
काठमाडौं । कुशल भुर्तेल र आरिफ शेखको अर्धशतक प्रेरित नेपालले मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीमाथि सात विकेटको जित हासिल गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी)ले टस हारेर ब्याटिङ गरेको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट ब्याटिङका लागि निम्त्याइएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।
जितसँगै नेपालले १२ खेलबाट १२ अंक जोडेको छ । पराजित पीएनजीले १६ खेलबाट दुई अंक जोडेको । आयोजक यूएईले १८ खेलबाट २२ अंक जोडेको छ । ओमान २८ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ ।
यूएई भ्रमणमा नेपालले पीएनजीविरुद्ध दुवै खेल जित्यो । तर आयोजक यूएईविरुद्ध भने दुवै खेलमा पराजित भएको थियो ।
पीएनजीविरुद्ध नेपालका ओपनर आसिफ शेख दुई रन बनाएर आउट भए पनि कुशल र आरिफले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । कुशलले ६४ बलमा चार चौका र एक छक्कासहित ५० रन बनाए । आरिफले १०२ बलमा चार चौकासहित अविजित ५९ रन बनाए ।
दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएपछि आरिफले रोहितकुमार पौडेलसँग ७७ रनको अविजित साभेदारी गर्दै नेपाललाई सात विकेट जित दिलाए । रोहितकुमारले ४८ बलमा पाँच चौकासहित अविजित ४४ रन बनाए ।
पीएनजीका चार्लेस अमिनीले दुई विकेट लिए भने कबु मोरेवाले एक विकेट लिए।
त्यसअघि पीएनजीका कप्तान असद भालाले सबभन्दा धेरै ४५ रन बनाए । चाद सोपरले अविजित २२ रन बनाउँदा लेगा सिएकाले २०, सेसु बाउले १९, नोर्मान भानुवाले १८ रन बनाए । मोरेवा १७ रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए ।