तनकारी शासकको खेल जीवन पनि टुंगियो । शाहाको ०६९ असार ५ गते सिंगापुरमा निधन भएको थियो । 

नेपाली राजनीतिसँग जोडिएर हेर्दा उनलाई विवादास्पद पात्र पनि मानिन्छ । यो बेग्लै पाटो भयो । शाह के थिए ? कस्ता थिए ? त्यसको विश्लेषण इतिहासले गर्ने छ । तर, नेपाली खेलकुदलाई मात्र समेटेर चर्चा गर्दा यो क्षेत्रमा उनको योगदान अतुलतीय र अद्धितीय छ । 

नेपाली खेलकुदको स्वर्णिम कालका कारण स्व शरद चन्द्र शाहलाई नेपाल खेलकुद पत्रकार मञ्चको दशक अवार्डको अवसरमा मरोनापरन्त  गोल्डेन सेल्युट अवार्डबाट सम्मान गरेको हो । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्